कोही प्रचण्डलाई भगवान मान्ने, कोही ओलीको कमैया कमलरी बन्ने, कोही कोइरालाको चाकरी गर्ने प्रवृति जारी रहे थरुहट आन्दोलन टुक्रिने निश्चित छ। लेखीले पनि प्रचण्ड, उपेन्द्रलाई फोन गर्ने अनि गच्छदारलाई हेर्न नसक्ने हुनु हुँदैन। लेखीबिना थाकस अपूर्ण छ, त्यसैले आफ्नो घमण्ड देखाउनुभन्दा सबैलाई मिलाएर लैजान सक्नुपर्छ।
संजय थारु
टुटेफुटेको थरुहट आन्दोलन थारु बाहूल्य जिल्ला कैलालीबाट सुरु भयो, मस्यौदा र सीमाङ्कनको विरोध गर्दै। यो तेस्रो थरुहट आन्दोलन हो। यो आन्दोलनले चार महिना पार गरेको छ। भेला, विरोध सभा, गोष्ठी र बैठक निरन्तर चलिरहँदा पनि सड्कमा ध्यान नदिँदा थरुहट आन्दोलन कमजोर बनेको छ।
तेस्रो थरुहट आन्दोलनको सुरुवात थरुहट थारुवान संयुक्त संघर्ष केन्द्रीय समितिले गरेको छ। यसअन्तर्गत थारु कल्याणकारणी सभा, थरुहट संघर्ष समिति र थारु सांसद संघर्ष समिति रहेका छन्। यी तिनै समितिको संयोजकलाई केन्द्रीय आन्दोलन परिचालन समितिको संयोजक मानिएको छ। थारु कल्याणकारणी सभाको अध्यक्षले नै आन्दोलनको नेतृत्व गरेको छ। थरुहट संघर्ष समितिचाहिँ थाकसबाहेक थारु संघ संस्थाको समूह मिलेर बनेको छ। थरुहट संघर्ष समितिको तर्फबाट थारु विद्यार्थी समाजका अध्यक्ष रमेश चौधरीलाई संयोजक बनाइएको छ। त्यसैगरी थारु सांसद संघर्ष समितिको तर्फबाट संयोजक रामजनम चौधरी छन्। थारु सांसद संघर्ष समितिले ४२ जना थारु सांसदलाई समेट्न कोसिस गरेपनि असफल साबित भयो।
केन्द्रीय आन्दोलन परिचालन समितिले साउन २६ गतेदेखि मसाल जुलुस निकालेर सबै थरुहट तराई जिल्ला ३२ गतेसम्मको लागि बन्दको घोषणा गरेको थियो। तर कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा पहिले नै आन्दोलन चर्किसकेको थियो। कैलाली कञ्चनपुरलाई अखण्ड सुदूरमा र नवलपरासीलाई टुक्राएर पहाडसित जोडेर थारुलाई अल्पमतमा पारेर सीमाङ्कनको प्रस्ताव आएकाले थरुहट आन्दोलन चर्किसकेको थियो।
थरुहट आन्दोलनको प्रमुख माग सीमाङ्कन हो। थरुहट आन्दोलनले तराईमा पहाडसित नजोडेर चुरे र भित्रि उपत्यका समेटेर तीन प्रदेश हुनुपर्छ भनेका छन्। तर सरकार प्रमुख दलका प्रमुख नेताहरु आफ्नो स्वार्थ अनुकूल तराइलाई पहाडसित जोडेर थरुहट भूमिलाई टुक्राटुक्रा गरेका छन्। प्रमुख दलले ल्याएको सीमाङ्कनमा थारुको कलस्टर पूर्णरुपले तोडिएको छ। कुनै प्रदेशमा पनि थारु बहुमतमा छैन जबकि थारु यो देशको चौथो ठूलो जनसंख्या भएको जाति हो। ६ प्रदेशमध्ये थारु सबैमा अल्पमतमा छन्। यही कारणले थरुहट आन्दोलनलाई ऊर्जा दिएको छ।
