उपेन्द्र यादव नमान्दा मोर्चा भाँडियो

upendra_yadav_20141013083715

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेपछि संविधानसभाभित्र र बाहिर रहेका तराई–मधेसकेन्द्रित दलबीच बनाउने भनिएको वृहत्तर मधेसी मोर्चा गठन नहुने भएको छ। प्रमुख दलबीच भएको १६ बुँदे सहमतिप्रति असन्तुष्ट तराई–मधेसकेन्द्रित दलबीच बृहत्तर मोर्चा बनाएर आन्दोलनमा जाने बारे छलफल भए पनि यादवका कारण प्रयास तुहिएको हो। यद्यपि मधेसी दलको बैठकले आन्दोलनका कार्यक्रम भने तय गरेको छ।

‘प्रमुख दलबीच १६ बुँदे सहमतिलाई परिमार्जन गर्नका लागि दबाब दिने र संविधान मस्यौदामा मधेसको एजेन्डा स्थापित गराउन बृहत्तर आन्दोलनका लागि संघर्ष समिति बनाउने कुरा थियो,’ तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले  भने, ‘उपेन्द्रजीले नमान्दा त्यो तत्कालका लागि सम्भव भएन, बिडम्वना बृहत्तर मोर्चा गठन हुन सकेन।’ उनका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतो सकारात्मक भए पनि यादव विपक्षमा उभिएकाले तत्कालका लागि त्यो सम्भव हुन सकेन।

१६ बुँदे सहमतिप्रति असन्तुष्ट रहँदै आएका संविधानसभाभित्रका संघीय फोरम, तमलोपा, सद्भावना र तराई मधेस सद्भावना पार्टीसहित सोभन्दा बाहिर रहेका गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियान र मातृका यादव नेतृत्वको नेकपा माओवादीलगायत दललाई समेत समेटेर बृहत्तर मोर्चा बनाउने प्रयास भएको थियो। बृहत्तर मोर्चा बनाउनका लागि राजनीतिक दलका नेता मात्रै होइन, नागरिक समाजका अगुवा विजयकान्त कर्ण, तुलानारायण साह र दीपेन्द्र झाले पनि जोड गरेका थिए।

निकै प्रयास भए पनि उपेन्द्रले स्वीकार गर्न नसक्दा तमलोपा अध्यक्ष ठाकुर पछि हट्न बाध्य भए। ‘व्यक्तिगत रूपमा म र मेरो पार्टी बृहत्तर मोर्चाप्रति सकारात्मक नै छौं,’ ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर उपेन्द्रजीले अस्वीकार गर्दागर्दै अघि बढ्ने अवस्था छैन किनभने अहिले हामी चार दल संयुक्त संघर्षमा छौँ।’ संविधानसभाभित्र संघर्ष गरिरहेको अवस्थामा वृहत्तर मोर्चाका नाममा उपेन्द्रलाई चिढ्याउने पक्षमा आफू नरहेको ठाकुरको भनाइ छ।

महतोले त संविधानसभा परित्याग गरी तराई–मधेसमा आन्दोलनका लागि संयुक्त रूपमा जान बैठकमा प्रस्ताव नै गरेका छन्। तर, महतोको सो प्रस्तावमा अन्य दल सहमत छैनन्। तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि वृहत्तर मोर्चा निमार्णको पक्षमा छन्।

‘तत्काल वृहत्तर मोर्चा बनाउने विपक्षमा उभिए पनि उपेन्द्रले १६ बुँदे सहमति र संविधानका प्रारम्भिक मस्यौदाप्रति विरोध जनाउनका लागि तीन चरणका आन्दोलनमा जोड गरेका छन्,’ स्रोतले भन्यो। पहिलो चरणमा, संविधानसभाभित्रै संघर्ष गर्ने, दोस्रो चरणमा चार मधेसी दलको नेतृत्वमा सडक आन्दोलन गर्ने र त्यसमार्फत केही हुन नसकेको खण्डमा मात्र सडकमा रहेका तराई–मधेसका साना शक्तिलाई पनि समेटेर वृहत्तर मधेसी मोर्चा बनाउनुपर्ने यादवको जोड देखिएको छ।

यसैबीच बुधबार साँझ बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध संविधानसभाभित्रका चार दलले आन्दोलनको कार्यक्रम तय गरेका छन्।

जसअनुसार असार २४ गते संविधानसभामा नाराबाजी, असार २६ मा चार दलको जिल्लास्तरीय संयुक्त बैठक, असार २७ गते सार्वजनिक स्थलमा कालो झन्डा गाड्ने र असार २९ गते प्लेकार्डसहित काठमाडौंमा वृहत प्रदर्शन गर्ने कार्यक्रम छ।

यसैगरी, साउन १ गते जिल्ला सदरमुकाममा प्रदर्शन र २ र ३ गते निर्वाचन क्षेत्रस्तरीय विरोध प्रदर्शनका कार्यक्रम पनि तय भएको छ। ‘तराईका चार प्रमुख सहरमा विरोधसभा गर्ने निर्णय पनि बैठकले गरेको छ,’ सहभागी एक सदस्यले भने। उनका अनुसार साउन ५ मा विराटनगर, ६ गते जनकपुर, ७ गते वीरगन्ज र ८ गते भैरहवामा विरोध प्रदर्शन आयोजना गरिनेछ।

Leave a Reply

Your email address will not be published.