केपी ‌ओली ‘आउट’, विद्या भण्डारी ‘इन’

Kp oli And Bidhya Bhandari

सर्वत्र विरोध भएपछि माघी मूल आयोजक समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री ओलीको सट्टा थारु माघी महोत्सवको उद्‍घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने माघी मूल आयोजक समितिले जनाएको छ। शनिबार राजधानीमा बसेको बैठकले राष्ट्रपति भण्डारीलाई प्रमुख अतिथिको निमन्त्रणा दिने निर्णय गरेको हो। यसअघि महोत्सवको प्रमुख अतिथि तथा उद्घाटन प्रधानमन्त्रीले गर्दै आएका थिए।

प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बनाउँदा जारी थारु आन्दोलन कमजोर हुने र थारु आन्दोलनकारीमाझ गलत म्यासेज जाने भएकाले सबैको सल्लाहमा बहिष्कार गर्ने निर्णय भएको समितिका संयोजक सत्यनारायण चौधरीले जानकारी दिए।

बैठकमा प्रमुख अतिथि कसलाई बनाउने भन्नेबारे चर्को बहस भएको थियो। थारु युवाहरुले विद्यादेवी भण्डारीलाई पनि प्रमुख अतिथि बनाउन नहुने अडान राख्दै आएका छन्। युवाहरुले थारु समुदाय आन्दोलनमा भएकाले सहिद परिवारका सदस्यबाट महोत्सवको उद्घाटन हुनुपर्ने माग राख्दै आएका छन्। यो निर्णयसँगै थारु माघी महोत्सव उद्घाटन गर्ने भण्डारी पहिलो राष्ट्रपति हुनेछिन्।

थरुहट थारुवान संयुक्त संघर्ष समितिले यसअघि नै माघीलाई आन्दोलनको रुपमा मनाउने निर्णय गरिसकेको छ। समितिले माघी महोत्सवमा सरकारका कुनै पनि मन्त्रीलाई बोलाउन नहुने तर्क राख्दै आएका छन्। समितिले थारु मन्त्री रामजनम चौधरी र विजय गच्छदारलाई पनि आन्दोलन महोत्सवमा निमन्त्रणा नदिन मूल आयोजक समितिलाई दबाब दिएको छ।

थारु कल्याणकारिणी सभाको उपत्यका समितिलगायत दुई दर्जन थारु स‌घस‌स्थाहरुले संयुक्तरुपमा मनाउने माघी महोत्सव यस वर्ष माघ १ गते दशरथ रंगशालमा हुने भएको छ।

Leave a Reply

Your email address will not be published.