सीएन थारु।
केपी ओली नेतृत्वको सरकार ढल्ने निश्चित भए पछि ओलीका महान सपनाहरुको विषयमा विहङ्गम छलफल शुरु भएको छ । के.पी.ओली एक सच्चा राष्ट्रवादी र विकासको लागि स्वपनद्रष्टा भएको महान नेताको रुपमा मीथ निर्माण गर्न केही बुद्धिजीवीहरु लागेकै हो । त्यो मीथ वास्तविकता तिर अग्रसर भएकै वेला विपक्षमा अर्को तर्क पनि देखिन आए । खगेन्द्र संग्रौलाले त सामाजिक सञ्जालमा कटाक्ष गर्दै लेखे कि जब के.पी.ओली भारतको हितमा टनकपुर बेच्न जुटेका थिए, त्यस बखत हामी के.पी.ओलीसँग छौं भनेर प्लेकार्ड बोक्ने युवाहरुको जन्म नै भएको थिएन । बरु उनीहरुका आमा बुवा प्रेम साटासाट गदैं एक आपसमा गाला चिमोटा चिमोट गर्दै थिए होलान तर आज तिनै आमा बुवाका सन्तानहरु यसरी सडकमा ओर्लिनु दुर्भाग्य हो । यसले के बताउँछ भने के.पी.ओली केही बुद्धिजीविका लागि महान हुन ।
सपना वास्तवमा आफूले देख्ने हो । भौतिकवादीले त सपनाको कुरा पत्याउँने कुरै होइन र सपना अरुलाई यसअर्थले देखाउन सकिन्न । नौ महिने कार्यकालमा के.पी. ओलीका महान सपनाहरुको चर्चा यत्र तत्र सर्वत्र छ । सञ्चार माध्यमहरु पुरै के.पी.ओलीका महान सपनाहरु बाँड्दै जाँदा अहिले के.पी.ओलीका कामको मुल्याङ्कन हुन थालेको देखिन्छ । हुन त अब प्रमुख प्रतिपक्षी दलको हैसियतले रचनात्मक सहयोग गर्ने भनिएको छ तर जसरी सरकारबाट हट्नु पर्यो, त्यसले तिक्तता पक्कै जन्माएको बुझिन्छ । सरकारको न्युनतम साझा कार्यक्रम अगाडि बढाउन यस अर्थमा सजिलो नभएको स्वीकार गर्न सकिन्छ । यसको अर्थ सरकार केही गर्न नसकिने स्थितिमा छ भन्न खोजेको पक्कै होइन ।
युवा अवस्थामा के.पी. ओलीका महान सपना
जब के.पी.ओली लख्खा जवान थिए, त्यस बखत के.पी. ओली साम्यवादको सपना देख्नु भयो । सपना साकार पार्न छ इन्च छोटो पार्ने अभियान चलाए झापामा । नक्सलवादी आन्दोलनको फोटोकपी गरेर उनले चलाएको जमिनदार सफाया अभियानलाई २०२८ साल तिर अहिले जस्तै मीथ निर्माण गर्न लगाए । शायद पञ्चायतकाल भएकोले होला सञ्चार माध्यमबाट उनीहरुलाई आतङ्कवादी विल्ला भिडाए । अन्ततः पक्राउ परे तर पछि राजकाज मुद्दा फिर्ता भए पश्चात उनीहरु पञ्चायती व्यवस्थाको विरुद्ध २०४६ सालमा जनआन्दोलन सफल बनाए । साम्यवादको उक्त सपना मदन भण्डारीले जनताको वहुदलिय जनवाद भन्ने राजनीतिक कार्यक्रम ल्याएसँगै चक्नाचुर भयो । वहुदलिय प्रतिस्पर्धामा आधारित लोकतन्त्र स्वीकार गर्नु पर्ने भयो ।
नेपालको समृद्धिको सपना
