मन्त्री चौधरीलाई थारु युवाले सुनाए टीकापुरको पीडा

माओवादी केन्द्रका सांसद एवं कृषि मन्त्री गौरीशंकर चौधरीलाई थारु युवाहरुले टीकापुरको पीडा सुनाएका छन्। टीकापुर घटनापछि पक्राउ परेका थारु परिवारको विचल्ली भएको र त्यहाँको अवस्था दयनीय रहेको मन्त्री चौधरीलाई उनीहरुले ध्यानाकर्षण गराएका थिए।

बर्दियाली थारु विकास मञ्च काठमाडौंका अध्यक्ष सिताराम चौधरीको नेतृत्वमा गएको टोलीले मन्त्री चौधरीलाई बधाई तथा कार्यकालको शुभकामना पनि दिएका थिए। कृषिमा आधुनिक क्रान्ति र असली किसानहरु राज्यबाट वञ्चित भइरहेको अवगत गराउँदै मञ्चका अध्यक्ष सितारामले उनीहरुलाई राज्यबाट पूर्णरुपमा सहयोग हुनुपर्ने माग राखे।

त्यसैगरी बर्दियाका जुझारु युवा नेता रमेश दहितले टीकापुर घटनाको बन्दी तथा पीडित परिवारको दयनीय अवस्थाबारे जानकारी गराए। छिटोभन्दा छिटो राज्यले पीडितहरुलाई उचित क्षतिपूर्ति दिई रिहा गर्नुपर्ने माग दहितको थियो। थारु विद्यार्थी समाजका सञ्जिव चौधरीले पीडितहरुलाई टीकापुरमा गई विद्यार्थी टोलीले भेटेको र फेसबुकमा कमेन्ट गरेकै आधारमा प्रहरीबाट यातना भोग्नुपरेको सुनाए।

थारु युवाहरुको कुरा सुनेपछि मन्त्री चौधरीले मन्त्रिपरिषद् बैठकले शुक्रबारमात्र त्यसबारे निर्णय गरेको बताए। अब छिट्टै नै बन्दीहरु रिहा हुने उनको भनाई थियो। उनले अगामी दिनमा पनि युवाहरुसँग छलफल र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।

देशभरि ९० प्रतिशत थारुहरु कृषिमा आश्रित भएको हुँदा उनीहरुलाई पनि सरकारले राहत उपलब्ध गराउनुपर्ने युवाहरुको भनाई थियो।

छलफलमा पूर्वअर्थमन्त्री वर्षमान पुनले अहिलेको सबै वर्ग, जाति, समुदायलाई मिलाएर लग्ने र टीकापुरको घटनालगायत आन्दोलनको क्रममा लगाइएको मुद्दाप्रति सरकार गम्भीररुपमा लिई प्रक्रियागत रुपमा छिट्टै समाधान गर्ने बताए।

 

Leave a Reply

Your email address will not be published.