मधेसी नेता दिल्लीमा, नेताहरुको लागि भारत सरकारको रात्रिभोज

Madhesi Morchaमधेसकेन्द्रित दलका शीर्ष नेता भारत सरकार तथा भारतीय राजनीतिक दललाई नेपालको मधेस आन्दोलनको यथार्थ जानकारी गराउने उद्देश्यले आज भारत प्रस्थान गरेका-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज बिहान ८:१५ बजे नयाँ दिल्ली प्रस्थान गरेको तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले बताए।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई-मधेस सद्‍भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव भने शनिबार नै भारत भ्रमणका लागि गइसकेका छन्। भारत सरकारको निमन्त्रणामा नयाँ दिल्ली पुगेका मधेसकेन्द्रित नेताहरु भारत सरकारका साथै विपक्षी दलका नेतासँग भेटघाट गरी बुधबार फर्किने महामन्त्री शुक्लले जानकारी दिए।

उपप्रधानमन्त्री कमल थापाको भारत भ्रमणलगत्तै मधेसकेन्द्रित नेता भारत भ्रमणमा गएका हुन्। भ्रमणका क्रममा मधेसकेन्द्रित नेताले नेपाल सरकारका तर्फबाट पराराष्ट्रमन्त्री थापाले अघोषित नाकाबन्दी खोल्ने सम्बन्धमा भारतसँग गरेको भनिएको सहमतिका बारेमा समेत जानकारी माग्ने र आफ्नो मागबारे छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ।

मधेसकेन्द्रित नेताहरुले नयाँदिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता सोनिया गान्धी, विदेशमन्त्री सुष्मा स्वराज, नेताहरु डिपी त्रिपाठी, सीताराम यचुरीलगायतसँग भेटघाट गर्ने तमलोपाका अर्का महामन्त्री जितेन्द्र सोनलले राससलाई बताए। भ्रमणका क्रममा रहँदा नेताहरुले मधेसमा करिब साढे तीन महिनादेखि जारी आन्दोलन र त्यसको समाधानका लागि सहमति जुटाउने बारेमा छलफल गर्ने बताइएको छ।

यस्तो छ दिल्लीको कार्यक्रम

प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा दिल्ली भ्रमण तय भएको मोर्चाका नेताहरुलाई ताज होटलमा बस्ने व्यवस्था मिलाइएको छ। स्रोतका अनुसार सरकारी र सार्वजनिकबाहेकका सबै बैठक ताज होटलमै बस्नेछ।

मोर्चाका नेताहरु दिल्ली पुगेसँगै भेटघाटमा व्यस्त हुनेछन्। जसअन्तर्गत मोर्चाका नेताहरुले आज अपरान्ह १२ बजे जनता दल (यु)का अध्यक्ष शरद यादवसँग भेटवार्ता गर्नेछन्। त्यसपछि दिउँसो ४ बजे विपक्षी दल कांग्रेस आइका नेता करण सिंहसँग भेटवार्ता हुने बताइएको छ। स्रोतका अनुसार सिंहसँगको वार्तामा तराई मधेसमा जारी आन्दोलन र नाकाबन्दीबारे छलफल हुनेछ।

त्यसपछि मोर्चाका नेताहरु ५:३० बजे राकपाका नेता डीपी त्रिपाठीसँग भेटवार्ता गर्नेछन्। त्रिपाठीसँगको भेटवार्तापछि मोर्चाका नेताहरु भारतीय विदेशमन्त्री सुश्मा स्वाराजसँग भेटवार्ता गर्नेछन्। ७:३० बजे हुने भनिएको वार्तमा मोर्चाका नेताहरुले आन्दोलनको ब्रिफिङ गर्ने स्रोतले बतायो।

स्वराजसँगको भेटवार्तापछि भारत सरकारले आयोजना गरेको रात्रिभोजमा मोर्चाका नेताहरु सहभागी हुने बताइएको छ। दिल्ली स्रोतका अनुसार मोर्चाका नेताहरुलाई सम्मानका लागि रात्रिभोज आयोजना गरिएको हो।

Leave a Reply

Your email address will not be published.