थरुहट आन्दोलनको दोस्रो माग सरकारको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने हो। यो माग थारुको मात्र नभएर उत्पीडित, पिछडिएका मधेसी, आदिवासी जनजाति, दलित सबैका हुन्। सीमाङ्कनमा थरुहट आन्दोलनले फेर बदल गर्न सकेन भने आफ्नो पहिचान र अस्तित्व खतरामा पर्छ नै साथै समानुपातिक प्रतिनिधित्व जनसंख्याको आधारमा हुनुपर्ने मागको कुनै अर्थ रहँदैन। अहिलेको सीमाङ्कनले थारुको जनसंख्या हरेक प्रदेशमा दशौं स्थानभन्दा पनि बाहिर छ। समानुपातिक प्रतिनिधित्व गराएमा थारुको अधिकार झन् कटौति हुनेछ।
थरुहट आन्दोलनको तेस्रो मागचाहिँ जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नु हो। यसले हिमाल,पहाड र तराई सबै ठाउँका जनतालाई बराबर अधिकार एवं सरकारी सेवा र सुविधा प्रदान गर्नेछ। अन्य मागहरू पनि धेरै छन् तर माथिका मागहरु प्रमुख हुन्। विशेष गरेर चितवनदेखि कञ्चनपुरसम्म थरुहट प्रदेश हुनुपर्ने मुख्य नारा बोकेको आन्दोलनले पर्सादेखि धनुसासम्म एउटा प्रदेश र सिरहादेखि झापासम्म उदयपुर उपत्यकासहित अर्को प्रदेश हुनुपर्ने माग छन्।
नेतृत्वमा विवाद
थरुहट आन्दोलन घोषणा गर्नुभन्दा पहिल्यै विवादित बन्यो। थारुको सबैभन्दा पुरानो संस्था थारु कल्याणकारणी सभाले आफ्नो नेतृत्व र ब्यानरमा आन्दोलन हुनुपर्छ भनेर आन्दोलन घोषणा गर्न लागेका थिए। तर थाकसको एकलौटी एकाअधिकार अरुले स्वीकार गरेन र थारु विद्यार्थी समाजको नेतृत्वमा थरुहट संघर्ष समिति बन्यो। थाकसले आन्दोलन परिचालान समितिको संयोजक राजकुमार लेखी बनाएका थिए तर तीनवटै संघर्ष समिति एक भएपछि थाकसबाट अध्यक्ष धनिरामलाई नै संयोजक बनाइयो। विवाद पहिलो र दोस्रो थरुहट आन्दोलनमा लक्ष्मण थारु र राजकुमार लेखीले आन्दोलनकारीलाई घात गरेको ठहर बैठकले गरेर दुवै जनालाई समितिको संयोजकमा राखेन। संयोजक लेखीले नपाएपछि आन्दोलन घोषणा गर्न सहमतिमा हस्ताक्षर गर्न अध्यक्ष धनिराम चौधरीले मानिरहेका थिएनन्। बैठक कक्षबाट कहिले आदिवासी जनजाति महासङ्घ त कहिले कोसित छु भन्दै धनिराम र लेखी भाग्न खोजेको भान हुन्थ्यो। करिब १२ घण्टा बैठक बसेपछि बल्ल आन्दोलन घोषणा गरिएको थियो।
जिल्लाको आन्दोलनको दबाबले केन्द्रलाई आन्दोलन घोषणा गर्न बाध्य बनायो। आन्दोलन चलिरहँदा आफ्नै आन्दोलनको विरोध गर्दै मिडियामा शान्ता चौधरी र एमालेकै सभासद वैजनाथ चौधरी देखा परे। वैजनाथ चौधरीले स्थानीय एफएममा आन्दोलनविरुद्ध बोलेपछि आन्दोलनकारिले उनको घर जलाउने नै प्रयास गरे। दूर्भाग्य मान्नुपर्छ एमालेबाट कुनै सभासद आन्दोलनमा सहभागी भएनन्। काङ्ग्रेसबाट तेजुलाल चौधरी र सुरेन्द्र चौधरी सक्रिय भए। आन्दोलन समितिभित्र यसबाहेक थारु सङ्घ संस्था र फोरम लोकतान्त्रिक, एमाओवादीका थारु नेताहरु केन्द्रस्तरमा लागेका थिए। जिल्ला स्तरमा भने सबै पार्टीका नेताहरु सक्रिय भए। त्यसका बाबजुद पनि केही जिल्लामा थारुहरु नै थरुहट आन्दोलनविरुद्ध परिचालित भए। अझ पूर्वसभासद शान्ता चौधरीले एमालेको भातृ सङ्गठ्न थारु लोकतान्त्रिक सङ्घको आड्मा दाङ जिल्लामा थरुहट आन्दोलनविरुद्ध शान्ती र्याली निकालिन्।
