ओलीज्यूको हिन्दी टुक्का- देख्ते रहिए

सुरेन्द्र राना।

प्रधानमन्त्री ओलीजी जहाँ जहाँ जान्छन् त्यता त्यता दुई चार उखान टुक्का छाड्छन्। ओलीलाई पछ्याउने पत्रकार दर्शकले सामाचार, सामाजिक सञ्जालमार्फत ती कुराको प्रचार, प्रसार गर्छन्। एकछिन त उनको बाली महाराजको हुकुमजस्तै हुन्छ। तर ‘खोलो तर्यो लौरो बिर्सयो’यो टुक्काको भने ओलीले आफैँ भेउ पाउदैनन्। उनले गरेको वाचा, कवोल टुक्काको संख्या गणना गर्ने हो भने उनी प्रधानमन्त्री हुन् वा ब्यंग्य सम्राट? खुट्याउनै मुस्किल हुन्छ। यतिबेला बाहिरबाट खुट्याएर हेर्दा प्रधानमन्त्री ओलीलले धारण गरेका दुबै पद जायज छन्- १. महासामन्त! २. ब्यंग्य सम्राट!!

ओली कम्युनिष्ट हुन्। मार्क्स र लेलीनलाई मान्ने खाँटी कम्युनिष्ट। उनी देशको आचारलाई भन्दा विदेशी विचार बढी मान्छन्। सामान्तीसँग भिडन्त गरेर जनतालाई राहत दिनु कम्युनिष्टहरुको मार्ग हो तर अहिले नेपालका कम्युनिष्ट प्रधानमन्त्री त्यसो गर्दैनन्। उनी सामान्तीको साथ लिन्छन् र जनतालाई आहट दिन्छन्। कूटनीतिलाई काटीकुटी पारेर बागमतीमा बगाइदिएका छन् ओलीले। बरु गमक्क पर्दै भाषण गर्छन्- मेरो प्रधानमन्त्रीत्वकालमा कोही जनता भोकै मर्दैनन्। जलस्रोतको धनी देशबाट जलविद्युत निकाल्ने कुरा गर्छन् तर पानी खान नपाएर जनता छटपटिएको भने नदेखे, नसुनेझैँ गर्छन्। कालिकोट, हुम्ला, जुम्ला भोको छ तर अर्बौं लगेर कर्णाली प्रदेश बनाउने सपना बाँड्छन्। तस्करी र कालाबजारीको निर्मुलताको कुरा गर्छन् तर बिहान बेलुका उनै तस्करी र कालाबजारियाको स्वस्ती स्विकार्छन्। आफू बालुवाटारमा बसेर करोडौंको भोज डकार्छन् अनि राहत माग्न आएका सोझा जनतालाई प्रधानमन्त्रीको कुर्सीबाट हकार्छन्। देश कता पुग्दैछ ओलीज्यू? तपाईँको टुक्के बोलीले देश विकासको गति होइन काम गरेर खाने जनतालाई समेत बेथितिको स्थितिमा पुर्‍याएको छ। भूकम्प गएको साल भर भो, जाडो बर्खा टरेर गो। आएको राहत ठूलाबडाले लुटपाट गरे। कति सर-सामान एर्पोटमा थन्किएको छ, अनुदानमा आएको चामल कुहियर पुर्दै हुनुहुन्छ तर जनता भोको मरेको पटक्कै नदेख्ने, नसुन्ने तपाईँलाई कस्तो रोग लागेको छ हँ? यसपाली त डढेलोले नेपाल स्वात्तै पारेको छ, सामुदायिक वन, गाउँ घरका झुपडी, डाँडाकाडा सबै जलेर खरानी भाको छ। अब न त वन जंगल छ, न त खोलामा पानी छ। हिमालमा हिउँ छैन तर पनि मिनरल वाटरको घुड्कीसँगै चुट्की बजाउँदै गरेको तपाईँको बोली रोमको महासामान्तीजस्तै छ। उता देश जल्छ, यता सिंहदरवारमा तपाईँको भोज चल्छ। अब हामी नेपाली जनता त नबाँच्ने नै भयौं, तपाईँ एक्लै बाँचेर देशको शासन कसरी चलाउनु हुन्छ कुन्नी?

