सीएन थारू
थरुहट आन्दोलनको पाँचौ महिना चल्दैछ। जारी थरुहट आन्दोलन एकाध घटनावाहेक शान्तिपूर्ण रहेको देखिन्छ। थरुहट/थारूवान संयुक्त संघर्ष समितिले यो आन्दोलनको नेतृत्व लिए पनि अहिले यस संघर्ष समितिमा रहेको थारू सभासद संघर्ष समितिको संयोजक रामजनम चौधरी मन्त्री भए। थारू कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष रहेको धनिराम चौधरी यो संघर्ष समितिको समेत संयोजक रहेको अवस्थामा थाकसले आफ्नो आन्तरिक समन्वय मिलाउन भनी राजकुमार लेखीलाई आन्दोलनको संयोजक बनाए। अहिले संघर्ष समितिका घटक संघ/संस्थाहरु छरपष्ट भएर एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै छन्।
नेपालको संविधान जारी भएपछि स्वभाविक रुपमा वस्तुगत परिस्थिति बदलियो। तर अहिले वस्तुगत परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थिति समेत हाम्रो पक्षमा रहेको वेला किन छरपस्ट र शिथिल बन्दै गयो थरुहट आन्दोलन? नेतृत्वकर्ताको अवसरवादी चरित्र यसको कारण हो त? अथवा कुनै अदृष्य शक्तिले यसको सञ्चालन गर्दै आए? हामी गम्भिर भएर यसको ठोस कारण खोजी नगरी अब थरुहट आन्दोलनले गति लिने स्थिति देखिदैन। यसपटक थरुहट आन्दोलन परिणाममुखी नबन्दै रक्षात्मक बनेको छ।
थरुहट आन्दोलनको शुरुवात कसरी भयो?
थरुहट आन्दोलन पहिलोपटक यसरी उठेको होईन। यसको अभ्यास पटक पटक भएको थियो। तर यसपटक जब जेठ २५ गते चार दल विच १६ बुँदे सहमति भयो, नेपाली राजनीतिमा प्रष्ट कित्ताकाट भएको स्थिति देखा परे। संविधान बनाउने नाममा हठात फाष्ट ट्रयाक अपनाएपछि यसले उत्पादन गर्ने संकट देखा परिसकेको छ। इतिहासमै अति कमजोर देखिएको राज्य र यहाँका शासक वर्गको हतास मानसिकता नेपालको नयाँ संविधानमा प्रतिविम्बित हुने स्पष्ट आधार देखिएको थियो। त्यसको वस्तुगत परिस्थिति तथा अन्तर्राष्ट्रिय चुनौतीहरु जवरजस्त रुपमा देखा परेको थियो। यी सबै अवस्थाले थरुहट आन्दोलन जुन तयारी पूरा गर्नैपर्ने थियो, त्यसको कहिं चर्चा गरिएन। कम्तिमा थरुहट आन्दोलनको तात्कालिन कार्यभार पनि किटान गरिएन। आन्दोलनको आवश्यकता चौतर्फी महसुस गरिएको वेला काठमाण्डौमा कथित थरुहट/थरुवान संयुक्त संघर्ष समिति गठन गर्न पुगे। यसले एक भएर आन्दोलन गर्नुपर्ने मान्यता बोके पनि एजेण्डामा सहमति देखाउँदै नेतृत्वको लागि एक अर्काको खुट्टा तान्ने प्रवृत्ति शुरुदेखि नै मौलायो। यसको एक मात्र कारण थरुहट आन्दोलनको शुरुवात कुनै तयारी विना गरिएको प्रष्ट देखियो। तीन दिनको आम हड्ताल भनेर शुरु भएको आन्दोलन कसरी पाँचौ महिना सम्म चलेको छ त? भन्ने प्रतिप्रश्न जन्मिन सक्छ।