अर्कोतिर थरुहट आन्दोलनकै क्रममा सबैभन्दा बढी विवाद कैलालीमा देखियो। पहाडबाट झरेका अखण्ड सुदूर र आदिवासी थारु समुदायबीच भिड्न्त हुने स्थिति देखियो। अखण्ड पक्षमा शेरबहादुर देउवा र भिम रावलजस्ता उच्च तहका नेता भएकाले थरुहट पक्षधरमा अखण्ड सुदूरवालाले प्रशासनकै मिमतोमा थारुमाथि आक्रमण गर्न थाले। धनगढीमा विशाल विरोध सभा हुँदा अखण्ड पक्षहरूले थरुहटमाथि ढुङ्गा बर्साउँदा पनि प्रहरी प्रशासन मुख दर्शक भएर हेर्थे। पटकपटक थरुहट र अखण्डबीच झडप हुन क्रम जारी थियो। यसै क्रममा कैलालीको टीकापुर काण्ड घट्यो। जसको सहारामा अखण्ड पक्षधरले सेना परिचालन र कर्फ्युको समयमा टीकापुरमा थारुको घर पसल ब्यापार छानी छानी जलाए। यही घट्नाले थरुहट आन्दोलनले नयाँ मोड लियो। एकाएक धनिराम बिलय भए। थाकसको साँच्चो राजकुमार लेखीको हातमा गयो भने संघर्ष समितिमा थाकसको भूमिका न्यून भयो। अर्कोतिर संविधान जारी भएपछि संविधानमा जारी गर्ने र नगर्ने सभासदहरुबीच विवाद बढ्यो। एमाओवादिका सभासदहरु संविधानमा पनि हस्ताक्षर गर्ने अनि संविधानमा अधिकार छैन भनेर आन्दोलन गर्न नसुहाउने भनेर अन्य थरुहट आन्दोलनकारीले कुरा उठाउन थाले। सरकारमा एमाओवादीसहित फोरम लोकतान्त्रिकका पनि थारु नेताहरु सहभागी भएपछि आन्दोलन झन कमजोर भयो।
अर्कोतर्फ मधेस आन्दोलन पनि सुरु भएको अवस्था थियो। अब थारु र मधेसी मिलेर ब्रहमाण्वादी सत्ताधारीविरुद्ध लड्नुपर्ने महसुस गर्दै थारु र मधेसी अधिकारकार्मीबीच पट्क-पट्क छलफल भएर एक अर्काको आन्दोलनमा समर्थन गर्ने पक्का भयो। औपचारिकरुपमा सहमति नभएपनि थारु र मधेसीले एक अर्कालाई सहयोग गरेर आन्दोलन शसक्त बनाए। सता पक्षधर आन्दोलन फुटाउन जोड्दारले लागिपरे। त्यस क्रममा थारु मुक्ति मोर्चा अग्रस्थानमा देखा परे। थारु मुक्ति मोर्चा एमाओवादीको भातृसङ्गठ्न हो। थारु मुक्ति मोर्चा र एमाओवादीका सभासदहरु मधेसी र थारुबीच एकता हुनुहुँदैन भनेर जोडदारले प्रस्तुत भए। आन्दोलनमा उनीहरु पछि हट्दै गए जब थारु र मधेबीच सहकार्य बढ्न थाल्यो।
थारु र मधेसी आन्दोलनबीच सहकार्य हुनुपर्छ भनेर एमाओवादीको पूर्व सभासद् सन्तोस थारु र थाकसका राजकुमार लेखीबीच दोहोरी नै चल्यो। असफल थारु सांसद संघर्ष समितिका संयोजक रामजनम चौधरी मन्त्री भएपछि थरुहट आन्दोलन अपमानित नै भयो।
आन्दोलनको वर्तमान अवस्था
धनिराम भूमिगत, रामजनम मन्त्री र रमेश चौधरीको कमजोरीले थरुहट आन्दोलन शून्यमा झारेको छ। अरु बेला एकाधिर खोज्ने थाकसले यसलाई सही मौका बनाए। असफल संयोजकहरुको कमजोरी टिपेर लेखीले थाकसको घुँडा टेकेर संयोजकको आलोचनामा ब्यस्त छन्। थाकसले नवलपरासीमा आन्दोलनको भेला गरे तर उपस्तिथिमा केन्द्रीय नेताहरु कम थिए। थाकस एक्लै हिँडेको देखियो। पूर्व-पश्चिम गरी अभियान चलाए त्यसमा पनि अरुलाई बहिस्कार गरेर लेखी आफैँ हिँडे। थरुहट आन्दोलनमा बढी बहिस्कारमा थारु युवा र विद्यार्थी परेका छन्। थाकस र सभासदहरु पटक पटक गोप्य भेला गर्थे। दाङको क्षेत्रीय भेला फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले बहिस्कार गरे।