नेपालको समृद्धिको सपना के.पी.ओलीले २०५३ सालमा नै देखे । टनकपुरबाट नेपाललाई खरबौं डलर आउने कुरा गरेर के.पी.ओलीले नेपालको समृद्धिको सपना बाडे । उनलाई पञ्चेश्वर परियोजना पनि उत्तिकै हितकारी महसुस भएको थियो तर बामदेव गौतमले यो विषयमा नमानेको कारण टनकपुर सम्झौता सम्पन्न भए पनि नेपालको समृद्धिको उक्त सपना चक्नाचुर भयो । पार्टी फुट्यो २०५४ सालमा र वामदेव गौतमको नेतृत्वमा ने.क.पा. (माले) गठन गरियो । तत्कालिन ने.के.पा. (माओवादी) घोषित युद्ध लडिरहेको थियो जहाँ थुप्रै युवाहरु एमाले र माले छोडेर ने.क.पा. (माओवादी)मा प्रवेश गरे । के.पी.ओलीलाई लाग्यो कि ने.क.पा. (माओवादी)ले युद्ध नलडिदिएको भए शायद नेपाल समृद्धिको दिसामा जान सक्थ्यो । अहिले पनि उनी जनयुद्धको धारलाई सहर्ष स्वीकार गर्न आँट गरेको छैन किनकी जनयुद्धले नेपालको आन्तरिक राष्ट्रवादलाई यथास्तिथि मै रहन दिएन । पहाडिया खसब्राह्मणवादी अहंकारले ठोस बनाएको नेपाली राष्ट्रवाद आन्तरिक रुपमा सर्वस्वीकार्य हुने कुरा प्रायः असम्भव देखियो । आन्तरिक राष्ट्रवादको समस्या कायम राखेर नेपालको समृद्धिको सपना के.पी.ओली अहिले पनि बाँड्न छोडेको छैन ।
समानताको हक सम्बन्धि सपना
समानताको हक सम्बन्धि सपना बरोबर बाँड्ने के.पी.ओली संविधानले सबैको हक सुनिश्चित गरेको बताउनु हुन्छ । कुनै बेला उनले मेरो बालकोटको घरको आँगन पनि समथर छ । के यसलाई पनि मधेसमा नै मिलाउने त ? भनी जिस्किने समेत गरे । आज मधेस जलमग्न बन्दा खोई त बालकोटको घरको आँगनमा पानी ? विशेष गरी संघीयताको सवालमा आफ्नो वर्ण र नश्लको वर्चश्व रहने गरी उनले प्रदेशको सिमाङ्कन गराए । पूर्वको झापा, मोरङ, सुनसरी, बिचको चितौन उपत्यका र पश्चिमको कैलाली र कञ्चनपुरलाई जेरिमेन्डरिङ गर्दै प्रदेश बनाएकोले कुनै समयमा छ इन्च छोटो पार्ने अभियानको पुनरावृतिको रुपमा उपरोक्त छ जिल्लाको कटौती हो कि जस्तो पनि लाग्छ । होइन भने पहिचान र सामथ्र्यमा सैद्धान्तिक सहमति गर्ने के.पी.ओली किन यत्रो लफडा गरी बस्थे ? आज ४बुँदे नन पेपर डकुमेन्ट अति विवादित बन्दै के.पीे. ओलीको राष्ट्रघातको खुलासा हुनुलाई नेपालको वेइजत किन नबुझ्ने ? समानताको हक सम्बन्धि सपना भारतसँगको परनिर्भरता हटाउन चीनसँग पारवहन र वाणिज्य सन्धि गर्दा हरायो । हिलोले हिलो पखालेको कतै देखिन्छ कि ? शायद प्रचण्डले ओलीजी सेल्फ सेन्ट्रीक भएको जुन आरोप लगाए, त्यसमा केही आंंशिक सत्यता होला नै ।
निष्कर्ष
