
विमल चौधरी नेतृत्वमा गठन भएको थारु विद्यार्थी समाज उपत्यका समिति (समानान्तर)ले थारु समुदायका प्रतिभावान पाँच जनालाई सम्मान गरेको छ।

राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका सदस्य आदित्य चौधरी, कमैया-कमलरी प्रथाविरुद्धको अभियानमा लागेकी कौशिला चौधरी र उर्मिला चौधरी, हालसालै मिस नेपाल इन्टरनेशलन विजेता वर्षा लेखी र नृत्य निर्देशक दीपक चौधरीलाई सम्मान गरिएको छ। उनीहरु सबैलाई खादा र तामापत्रसहित सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीले सम्मानित गरिन्।
कार्यक्रममा ‘संविधानमा थारुको मुद्दा र हाम्रो भूमिका’ विषयक अन्तर्क्रिया पनि राखिएको थियो। जसअन्तर्गत थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरी, सचिव मिनराज चौधरी, थरुहट लोकतान्त्रिक परिषद्की सचिव गीता चौधरी, थारु पत्रकार संघ नेपालका उपाध्यक्ष प्रदीप लेखीले थारुहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। उनीहरुले संविधानमा थारुका माग मुद्दाहरु अझै नसमेटिएको भन्दै अन्तिम समयसम्म एकजुट भएर लड्नुपर्ने बताए।