आन्दोलन शुस्ताएको देखेर थारु एराउन्ड दी वर्ल्डले युवा स्वंयसेवक दस्ताको आवश्यकता देखे र दाङमै राष्ट्रिय भेला गर्ने निर्णय गरे। यस कार्यक्रममा सांसदहरु आउने भएपछि थाकस अर्थात् लेखीको निर्देशनमा थारु युवा सभाले कार्यक्रम बहिस्कार गर्यो। बहिष्कार गर्नुपर्छ भनेर थाकसकै सबै पदाधिकारी पनि सहमत थिएन। थारु युवा सभाका केन्द्रीय महासचिवको उपस्थितिमा थारु युवा भेलामा सहभागी हुने सहमति गरिसकेका हुँदा पनि लेखीको झोला बोकेर युवा सभाका केन्द्रीय अध्यक्ष कानुनलाल चौधरीले रातारात बहिष्कारको निर्णय गराए। टकराव मानीन्य योगेन्द्र चौधरी र राजकुमार लेखीबीच थियो तर थारु युवा भेलाले मार खेपनुपर्यो।
अहिले आएर संघर्ष समितिले मेची-महाकाली जनपरिचालन अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। दाङबाट गठित थारु युवा स्वयंसेवक दस्ताले पनि आफ्नो कार्यक्रम पूर्वी क्षेत्रमा बिस्तार गर्न पथलैयामा भेला गर्ने निर्णय गरेको छ। संघर्ष समितिले पनि युवा दस्तालाई समन्वय गरी लैजाने योजना बनाएको छ।
अबको बाटो
आन्दोलनको कार्यक्रम घोषणा गरिसक्दा थरुहट आन्दोलनमा थप एकताको अवश्यकता छ। आन्दोलनकारीहरुबीच वैचारिक मतभेद् भए पनि एक अर्कालाइ स्वीकार्नुपर्छ। योगेन्द्रलाई लेखीले, लेखीलाई दहितले, दहितलाई रुकमिणीले, रुकमिणीलाई अर्को नेताले नस्वीकार्ने हुनु हुँदैन। सबै थरुहट आन्दोलन गर्ने नेताहरु एक हुन जरुरी छ।
कोही प्रचण्डलाई भगवान मान्ने, कोही ओलिको कमैया कमलरी बन्ने, कोही कोइरालाको चाकरी गर्ने प्रवृति जारी रहे थरुहट आन्दोलन एक नभएर टुक्रिनेछ।
लेखीले पनि प्रचण्ड, उपेन्द्रलाई फोन गर्ने अनि गच्छदारलाई हेर्न नसक्ने हुनु हुँदैन। लेखीबिना थाकस अपूर्ण छ, त्यसैले आफ्नो घमण्ड देखाउनुभन्दा पनि सबै थरुहट पक्षधरले मिलाएर लैजानुपर्छ अनि मात्र आन्दोलन शसक्त बन्न सक्छ।
आन्दोलनमा युवाहरुलाई उचित स्थान, जिम्मेवारी दिएर आन्दोलनमा उल्लेखनीय सहभागीता गराउन पनि आवश्यक छ। आन्दोलनमा नैतिकता गुमाएका थारु नेतालाई कारबाही पनि गर्नुपर्छ। सबै आन्दोलन पक्षधर नेताहरुको एउटै बोली हुनुपर्छ। थरुहट आन्दोलनलाई दुई चार जना थारुको आन्दोलन भन्ने शान्ता चौधरीजस्ता अवरोधहरुलाई निराकरण गर्ने तयारी पनि गर्नुपर्छ। आन्दोलन टुट्न फुट्नबाट जोगाउन सकेमात्र हाम्रा माग पूरा गराउन सक्छौं।
अन्त्यमा थारु एकता होस्, आन्दोलनले सफलता पाउन, थारु कि जय हो।
लेखक थारु विद्यार्थी समाजसँग आबद्ध छन्।