आँटिला थारु युवतीहरु

दुर्गालाल केसी, दाङ- २०६६ सालसम्म बैजापुर-१ नवलपुर बाँकेकी दिलकुमारी चौधरीको जीवन अत्यन्त कष्टप्रद थियो । अर्काको घरमा काम गर्थिन्, कोलियामा सुत्थिन्, गएगुज्रेको खाना खान्थिन् । राती टाढा पुगेर मालिमका लागि रक्सी किनेर ल्याइदिनुपथ्र्यो । उसका हातखुट्टा मालिस गरिदिनुपथ्र्यो ।

अधिया जग्गा पाए वापत उनी नौ बर्षको उमेरमा कमलरी गएकी थिइन् । ‘जग्गा उपभोग गर्न पाएवापत काम गर्न गएकाले पैंसा पाइदैनथ्यो,’ उनले भनिन्, ‘म सानो भए पनि कठिन कामहरु गर्नुपथ्र्यो । मप्रति मालिक मालिक्नीको कुनै सहानुभूती हुँदैनथ्यो ।’ नेपालगञ्जमा तीन वर्ष कमलरी बस्दा उनले निकै यातना भोगिन् । ‘एक दिन भागेर घर आएँ तर मलाई झन् टाढा काठमाडौं पो पठाइदिए,’ उनले भनिन्, ‘काठमाडौंमा पनि तीन बर्ष बिताएँ । पढ्ने रहर भएकाले काम गर्दै पढें । कापी कलम हुँदैनथ्यो । मालिकका छोराछोरीले लेखेका कापी मेटेर लेख्थें ।’

कमलरी मुक्त भएपछि भने उनको जीवनको रंग बदलिएको छ । अब उनलाई कापी कलमका लागि रुनु पर्दैन, खानलाउनका लागि कसैलाई माग्नुपर्दैन । आफै सक्षम भएकी छन् । समाजकी अगुवा छिन् । परिवारलाई मालिकको जग्गा अधिया लगाउनुपरेको छैन । घरमा फर्केपछि ६६ प्रतिशत अंक ल्याइ एसएलसी उतिर्ण गरिन् । एकबाट चार र चारबाट सात कक्षामा ‘जम्प’ गर्दै उनले पढाइ अघि बढाएकी थिइन् । अहिले व्यवस्थापन संकायमा १२ कक्षा पढिसकेकी छिन् ।

दिलकुमारीले पढाइसँगै कमलरी मुक्ती आन्दोलनको अगुवाइ गरेकी छन् । उनी दुई कार्यकाल मुक्त कमलरी विकास मञ्च बाँकेको जिल्ला अध्यक्ष भइन् । उनले आयआर्जनका काममा पनि अगुवाइ गरिरहेकी छिन् । मुक्त कमलरी लक्षित नेपालगञ्जमा ‘लावाजुनी ट्रेनिङ सेन्टर’ चलाइरहेकी छन् । सेन्टरमा सिलाइकटाइ तथा गार्मेन्टको तालिम सञ्चालन हुन्छ । ‘२० जनाले यहाँबाट गार्मेन्टको तालिम लिएर काठमाडौंमा जागिर खाइरहेका छन्,’ उनले भनिन्, ‘मुक्त कमलरीका साथै विपन्न बर्गका किशोरी पनि तालिम लिन आइरहेका छन् ।’

kamalari girl

उनले घरमा बंगुरपालन र किराना पसल पनि थापेकी छन् । घरको व्यवसाय आमा र कान्छी बहिनीले धानिरहेका छन् । बुवा डकर्मी काम गर्छन् । बहिनी आठ कक्षा र भाइ स्नातक अध्ययन गर्दैछन् । सबैको पढाइ खर्च दिलकुमारीले नै व्यहोरेकी छिन् । ‘आयआर्जन नै मुख्य कुरा रहेछ । आर्थिक अभावले अरुको जग्गा जोत्नुपर्‍यो । त्यही कारण बाल्यकालमा कमलरी बस्नुपर्‍यो,’ उनले भनिन्, ‘पहिले आयआर्जनको केही स्राेत थिएन । अहिले सबैले मेहनत गरेर तीन कट्ठा जमिन किनेका छौं । भबिस्यमा पनि व्यवसाय नै गर्ने योजना छ । त्यसैले व्यवस्थापन पढिरहेकी छु ।’

बाल्यकाल दासतामा बिताए पनि मुक्तीपछि छोटो समयमै नेतृत्व विकास गरेर आँटिला काम गर्ने युवती धेरै छन् । यस्तै अर्की युवती हुन् नारायणपुर-५ डाँराबोझी कैलालीकी सुजाता चौधरी । २०६८ सालमा कैलालीमा मुक्त कमलरी विकास मञ्चको नयाँ नेतृत्व चयन गर्नुपर्ने भयो । अध्यक्षका प्रत्याशी धेरै भएपछि निर्वाचन नै गर्नुपर्‍यो । निर्वाचनमा सुजाता चुनिइन् । जिल्ला अध्यक्ष चुनिएपछि उनलाई मञ्च चलाउन दिनहुँ धनगढी जानुपर्ने भयो । नेता भैसकेपछि घरको काम नगरेको भनेर परिवारमा गाली खान थालिन् ।