ओलीजीको बोलीमा राष्ट्रियताका शब्द त भेटिन्छन् तर खोक्रो राष्ट्रवादले देश रित्तिदै गएको भने पटक्कै भेउ पाएका छैनन्। देशका सारा युवा पलायन हुनेक्रम बढ्दो छ, न्याय, अन्यायका नायक भएर पनि अन्यायलाई दबाइरहने तपाईँको बानीले भने सारा समाज चिन्तित छ। गणतन्त्रको विशाल आन्दोलन देखाउने कमल थापा तपाईँ दाहिने र संघीयताका प्रमुख विरोधी चित्रबहादुर तिम्रा बाँया छन्। जनआन्दोलनका सहिदहरुको कत्रो अपमान हो यो? परिवर्तन चाहने करोडौं नेपाली जनतालाई अपरिवर्तनीय यो मकुन्डले देश कता पुर्‍याउला खै?

यो लेखक राना थारु हो। हामी त आधा भारत आधा नेपालमा बसोबास गर्छौं। अहिले पनि हाम्रो समाजको विहेवारी नेपाल भन्दा बढी भारततिरै चल्छ। पहिले पहिले भारततिरका राना थारुलाई नेपालतिरका रानाले छोरी दिन अन्कनाउँथे। आजभोलि नेपाली राना थारुको छोरी भारतमा दिनु भनेको छोरो अमेरिका गए जत्तिकै हो। आखिर कति छिटो यति लामो दूरी भइसकेको छ, हामी बीचमा? कहिले काहीँ मैले झण्डै सय काट्नलागेका मेरा बाजेलाई सोध्छु- पहिले पहिले कैलाली कञ्चनपुरतिर कसको बसोबास थियो हँ? मेरा बाजे सुस्केरा हाल्दै भन्नुहुन्छ- हामी यहाँ डगौरा, राना थारुहरु मात्र थियौं, धनगढी, कञ्चनपुर अड्डामा काम गर्न आएका पहाडी कर्मचारीहरुको एक, दुई घरमात्रै थियो। अहिले हाम्रो सबै जमिन पहाडीको हातमा छ यसो भनिरहँदा उहाँको मुहारमा गम्भीर निराशा देखिन्छ।

प्रधानमन्त्रीज्यू, हामी गम्भीर अन्यायमा छौं। थारुहरुको ठूलो जमात अन्यायमा परेको छ, हामीले तपाईँसँग पहिचान र सामार्थ्यको आधारमा थरुहट प्रदेशमात्रै मागेका छौं। संविधानको सात प्रदेशअन्तर्गत हामीलाई अखण्ड सुदूरपश्चिममा राखेको पटक्कै मन परेको छैन। तपाईँले त बाहिरको मनगधन्ते कुरा सुन्ने हो, चिन्ता त हामी जस्तो समाजमा बस्नेलाई हुन्छ। आजभोलि थारुहरुको मनमा कस्तो चोट लागे छ कुन्नी? धनगढी, महेन्द्रनगर, टीकापुरमा त थारुहरुले जग्गा पनि किन्न चाहन्नन्। मेरो आफ्नै काकाले अस्तीमात्रै धनगढीको जग्गा अति सस्तोमा बेचिदिनु भो। अहिले थारुहरुभित्र भित्रै मुर्मुरियर बसेका छन्। यस्तै हो भने कुन दिन भयानक दुर्घटनाको दिन नआउला पनि भन्न सकिन्न।

अस्ती अतरियामा एमालेको ठूलो सभा भयो, धेरै थारुहरु कार्यक्रममा सहभागी भए जसमा म पनि थिँए। तर थारुहरु त्यहाँ रहरले सहभागी भएका होइनन्। नेपालका प्रधानमन्त्री ओलीले थरुहट प्रदेशको घोषणा गर्दैछन् भनेर हल्ला फिजाइँएको थियो, त्यही खुसीमा नाच लिएर गाउँ गाउँबाट थारु ओसारिएका थिए। तर थारु तब निरास भए जब तपाईँहरुले गरेको भाषणमा आश्वासन मात्र दिइयो। ओलीज्यू, हामी थारु कता जाने? हाम्रो मोहरामा मधेस खेल्छ, चीन खेल्छ, भारत खेल्छ, अमेरिका खेल्छ, तपाईँ खेल्नु हुन्छ, के हामी तपाईँहरुको फुटबल मात्रै हो? तपाईँहरुको लात्तीको ड्याम्म ड्याम्म चोटमात्रै सहिरहने? आजभोली हाम्रोतिर एउटा हल्ला छ- सात नम्बर प्रदेशको राजधानी अतरिया हुँदै छ रे। थारुहरुको बस्तीमा बडो मजाको गफ सुनिन्छ- देख्लो लेखरज्वक सारा जग्गा अतरियम् बाटिस् उह त सरमुकाम अतरिया बनाइल। (देख्यौ लेखराज भट्टको सारा जमिन अतरियामा छ त्यही भएर त्यो सदरमुकाम हुँदैछ।) हुनपनि सबैलाई थाहा भएकै कुरा हो, आधा अतरिया त लेखराज भट्टको मात्रै हो। जे होस् जसो होस् थारुहरु अखण्ड सुदूरपश्चिमको पक्षमा पटक्कै छैनन् भन्नेचाहिँ सबैले बुझ्नुपर्छ।

