इन्दु थारु
म त आशावादी छु। Hope is a rope that swings human all through the life. म सानै छँदा सुनेको यो वाक्यले मेरो मनमा गहिरो तर सकारात्मक प्रभाव पारिरह्यो। निराश हुने परिस्थितिमा पनि आफूले आफैँलाई हौसला दिई नै रहे। मेरो जीवनमा निराशाले जितेको भए आज यहाँ कहाँ रहने थिएँ र?
दुःख लाग्छ, मेरा सहकर्मी साथीहरु निराश छन्। स्वाभाविक पनि हो निराश हुनु। भन्छन्- यति लामो समय बितिसक्दा पनि आन्दोलनको उपलब्धि केही भएन। यस्तो सुन्दा म आफैं पनि उत्साहविहीन हुन्छु। अरुलाई सम्झाउन सक्दिन र आफैंलाई सम्झाउछु- धेरै परको इतिहासको पाना किन पल्टाउनु, केही समय पहिले मात्रै माओवादीले सुरुवात गरेको लडाइँ पनि छोटो समयको थियो र? माओवादीले शसस्त्र लडाइँ १० वर्षसम्म लडेको थियो अनि मात्र शासन सत्तामा पुगेको थियो। अनि सोच्छु हामीले लडेको त कति नै भएको छ र? यो देशको शासन सत्ता हामी सधैं विभेद्मा परेकाहरुले पाउन सजिलो होला र? हुनसक्छ कैयौं दशक वा शताब्दीऔं लड्न पर्ने पो हो कि? यस्तै सोच्दै आफूलाई मनमनै बलियो गरी तयार गरिरहेको हुन्छु, संघर्षका पाइलाहरु अगाडि बढाउन। मलाई थाहा छ लडाइँ सजिलै जित्न सकिँदैन। त्यसका लागि निकै त्याग तपस्या र संघर्ष गर्नुपर्छ। आफ्ना कति व्यक्तिगत इच्छा आकांक्षालाई प्रमुख नमानी सामाजिक मुद्दा र सबाललाई अग्रस्थानमा राख्न पर्छ। यी कुराहरु मैले कतै पढेरभन्दा पनि आजसम्मको आन्दोलनबाट सिकेको हुँ। यसलाई आन्दोलनको एउटा ठूलो उपलब्धि मान्छु मैले।
सानो छँदा मलाई पढाइन्थ्यो हाम्रो देश विभिन्न जातजातिको साझा फूलबारी हो। सबै जातजातिमा विविधता रहे पनि एउटै समाजमा मिलेर बसेका छन्। अब थाहा हुँदैछ, थारुले कमैया हुन स्वीकार गर्दा, दलितले अछुत हुन स्वीकार गर्दा, महिला सधैं पुरुषको तुलनामा कमजोर हुन स्वीकार गर्दा मात्रै पो समाज मिलेर बसेको देखिने रहेछ। अन्य अन्य विभेदमा परेका पारिएकाहरु सबै वर्ग, जाति, लिंग, धर्म आदि सबैले चुपचाप अत्याचार सहेर बस्दा यहाँ राम्रो सामाजिक सद्भाव देखिन्छ। मानिसले मानिसलाई छुँदा छोइछिटो हाल्नु पर्ने समाजमा जबरजस्तरुपमा सद्भाव खोजिन्छ। तर शोषित उत्पीडित सम्पूर्ण समुदायले सम्मानका साथ जीउन पाउँ भनि अधिकार माग्दा एकाएक सद्भाव खलबलिन्छ। सतहीरुपमा मात्रै समाज मिलेर बसेको देखिन्छ। पारम्परिक सद्भावले वास्तविक किसिमको सद्भाव कायम गर्दैन। साँच्चै नै सद्भाव कायम गर्ने हो भने त विभेदकारी नीतिको अन्त्य हुनुपर्थ्यो। तर यहाँ त विभेदमाथि विभेद हुँदै गयो। शोषित उत्पीडितहरु सहेर बस्नुलाई मिलेर बसेको नाम दिइयो। फरक छ मिलेर बस्नुमा अनि सहेर बस्नुमा। आन्दोलनले सिकायो मलाई यो कुरा। यसलाई आन्दोलनको उपलब्धि नै मान्छु मैले।