परिणामले नै थरुहट आन्दोलनको योजनाबारे समिक्षा गर्न योग्य बनाउँछ। इतिहासमै पहिलोपटक पाँच महिना निरन्तरता पाएको यो आन्दोलनको रापताप टीकापुर, कैलालीको घटनापछि सेलायो। मधेसीहरुको नाकावन्दीपछि यसको कुनै प्रभाव जनजीवनमा परेको महसुस गरिएन। तर यस आन्दोलनबाट नयाँ संविधान निर्माण गर्दा दुईटा सर्वस्वीकार्य उपलब्धी दावी गर्न लायक छन्। तीमध्ये पहिलो नेपालको संविधान–२०७२ मा धर्म निरपेक्षता नलेख्न दवाव दिने गरि हिन्दु अतिवादीहरुले तराईबाट लाखौं मान्छे काठमाण्डौमा उतारेर दवाव दिने अघोषित योजनालाई यो आन्दोलनले तुषारापात गरिदियो। नेपाललाई धर्म निरपेक्ष राज्य भनि अहिले स्वीकार गरिएको छ। दोश्रो सीके राउतको स्वतन्त्र मधेस अभियानलाई यो आन्दोलनको प्रभावले छाँयामा पार्ने काम गर्यो। नेपाल राज्यभित्रै हाम्रो स्वतन्त्रता, लोकतन्त्र र सामाजिक न्याय सुनिश्चित गराउने कामलाई आन्दोलन मार्फत् बल प्रदान गरियो। यस अर्थमा आन्दोलनकारीहरु निराश बन्नु पर्ने जरुरी छैन र नेतृत्व वर्गबाट भएका कमजोरी तथा बदमासी आउने पुस्ताका लागि सचेत बनाएको छ।
थरुहट आन्दोलन दीर्घकालीन योजनामार्फत् सम्भव छ। यो बुझाई आन्दोलनकारीहरुको बिचमा प्रष्ट गरिएन। किनकी नेतृत्वकर्तामध्ये सभासदहरुलाई आन्दोलनको आडमा आफ्नो स्वार्थ पूरा गर्नु थियो। थरुहट आन्दोलन भनेको राष्ट्रिय मुक्ति आन्दोलनको हिस्सा हो भनी हेक्का नराख्दा यसको परिणाम तत्काल खोजी गर्न आतुर जमातबाट नेतृत्वको अपेक्षा गर्नु बेकार छ। अहिलेको स्थिति भनेको थरुहट आन्दोलनले सैद्धान्तिक रुपमा जितेको छ, किनकी खस आर्य पहिचानमा क्लष्टर बनाएर शासक वर्गले यो राष्ट्र–राज्यलाई संकटग्रस्त बनाएको छ र हामीले राष्ट्रियताको दावी गरेको तथ्य स्वीकार्य भएको बुझिन्छ। हामीले खोजेको वहुलराष्ट्रिय राज्य नेपाल हो।
आन्दोलनको तयारी के?
(क) आत्मगत तयारी : अमेरिकी आदिवासी नेता वार्ड चर्चिल निर्देश गर्दछन् कि तिमीले चेतना निर्माण गर्न आवश्यक छ, तिमीले एक मनोविज्ञान निर्माण गर्नुपर्दछ; तिमीले एक अनुभूतपूर्ण आधार निर्माण गर्नुपर्दछ र तिमीले एक सैद्धान्तिक आधार निर्माण गर्नुपर्दछ। यस आधारमा थरुहट आन्दोलनको नेता तथा जिम्मेवार कार्यकर्ता कुन हदसम्म तयारी देखिए? समीक्षा होला नै। तर थरुहट आन्दोलनको सैद्धान्तिकरण हुन नसक्दा बुझाई अलग अलग रहेको प्रमाणित भैसकेको छ। थरुहट आन्दोलनले काउण्टर मोडेल विकास गर्न सकेन। किनकी अहिलेको आन्दोलनको मोडेल २०४६ सालमा वहुदलीय शासन व्यवस्था पुनःस्थापना पश्चात एमालेको नेतृत्वमा भए गरेको बन्द हडताल सम्बन्धि कार्यक्रमकै नक्कल बन्न पुग्यो।
(ख) वस्तुगत तयारी : आन्दोलनको वस्तुगत तयारी पनि कमजोर रह्यो। किनकी आर्थिक तथा भौतिक तयारी आधारभूत तहसम्म पनि गरेको पाइएन। कार्यनीतिक रुपमा संयुक्त संघर्ष समिति बनाइए पनि दीर्घकालसम्म संघर्षको नेतृत्व यस प्रकारका संयुक्त संघर्ष समितिले दिने कुरो भएन। नेताहरु मात्र आफ्नो प्रमोशन खोजे अर्थात् जहाँ आफु एक्सपोज हुने मौका देखे, ती ठाउँहरुमा व्यक्तिगत लगानी पनि लगाए। तर अन्य ठाउँहरुमा त्यस प्रकारको पहल भएन। सत्तासिन बन्न पुगेका साँसदहरुकोे भूमिका झन खतरनाक तबरले बढ्यो भने उनीहरु नै वार्ता समितिको सदस्य भई आफ्ना मालिकसँग हारगुहार गर्न थालेकोले आन्दोलनको भ्रष्टीकरण हुन पुग्यो।
अबको बाटो के?
