परिवर्तन हेर्न खोज्नेहरुलाई
उस्ले भन्ने गर्दथ्यो,
‘कहिले यो बोल्या छौ त कहिले त्यो,
बदलाव बोलेर मात्र आउँछ?’
उसको एउटा सपना थियो
आफ्नै देशमा आफ्नो समुदायले पनि
विकास र अधिकारको साँस फेरेको
हेर्न चाहन्थ्यो ऊ।
त्यै भएर ऊ कराउँथ्यो र सबैलाई भन्थ्यो,
‘ठीक छ! पहिचान मागेका छौ,
तर न्यानो सिरकमुनि बसेर
नानाथरी, राम्रो पनि मात्र लेखेका छौं।
अरुले हाम्रो अस्तित्व मेटाउन खोजिरहँदा
चित्त दुःखेको छ पनि भन्छौ
तर विडम्बना! दूर देशमा छौ, देशैमा भए पनि धेरैले
तर मात्र बोलेका छौ।
एउटा मुख छ, कति बोल्छौ?
के परिवर्तन बोलेर मात्र आउँछ?
खुब मिहिनेत गरेको जस्तो गर्थ्यो ऊ।
नेताहरुलाई तीतो शब्दले सम्झिन्थ्यो,
समाजिक संस्थाका पदाधिकारीहरुलाई,
उसले सम्झाउने गर्दथ्यो।
तर पनि उस्को समुदाय रोइ नै रह्यो।
उ सम्झाइ रह्यो, अरु चाहिँ बोलि रह्यो
बगिरहेको आँशु पुछ्न हात भने कसैले बढाएन,
परिश्रम, पैसा र पसिना कसैले पनि बगाएन!
‘समुदाय उभो लगाउने कसले,
पहिचान अनि आफूले चाहेको परिवर्तन पाइन्छ र बोलिले?’