‘बेलुका घर र्फकदा घरको काम गरेकी छैनेस् खान पाउँदैनेस् भन्थे । अफिस जाने भाडा पनि दिदैनथे,’ सुजाताले भनिन्, ‘रुँदै रुँदै अफिस जान्थें । साथीहरुबाट सापटी लिएर खर्च चलाएँ । यसैगरी तीन बर्षको कार्यकाल पूरा गरें ।’ अनेक चुनौतीका बीच पनि उनले ३ हजार १ सय ६४ मुक्त कमलरीको नेतृत्व गरेर कमलरी आन्दोलन अघि बढाइन् । मुक्त कमलरीको शिक्षा, पुनस्र्थापना र छात्रबृत्तीका लागि जिल्लादेखि राजधानीसम्म पुगिन् । निकै लामो प्रयासपछि परिवारको धारणा पनि बदलियो । ‘अहिले परिवारमा पनि राम्राे सहयोग छ । कमलरीको आन्दोलनमा जाँदा सबैले हौसला दिन्छन्,’ उनले भनिन्, ‘गाउँमा पनि सबैले सम्मान गर्छन् । समस्या पर्दा समाधानका लागि अनुरोध गर्छन् । मैले सक्दो सहयोग गर्छु ।’

समाजशास्त्रमा बिएड् अध्ययनरत सुजाता नेपाल युथ फाउण्डेशनको परियोजना सहायक भएर काम गरिरहेकी छन् । मञ्चको केन्द्रीय उपाध्यक्षसमेत छिन् । बाल्यकाल कमलरी बसेर बिताएकी उनलाई केन्द्रीय तहको नेतृत्वसम्म पुग्न त्यती सहज थिएन । ‘धेरैले यसले नेतृत्व गर्न सक्दैने भन्थे । मलाई पनि शुरुमा शुरुमा जिम्मेवारी पाउँदा अप्ठेरो लागेको थियो,’ उनले भनिन्, ‘काम गर्दै जाँदा आत्मबल बढ्यो ।’

सुजाताको परिवारले ५ बिघा जमिन अधिया कमाउँथ्यो । त्यही कारण उनले कमलरी बस्नुपर्‍यो । कमलरी बसेकै समयमा उनले ९ कक्षासम्म पढि्न । ‘हप्तामा एक दुई दिन बिद्यालय जान पाउँथें, काम सकेर समय मिलाउँदै पढ्दै गर्थें,’ उनले भनिन्, ‘९ कक्षा पढ्दा मुक्त भएँ । कमलरी बस्न छोडेपछि मालिकले जग्गा अधिया दिन छोडे ।’ तर दिन फेरिए, सुजाता जागिरे भइन् । दाजु ओमप्रकाश सहकारीबाट ऋण लिएर मोबाइल पसल गरिरहेका छन् । आयआर्जनका स्राेत बढेका छन् । ‘पहिले धेरै मानिसहरुसामु बोल्न पनि सकिँदैनथ्यो, अहिले आन्दोलनकै नेतृत्व गर्न सकिन्छ,’ उनले भनिन्, ‘कमलरी बसिरहेको भए यो अबस्था हुने थिएन । भबिस्यमा पनि बालबालिकाकै क्षेत्रमा काम गर्ने बिचार छ ।’

अर्की आँटिली युवती हुन् बनियाभार-१ जमुनिया बर्दियाकी १८ बषिर्या सुमा थारु । २०६८ फागुनमा उनको चर्चा एकाएक चुलियो । विश्व नारी दिवसका अवसरमा नेपाली बालिकाहरुका तर्फबाट अमेरिका गएर थारु भाषाको गीत गाउने अवसर पाएपछि सर्वत्र उनको चर्चा चल्यो । नेपाली थारु बालिकाहरुको पीडा समेटिएको गीत अमेरीकामा गाएर उनले देशको प्रतिनिधित्व गरिन् । बर्दिया र नेपालगञ्ज गरी ६ बर्ष कमलरी बसेकी सुमाले आफूले कमलरी बस्दा भोगेको पिडालाई गीतमा प्रस्तुत गरेकी थिइन् ।

अर्काको घरमा बन्धक बनाउन छोरीलाई किन जन्म दिएको भनेर बाआमाप्रति गुनाशो गरिएको गीत उनी आफैले रचना गरेकी थिइन् । अमेरिकामा पठाउने बालिका छनौट गर्न बर्दिया पुगेको टोलीले धेरै बालिकाहरुबीचबाट उनलाई छानेको थियो ।