मैले एकजना कूटनीतिज्ञको पुस्तक पढ्दा कूटनीतिको केटी अंश कस्तो हुँदो रहेछ, अलि अलि जानकारी पाएँ। २०४५ सालमा राजा वीरेन्द्रले एकजना दूतलाई दिल्ली पठाएछन्। भारतले गरेको नाकाबन्दी हुनुभन्दा पहिले भारत र नेपालको सम्बन्ध नबिग्रियोस् भनेर। दूतसँग अचम्मको कूटनीतिक व्यवहार भएछ। नेपालका दूत र भारतका दूत पाँचतारे होटलको टेबुलमा खाना खान बसेछन्। खाना खादा तरकारीमा नुन थिएन रे। नेपाली दूतले नुन मागेपछि मात्र वेटरले नुन ल्याएर दिएछ। त्यस्तै त्यही रातको अर्को घटना, सुविधा सम्पन्न पाँच तारे होटलमा सबै कुराको बन्दोवस्त हुँदाहुँदै दूतको सयन कक्षमा केरोसिन हिटर (मट्टितेलबाट चल्ने) राखिएको रहेछ र हिटरमा सेतो कागजले ‘नो केरोसिन’ लेखिएको रहेछ। पछि दिल्लीबाट फर्किएपछि राजा वीरेन्द्रलाई दूतले उक्त कुरा सुनाउँदा राजा फिस्स हाँस्नुभएछ। त्यसबेला राजाको हसाई प्रधानमन्त्री मरिचमानले समेत बुझ्न सकेनछन् तर जुँगा चल्दा कुरो बुझ्ने राजाले प्रधानमन्त्रीलाई मट्टितेल र नुनको बन्दबोस्तीका लागि अर्‍हाएछन्।

ओलीज्यू, थुतुनोले टुक्को बोल्दा कूटनीतिक मर्यादाको परिभाषा पनि बुझ्नुहोस्। सायद यही कूटनीतिको खिस्सा तपाईँलाई कसैले सुनायो होला र आजभोली ‘देख्ते रहिये’ भन्नुहुन्छ। हठ छोड्नुस्,  शान्त थारुहरुको कूटनूति बुझ्नुस्, किनकि टीकापुर घटनापछि सेना, प्रहरी र मुन्द्रेले घरकी चेलीबेटीमाथि बालात्कार हुँदा पनि थारुहरु शान्त छन्। घर घरका हरेक जवान छोरा, भाइ कुटिदा पनि शान्त छन्, गाउँका गाउँ युवा भारत पलायन हुँदा पनि शान्त छन्। यो शान्ती थारुहरुको कूटनीति मर्यादा पालनमात्रै हो भन्ने देशका राजनीतिक नेताले छिटो बुझ्नुपर्छ। मेरो गोरुको बाह्रै टक्का भन्न छोड्नुस्, सबैले खेल्ने फुटबल थारुहरुलाई नबनाउनुहोस्। हामी जनयुद्धमा पनि बग्यौ, प्रचण्ड हाम्रा रगतको होली खेल्दै रमाइरहेका छन्। देउवा दुईचार जनाले घेरिएकोमा खुसी छन्, सिटौला, रावलहरु जुँगामा ताउ लगाउँदै मस्त छन्। गच्छदार जमिन्दार हुन्- उनलाई हात्ती भए पुग्छ। जन्मिदा हात्ती, हुर्किदा हात्ती र मर्दा पनि हात्तीमाथि चढेको सपना देख्ने गद्दार गच्छेदारसँग सोझा सरल थारुहरुको भावनाको मेल पटक्कै खाँदैन। टिभी र रेडियोमा अन्तर्वार्ता दिने, सत्तामा बसेर थारुको नेता हुँ भन्नेसँग होइन, वास्तविक बस्तीका थारु अगुवाहरुसँग वार्ता गरे समस्यामा पूर्ण बिराम होला नत्र ओलीज्यू, दुःख नमान्नु होला मेरो टुक्का चोर्यो भनेर लेख्यौ पनि नभन्नु होला दुःखका साथ ओलीज्यू मैले तपाईँकै भाषा सापट लिँए- देख्ते रहिए…!!

कन्चनपुर

स्केच : युवक/शुक्रवारबाट

Leave a Reply

Your email address will not be published.