केपी ओली नेतृत्वको सरकारले तीन वटा निर्वाचन गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेशिक र संघीय सदस्यको चुनावको मिति प्रस्ताव गरेका हुन् ।
लोकसेवा आयोगको वाषिर्कउत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले १९ महिनाभित्र तीनवटै चुनाव गर्ने बताए । उनले मंसिरभित्र स्थानीय चुनाव हुने बताए ।
सरकारले नीति तथा कार्यक्रममा मंसिरभित्र अन्तरिम स्थानीय चुनाव गर्ने बताएको थियो । तर, सत्तारुढ माओवादी, प्रमुख विपक्षी कांग्रेस लगायतले यसको विरोध गरेका थिए । उनीहरुले अन्तरिम स्थानीय चुनाव भन्दा संविधान अनुसार नै स्थानीय तह गठन गरेर चुनाव गर्नु पर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्री ओलीले अब नयाँ संविधान अनुसार स्थानीय तहको चुनाव गर्ने बताए । उनको संकेत अन्तरिम नभई संविधानमा भएको नयाँ व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्ने थियो ।
प्रधानमन्त्री ओलीले वैशाखभित्र प्रादेशिक चुनाव गर्ने र मंसिरभित्र संघीय संसदको चुनाव गर्ने बताए ।