
आमा, बाबु र छोरा एउटै कक्षामा पढेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। यस्तो आश्चर्यलाग्दो घटना भारतमा भएको छ।
भारतीय राज्य पश्चिम बंगालको नाजिया क्षेत्रमा बस्ने मण्डल थरका एउटा परिवारका बाबु, आमा र छोरा एउटै कक्षामा पढ्छन्। सबैजना स्थानीय शैक्षिक संस्थामा कक्षा ११ मा पढ्छन्। कलेज युनिफर्ममा सजिएर तीनजना आ–आफ्ना साइकलमा बिहान कलेज जान्छन् र साँझ घर फर्कन्छन्।
‘आमा कल्याणी र बाबु बलरामले बाल्यकालमै बिहे गरेका थिए। त्यही भएर उनीहरूको पढ्ने धोको पूरा हुन सकेन। छोरो हुर्किएपछि उनीहरू छोरोसँगै स्कुलमा भर्ना भएर पास गर्दै ११ पढ्ने भएका हुन्,’ समाचारमा भनिएको छ। कक्षाकोठामा बाबु, आमा र छोरा एउटै बेन्चमा बसेर पढ्ने गरेको समेत समाचारमा जनाइएको छ। पश्चिम बंगालमा कक्षा १२ को परीक्षा नजिकिइरहेकाले अहिले सबै घरमा बढी पढ्न थालेका छन्।
‘क्याम्पस जानुपर्ने भएकाले घर र खेतको काम बिहान छिट्टै उठेर सकाउँछौँ,’ बलरामले भने।