थरुहट आन्दोलन नेपाल भरिका राष्ट्रिय मुक्ति आन्दोलनमा सरिक बनेका आन्दोलनकारीलाई सजग तुल्याएको छ। उदयमान राष्ट्रवादी शक्तिहरु र साँस्कृतिक पुनरोत्थानहरुका लागि थरुहट आन्दोलन प्रेरणा बनेकोले अब काठमाण्डौबाट एक एक हिसाब लिन ढिलाइ गर्नु हुँदैन भन्ने मान्यता विकास भएको छ। तसर्थ अबको बाटो हचुवाको भरमा निर्धारण गर्नु मनासिब देखिदैन।
थरुहट आन्दोलन राष्ट्रिय मुक्ति आन्दोलन भएकोले अब यसलाई तीन तहबाट पुरा गर्न पहलकदमी लिनु जरुरी छ। पहिलो तहमा अभियान चलाउने हो। ता कि अभियान निरन्तर जारी राखे संघर्षका लागि आधार तयार हुनेछ। दोश्रो तह संघर्षमा होमिने हो र संघर्ष राजनीतिक काम भएकोले राजनीतिक शक्तिले मात्र यसको अन्तिम लक्ष्य भेटाउने प्रष्ट मान्यता लिनुपर्दछ। संघर्षमा आईपर्ने चुनौतीहरुको सामना जातीय चेतनाले लैस भएका अगुवाहरुको नेतृत्वदायी भूमिकाले मात्र सम्भव बनाउँँछ भने यसको जगमा विद्रोह जन्माउन सक्नु पर्दछ। तसर्थ विद्रोह थरुहट आन्दोलनको अन्तिम तह मानिन्छ। हाम्रो विद्रोह भनेको विकल्प सहितको हुनेछ, किनकी हामी आदिवासीहरु कहिल्यै सत्ताविहिन भएका छैनौं र मार्क्सवादी कम्युनिष्ट अथवा उदार पूँजीवादीहरु जस्तो सत्ताको लडाई हामीले लडनु पर्ने देखिदैन। आधुनिक राज्यले हाम्रो सत्तालाई अहिले छाँयामा पारेर राखेको छ, जसले गर्दा हामी परशासित बन्न पुगेका छौं। हाम्रो लडाई परशासनको विरुद्ध स्वशासनको स्थापना गर्नका लागि हो र यो निष्प्रभावी बनाईएका ती आदिवासी सत्ताको पुनःउत्थानसँग सम्बन्धित छ। यसको अर्थ ती परम्परागत सत्ताको लोकतन्त्रसँग कुनै सम्बन्ध नै नरहने भन्ने होइन र त्यसका लागि परम्परागत सत्ताको रिफोर्म तथा रिइन्टीग्रेसन गरेर कार्यान्वयन गराउने कुरो हो।
अन्त्यमा, नेपालमा संविधान सभाबाट संविधान घोषणा भएपछि अब यहाँ राजनीतिक संघर्ष भनेको वहुलराष्ट्रिय राज्य नेपाल चाहने तथा पुरानै जगमा प्रशासनिक संरचना गर्ने पक्ष बिच ध्रुविकृत भएको छ। पहिलो पक्षको निर्माण तथा वैचारिक प्रवर्द्धनको ऐतिहासिक दायित्व हामीले बोक्नु परेको छ। पहिलो चरणको तात्कालिक कार्यभार यहि ठहर गरिएको छ। यो कार्यभार पुरा गर्न सके थरुहट आन्दोलनको निराशालाई आशामा बदल्न सकिने ठाउँ छ। थरुहट आन्दोलनले गुणात्मक फड्को मार्न सक्ने देखिन्छ।