महिला प्रहरी भन्छिन्- ‘गाला रातो हुँदासम्म सरले कोठामा राख्नुहुन्छ’

‘दैनिक १८ घन्टा ड्युटी गएर आइएको हुन्छ। कुरै नबुझी हाकिम साहेबले मुख छाडेर गाली गर्नुहुन्छ,’ प्रहरीभित्रका गुनासो जान्न प्रहरीले गरिएको सर्वेक्षण भिडियोमा एक जवान भन्छन्। आन्तरिक अनुशासन र गुनासो जान्ने ध्येयले तयार गरिएको सर्वेक्षण भिडियोमा प्रहरी संगठनभित्रको समस्या यसरी छताछुल्ल भएको छ। महिला प्रहरीको गुनासो त्यत्तिकै छ।
सम्पादनको अवस्थामा रहेको भिडियोमा एक महिला प्रहरीले भनेकी छन्, ‘गाला रातो हुँदासम्म सरले कोठामा राख्नुहुन्छ, रातो हराउँदै गएपछि पठाउनुहुन्छ।’ प्रहरी अधिकृतका अनुसार संगठनभित्र महिला प्रहरीको उपस्थितिमा अश्लील शब्द पनि त्यत्तिकै प्रयोग हुन्छ। ती महिला प्रहरी भन्छिन्, ‘पारिवारिक समस्या, घरव्यवहार सबै खत्तम भइसक्यो, हाम्रो जीवन नै हुँदैन।’ यस्तै करिब चार हजार गुनासो, सुझाव र अनुरोध तथा आक्रोशलाई यतिबेला प्रहरी प्रधान कार्यालयको अन्वेषण तथा विकास निर्देशनालयले केलाउँदैछ। भिडियोमा भएका यस्ता दृश्य र गुनासाको सम्पादन भइरहेको छ।

‘अनिश्चित वृत्तिविकास, अपुग तलब, सिनियर अधिकृतको रुखो बोली र गालीगलौजले दिक्क भएका बेला सेवाग्राहीसँग कसरी हा”सेर कुरा गर्ने?’ अर्का प्रहरी जवानको प्रश्न भिडियोमा छ। प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अन्तर्गतका महाशाखा, परिसर, गण, प्रतिष्ठान लगायत युनिटका आधाभन्दा बढी तल्लो तहका प्रहरीमा गरेको सर्वेक्षणमा कार्यालयमा हुने भेदभाव, हाकिमको गाली र परिवारसँग बिछोडको समस्या प्रमुखताका साथ उठाएका छन्।

निर्देशनालयले दुई महिना लगाएर उपत्यकाका चार हजार प्रहरी हवल्दार र प्रहरी जवानका गुनासाको भिडियो रेकर्ड गरेको हो। निर्देशनालयले प्रहरीका वरिष्ठ र कनिष्ठ अधिकारीमा सुधार देखिए पनि तल्लो तहका कर्मचारीमा सुधार नआउनुको कारण खोज्न सर्वेक्षण गरेको हो। सर्वेक्षणमा सहभागी कार्यालयका करिब पचास प्रतिशत प्रहरी हवल्दार र जवानलाई अनिवार्य सहभागी बनाइएको थियो।

Leave a Reply

Your email address will not be published.