मलाई धेरैले थारु देख्छन् अनि धेरैले थारुजस्तो देख्दैनन् पनि। उहिले उहिले थारुजस्तो देखिँदैन भन्दा त मन फुरुंग भएर आउँथ्यो। मानौ पिउनबाट अचानक हाकिम पदमा प्रोमोसन भएजस्तो। पश्चाताप हुन्छ आफ्नो विगतको सोचाइदेखि। आज आएर सोच्छु- यदि थारुजस्तो देखिँदैन भने कस्तोचाहिँ देखिनपर्थ्यो। रातदिन काम गरेरे हातखुट्टा खिइएको कमैया कमलरीको जस्तो देखिन पर्थ्यो? जस्तो छु त्योभन्दा अलि बेसी कालो हुन पर्थ्यो? नेपाली खस भाषा बोल्न नजान्ने हुन पर्थ्यो? पढ्न लेख्न नजान्ने हुन पर्थ्यो? साँच्चै कस्तो हुन पर्थ्यो? आज कसैले थारुजस्तो छैनौँभन्दा अलिकति पनि खुसी हुँदैन। आन्दोलनले मलाई थारु हुनुमा गर्व गर्न सिकाएको छ। हिम्मतका साथ गर्व गर्न सिकाएको छ। योभन्दा ठूलो उपलब्धी केलाई भनु आन्दोलनको, जसले मलाई आफू थारु हुनुमा शिर उच्च पारेर बाँच्न सिकाएको छ।
थारु आन्दोलनको चर्चा गर्दा टीकापुरलाई कसरी भुल्न सक्छु र? थारुहरुले सबैभन्दा धेरै साहस प्रदर्शन गरेको ठाउँ। सरकारले उपेक्षा गरिरहेको बेलामा एकाएक थारु आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको ठाउँ। कतिले टीकापुर विष्फोटलाई सकारात्मक रुपमा लिए, कतिले नकारात्मक। केही नेपाली विशलेषकले यति कलात्मकरुपमा टीकापुर घटनाको विश्लेषण गरेका छन्, सुनिरहुँ लाग्नेगरी। भनेका छन्- थारुहरुले पुलिसलाई ताकेको होइन। थारुहरुले त सिंहदरबार ताकेको हो। सिंहदरबार ताक्ने क्रममा सिंहदरबारका प्रतिनिधि पुलिसबीचमा परेकामात्र हुन्। एकदम सही ढंगले गरिएको यथार्थ विश्लेषण।
थारुमाथि गरिएको सरकारी ज्यादतीको विरुद्धमा विष्फोट भएका थारुहरुलाई बिर्से त पापै लाग्छ होला। थारुहरुका घर र पसल छानी छानी आगो लगाइयो, प्रशासनले थारुका लागि मात्रै कर्फ्यू लगायो थारुहरुमाथि कति हो कति ज्यादती गर्यो। यो सबै सुनेर ममात्रै रोइन, विश्वका हरेक कुनामा बस्ने थारु रोएको हुनपर्छ। थारु आन्दोलनको कुनै तुक छैन भन्दै हिँड्ने थारु नामका कलंकहरुको अलिकति भए पनि पक्कै मुटु दुख्यो होला। टीकापुरमा थारुको घरमा आगो लगाइँदा नवलपरासीको थारुको मन जलेन र? टीकापुरमा थारुको घरमा आगो लाग्दा निस्केको धुँवाले अमेरिकामा बस्ने थारुको आँखाबाट आँशु झरेन र? विश्वभरिका थारुलाई एकसुत्रमा बाँध्ने काम आन्दोलनले गरेको छ। यो आन्दोलनको उपलब्धी नै त हो नि। हुनसक्थ्यो सीमांकनले सिमाको दायरामा मात्र बाँध्न सक्थ्यो तर आन्दोलनले सबै दायरा पार गरेर थारुलाई एक बनाएको छ।
इतिहासमै पहिलोपटक थारुले आफ्नो लागि आन्दोलन गर्दैछ। अहिलेसम्म अर्काको लागि लड्ने, अर्कोको लागि ज्यानै फाल्ने थारु आज आफ्नो जाति र समुदायको मुक्ति, पहिचान र अस्तित्वका लागि संघर्षरत छन्। सेधैंभरि अर्काको नेतृत्व स्वीकार गरेर हो मा हो र ना मा ना मिलाउने थारु आज आफ्नो नेतृत्व आफैं गर्छौ भन्दैछ, यो देश हाम्रो पनि हो र यो देशको शासनसत्तामा हाम्रो पनि हिस्सेदारी हुनुपर्छ भन्दै राजनीतिमा अग्रसर हुँदैछ। हो आन्दोनलाई सफलतामा पुर्याउन थुप्रै चुनौतीहरु छन्। ती चुनौतीहरुसँग जुझ्न आफूलाई आत्मादेखि नै तयार नगरेसम्म कसरी पो सफलतामा पुगिएला र? यो वा त्यो बहानामा निराश भएमा कसरी आफ्नो समुदायलाई अधिकार दिलाइएला र? असफलतालाई धेरै महत्व नदिइ अहिलेसम्मको उपलब्धिलाई पनि अलि गौण गरे आशावादी भइन्थ्यो। ममा जस्तो अन्यमा पनि आशा पलाओस् भन्ने सोच्छु ,सोच्दैमा के नै पो हुने हो र।
लेखक थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका सचिवालय सदस्य हुन्।
सम्बन्धित लिङ्क