अविश्वासको प्रस्ताव उपरको छलफलको जवाफ दिने क्रममा के.पी.ओलीले सानो कथा हालेर बञ्चरो रुख काट्न प्रयोग हुन्छ तर जब सम्म बञ्चरोको समाउने बिंड काठकै हुन्छ, बञ्चरोले रुख काटि छाड्छ । अर्थात् ओली नेतृत्वको सरकार हटाउन केही एमालेकै नेतागण प्रयोग भएको संकेत गरे । उनका महान सपनाहरु अब यो जिन्गीमा पुरा हुने देखिदैनन् किनकी हालसम्म एमाले भित्रबाटै उनका सपनाहरु चकनाचुर बनाएका छन् । उनले नदेखेको सपना यतिखेर छलफलमा आएको देखिन्छ । वस्तुगत रुपमा नेपाल वहुलराष्ट्रिय राज्य हो । ग्राह्म ई.फुलरको मत अनुसार संसारमा कुनै पनि राज्य आर्थिक सम्भाव्यताको आधारमा बनेको छैन, बल्की ऐतिहासिक घटनाहरुको आधारमा । अर्थात् राज्यत्वको लागि कुनै प्रष्ट आधारहरु नहुने बताउनु हुन्छ फुलरले । ती जो स्वायत्तताका लागि अथवा स्वतन्त्रताका लागि माग गर्दछन्, जो ल्याकत खर्च गर्न तयार हुन्छन् र सम्भवतः रगत बगाउन समेत, तीनिहरुले राज्य प्राप्त गर्न आफुलाई योग्य बनाउँछन् । नेपाल राज्यको निर्माण पनि ऐतिहासिक घटना मै आधारित भएको देखिन्छ ।
अन्तमा, के.पी. ओली नौ महिना सरकार चलाए । सिंहदरबारको ग्यालरीमा उनको पनि फोटो प्रधानमन्त्रीको लहरमा देखिने भइहाल्यो । झापाकै डेकेन्द्र राजवंशी कुनैवेला आत्महत्या गर्नुपर्यो एमाले मुख्यालयमा झुण्डीएर । शायद उनको पनि सपना थियो उपभोक्तावादी संस्कृतिमा परिवारका आधारभूत आवश्यकता पुरा गर्ने तर कुनै गुट प्रति वफादार नबन्दा उनी ईमानदार एमाले कार्यकर्ता भए पनि सपना पुरा गर्न सकेन । दोश्रो हामी कहाँ जवाफ देहिताको मुल्य र मान्यता छैन जसले परिणाम आए पनि अथवा नआए पनि लाज मान्नु पर्ने हुँदैन । के.पी. ओली राम्रा राम्रा सपना बाँड्नु भयो तर राष्ट्रिय स्वार्थको किंचित वास्ता नगरी वैयक्तिक प्रभाव विस्तारमा केन्द्रित हुनुभयो । यहि कारण हो कि आफ्नै सहकर्मीहरुद्वारा घेरावन्दीमा पर्नु भयो । कुनै पनि राज्य आफैंमा सार्वभौम हुन्छ र सार्वभौमिकताको प्रयोग एकाइशौं शताब्दीमा कसरी गर्ने भन्ने सवाल जटील बनेको सबैले स्वीकार गरिसके । संसार नै अन्तरनिर्भरतामा बाँच्न थालेको परिवेशमा नेपाल एक्लै अब हिड्ने कोशिश गर्न सक्दैन । यसले सार्वभौमिकताको साझेदारी गर्न बाटो खोल्छ । दक्षिण ऐसियाली क्षेत्रीय सहयोग संगठन पनि सार्वभौमिकता साझेदारीको एक रुप मान्न सकिन्छ र नेपाल यसको सदस्य पनि हो । के.पी.ओलीले लिएको बाटो उनको सपना साकार गर्न सहयोगी हुने छैन किनकी राजनीतिक पाराडाइम शिफ्ट भएको कुरा सबैको मनमा छ । यहाँ आन्तरिक राष्ट्रियताको विषय प्रधान सवाल बनेको छ । वदलिएको राजनीतिक पाराडाइमले ल्याएको यस प्रकारको चुनौती के.पी. ओलीको लागि वहियात कुरा हो । त्यसैले सैद्धान्तिक भन्दा पनि व्यवहारिक राजनीतिको प्रयोग बढी गर्न रुचाउनु हुन्छ र अन्ततः केही गडबडी भयो भने त्यसबाट पन्छिने कोशिश गर्नु हुन्छ जुन एक जिम्मेवार नेताको राजनीतिक संस्कार भित्र पर्दैन ।