सरकारले थारु आन्दोलनकारीलाई वार्तामा डाक्यो

Tharu Aandolankari

सरकारले थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग आज बेलुकु वार्ता गर्ने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार थारु आन्दोलनकारी र सरकारबीच बेलुका ७ बजे प्रधानमन्त्री निवास बलुवाटारमा औपचारिक वार्ता हुँदैछ।

संघर्ष समिति र सरकारको वार्ताबारे संयुक्त संघर्ष समिति, आन्दोलन परिचाल समितिका सदस्य मीनराज चौधरीले पुष्टि गरेका छन्। उनले सरकारले बेलुसा ७ बजे वार्तामा डाकेको बताए।

समितिले बनाएको ९ सदस्यीय वार्ता टोली सरकारसँगको औपचारिक छलफलमा सहभागी हुने चौधरीले बताए। तर सरकारको पत्रबारे अहिलेसम्म कुनै जानकारी नभएको नेपाली कांग्रेसका सांसद तथा वार्ता सदस्य तेजुलाल चौधरीले बताए। ‘वार्ताको सदस्यमा मेरो नाम पनि छ। तर यसको औपचारिक खबर मैले पाएको छैन,’ चौधरीले भने।

थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहिले पनि वार्ताबारे कुनै खबर नभएको जानकारी दिए।

संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च थरुहटकी सांसद रुक्मिणी चौधरीले भने वार्ता नभएर अनौपचारिक छलफल भएको बताइन्। उनले हाम्रा एजेन्डा भन्दा पनि सरकारको एजेन्डा बुझ्न अनौपचारिक छलफलमा बस्न तयार भएको बताइन्।

यसअघि थारु आन्दोलनकारीहरुले वार्तामा बस्न अस्वीकार गर्दै आएका थिए। आफूहरुले प्रस्तुत गरेको माग सरकारले अहिलेसम्म सुनुवाइ नभएको भन्दै संयुक्त संघर्ष समितिले वार्ता अस्विकार गर्दै आएको थियो।

अर्का वार्ता सदस्य राजकुमार लेखीले आफू जिल्ला बाहिर भएकाले केही थाहा नभएको बताए। ‘मसँग आन्दोलनबारे सोध्नुस्। जिल्लाबारे सोध्नुस्। मलाई वार्ताबारे केही थाहा छैन,’ लेखीले भने।

Leave a Reply

Your email address will not be published.