अमेरिका जाने कुरा सुनेपछि बुवा हरिराम र आमा चैती अचम्म परे । पहिले पिट्दै काममा पठाउने बुवा स्तब्ध भए । ‘बुवाले बिगत सम्झेर नराम्रो महशुस गर्नुभयो । छोरीलाई दुःख दिइएछ भन्नुभयो,’ उनले भनिन्, ‘६/७ बर्षको उमेरमा कमलरी बसियो । दिदीहरु पनि कमलरी जान्थे । हामी पनि जानैपर्छ होला जस्तो लाग्थ्यो । नजाने भन्दा घरमा कुटाइ खाइन्थ्यो ।’ उनको बुवाको आफ्नो जग्गा थिएन । अहिले पनि अधिया कमाउँछन् । दाइ दिदी कसैले पनि पढ्न पाएका थिएनन् । उनले पनि कमलरीबाट मुक्त भएपछि मात्र पढ्ने अवसर पाइन् । अहिले दाङको लालमटियास्थित राप्ती प्राबिधिक शिक्षालयमा २९ महिने सिएमए अध्ययन गरिरहेकी छन् । पढाइ सकेर सामाजिक क्षेत्रमा काम गर्ने उनको इच्छा छ । आफ्नो नाम चलेपछि गाउँघरमा छोरीलाई पढाउनुपर्छ भन्ने भावना विकास भएको उनको अनुभव छ ।

कृष्णा चौधरीको घर छैन । न बाआमा छन् न आफन्त नै । ६ बर्षको हुँदा बुवा सुधिरामको मृत्यु भयो, त्यति नै बेला आमाले पनि छाडेर गइन् । एक्लै भएको थाहा पाउँदा उनी बर्दियाको ठाकुरद्वारास्थित एक जमिन्दारको घरमा थिइन् । ‘पछि सुनेको हाम्रो घर थिएन रे, जग्गा थिएन रे,’ उनले भनिन्, ‘ठाकुरद्वारा सूर्यपटुवामा बाआमा कमैया बस्नुभएको रहेछ । हामी सबै जमिन्दारको घरमा कमैया बसेका थियौं ।’

पछि उनलाई कमलरी बस्न काठमाडौ पठाइयो । दुई बर्षपछि कञ्चनपुर ल्याइयो । कञ्चनपुरमा एक घरमा ८ बर्ष र अर्को घरमा ३ बर्ष गरी ११ बर्ष कमलरी बसिन् । २०६६ सालमा मुक्त भइन् । त्यती बेला उनी १६ बर्षकी थिइन् । ‘तर कहाँ जाने ? न घर अ बाआमा,’ उनले ती दिन सम्झिइन्, ‘म जस्तै अलपत्र कमलरीका लागि छात्रावास रहेछ । त्यसैमा बसें अनि बाँकी जीवन शुरु गरें ।’

कञ्चनपुरको भिमदत्त नगरपालिका-१२ स्थित पूणर्ा उच्च माविमा रहेको उक्त छात्रावासमा बस्दै आएकी कृष्णाको सबै संसार नै त्यही हो । छात्रावासमा आएर उनले सुरुमा प्रौढ शिक्षा लिइन् र एकैपटक ६ कक्षामा भर्ना भइन् । उनी बिद्यालय व्यवस्थापन समितिकी सदस्य, रेडक्रसकी अध्यक्ष, मुक्त कमलरी बिद्यार्थी युनियनकी अध्यक्ष जस्ता भूमिकामा सक्रिय रहिन् । कमलरी प्रथाबिरुद्ध चेतना जगाउने काम थालिन् । उनी बजारमा ‘माइकिङ’ गर्दै हिँड्थिन् । कहिलेकाहीँ पहिले कमलरी बसेको घरका मालिक भेटिन्थे, अनि प्रगती गरिछस् भनेर बधाइ दिन्थे ।

अहिले कृष्णा कञ्चनपुरमा हुने कतिपय सार्वजनिक कार्यक्रममा  अतिथिका रुपमा सहभागी हुन्छिन् । ‘कतिपय कार्यक्रममा पहिलेका मालिक र म सँगै अतिथि भएका हुन्छौं । कहिलेकाहीं मालिकको घरमा आउने गरेका पाहुनाहरु भेटिन्छन्,’ उनले भनिन्, ‘हिजो नोकर्नी थिई, आज त नेता भैसकीछे भन्छन् ।’ उनी आफ्नो जस्तै विगत भएकाहरूलाई परामर्श दिन्छिन् । ‘कमलरी बस्दा भोगेका दुःख पीडा सम्झेर कतिपय बहिनीहरु मानसिकरुपमा बिक्षिप्त हुन्छन् । उनीहरुलाई सही परामर्श र मार्गदर्शनको आबश्यकता हुन्छ,’ उनले भनिन् । दश कक्षामा अध्ययनरत कृष्णा छात्रावासकी पनि टीम लिडर हुन् ।

कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *