ज्यान बचाइदिनेलाई ‘मन दिँदै’ मोतिपुरका बाढी विस्थापित

badhipidit1

दाङ- उनीहरुसँग केही छैन। न ओत लाग्ने छानो, न भरपेट दुईछाक खाने मानो। न खेतबाली, न भकारी। न सरकारी राहतै। साउन २९ को बबई नदीको बाढीले सबै सोहोरेर नांगेझार पारिदिए पनि मन भने लैजान सकेन। उरहरी–६, मोतिपुरका विस्थापित ५९ परिवार अहिले त्यही मन बाँडेर ज्यानको बाजी लगाउँदै जीवन बचाइदिने स्थानीयलाई ‘ऋण’ तिरिरहेछन्।

… … …
मध्यरातको समय, मस्त निन्द्रा। दिनरातको वर्षाले उर्लिएको छेवैको बबई नदी घरै सोहोर्ने गरी बस्ती छिर्योइ। ‘गुहार–गुहार’ कोलाहल र चित्कारले गाउँ नै रन्कियो। झल्याँस्स ब्युँतँदा आफू सुतेको घर आधा डुबिसकेको रहेछ। धन्न! गाउँलेले ज्यानको बाजी लगाएर उनीहरुलाई बाढीबाट निकाले। प्रयास गर्दागर्दै केहीको मात्र ज्यान बच्न सकेन।
साउन अन्तिमको बबई बाढीबाट जोगाउने गाउँलेको गुण बाढीपीडितले कसरी बिर्सन सक्छन् र? उरहरी–६, मोतिपुरका बाढीपीडित अहिले त्यही गुणको ‘ऋण’ तिर्न संगठित भएर जुटिरहेका छन्।
‘हामीलाई बाढीबाट जोगाएर गाउँलेले ठूलो गुण लगाउनुभयो,’ बाढीपीडितका अगुवा धनवीर चौधरी भन्छन्, ‘त्यो गुण तिर्न उहाँहरुको काममा सघाउन थालेका हौं।’
अचेल बाढीपीडितहरु छिमेकीका खेत–खेतमा भेटिन्छन्। छिमेकीलाई सघाउन उनीहरु दिनहुँ जुटिरहेका छन्। ‘धान काट्न सघाइरहेका छौं,’ अर्का पीडित जागुराम चौधरी भन्छन्, ‘सबै मिलेर धान काट्दा धेरै सजिलो भएको छ।’
बाढीपीडितले एक/एक घन्टा पालैपालो छिमेकीलाई धान काट्न सहयोग गरिरहेको उनले बताए। एउटा छिमेकीको खेतमा एक घन्टा धान काटेपछि उनीहरु अर्को छिमेकीको खेतमा पुग्छन् र एक घन्टा सघाउँछन्।

badhipidit2
मोतिपुरका बाढीपीडित ‘बाढीपीडित व्यवस्थापन समिति’ नै गठन गरेर सामूहिक कार्यमा जुटेका हुन्। छिमेकमा आइपर्ने समस्यामा हातेमालो गर्दै आएका उनीहरु काम गरिदिएबापत पैसा लिँदैनन्।
‘हामीले मजदुरी होइन, सहयोग गरेका हौं,’ समितिका अध्यक्षसमेत रहेका धनवीर भन्छन्, ‘सहयोग गरेको के पैसा लिनू?’
सघाउने समय र व्यक्तिको तय समितिले नै गर्छ। त्यसका लागि नियम बनाइएको छ। एक–एक घन्टा धान काट्न सघाउने पनि समितिकै नियम हो। छिमेकीलाई गुण तिर्दा आफ्नो पीडासमेत भुल्न सजिलो भएको उनीहरुको अनुभव छ।
धनवीरसँग अहिले केही छैन। भएको सम्पत्ति साउन २९ गते रातिको बाढीले लग्यो। बाससँगै साँझ–बिहानको छाकको चिन्ताले पीडितलाई दिनहुँ सताइरहन्छ। तैपनि उनीहरु आफ्नो समस्यालाई मात्र महŒव दिँदैनन्। गाउँघरमा आइपर्ने हरेक समस्यामा उनी अग्रसर हुन्छन्।
गाउँमा कसैलाई समस्या परेको खबर सुन्नासाथ पीडितहरुको हुल नै घर–घर पुग्छ। सबै मिलेर काम फत्ते पारिदिन्छन् र ‘केही पर्योर भने खबर गर्नुहोला’ भन्दै फर्कन्छन्।
‘गाउँसमाज सधैं चाहिने रहेछ,’ धनवीर सुनाउँछन्, ‘हाम्रो पीडामा यही समाज मलम बन्यो, अब हामी पनि समाजको घाउमा मलम बन्नुपर्छ।’
गाउँमा कसैको भोजभतेर भयो भने पीडितहरु पात टिप्न, दाउरा लिन जंगल पुग्छन्। उनीहरु बस्ती सफासुग्घर राख्न दिनहुँ सरसफाइ गर्छन्।
एउटै कामका लागि एकै थलोमा जम्मा हुँदा सम्बन्ध पनि नजिकिएको छ। त्यसले पीडा कम गराएको उनीहरु सुनाउँछन्। ‘सबै मिलेर सुखदुःखका कुरा सुनाउँछम्,’ अर्का स्थानीय गोपीलाल चौधरी भन्छन्, ‘मन हल्का हुन्छ, पीडा भुल्न निकै सजिलो भएको छ।’
पीडितको सहयोग र सामाजिक कार्यले मोतिपुरबासी पनि हर्षित छन्। कुनै अप्ठेरो पर्दा सामूहिक सहयोग मिल्ने कारण पीडितहरुको अभियान प्रति स्थानीय नोखीराम बस्नेतले खुशी व्यक्त गरे।
‘पीडितहरुले सामाजिक काम गरेर सहयोगीको भूमिका खेलेका छन्,’ उनले भने, ‘गाउँ–समाजमा हुने सबै समस्यालाई आफ्नै ठानेर फत्ते गरिदिन्छन्।’
मोतिपुरमा साउन अन्तिमको बाढीबाट ५९ परिवार विस्थापित छन्। समितिमा सबै आबद्ध छन्। समितिमार्फत पीडितहरुले बस्तीमा बाढीले क्षति पुर्या एका भौतिक संरचना मर्मतसमेत गर्दै आएका छन्।

badhipidit

बाढीपीडितकै राहत कोष
सरकारले बाढीपीडितका लागि प्रधानमन्त्री अध्यक्षतामा राहत कोष खडा गर्योग। त्यो कोषमा जम्मा भएको रकम ‘अर्ब’ पुगेको छ। जिल्ला तहमा दैवीप्रकोप उद्धार कोष खडा भयो। जिल्ला प्रशासन कार्यालयमार्फत खडा गरिएको यो कोष पनि करोड हाराहारीको छ।
यहाँका बाढीपीडित भने घर न घाटकै अवस्थामा छन्। न केन्द्रको राहत आइपुग्यो, न जिल्ला।
लामो समयसम्म सरकारी राहतको आस गर्दा थाकेका पीडितहरु अहिले आफैं राहत कोष खडा गरेर विपद नियन्त्रणको अभियानमा जुटेका छन्। उरहरी, मोतिपुरका बाढीपीडितले राहत कोष खडा गरेर अहिलेसम्म १ लाख २० हजार रुपैयाँ जम्मा गरिसकेका छन्। विभिन्न संघसंस्थाले दिएको नगद उनीहरु सुरुमै कोषलाक्ष्ए छुट्ट्याउँछन्। तिहारमा भैलो खेलेर पनि कोषलाई केही उक्साएका छन्।
विभिन्न दाताले दिएको ७० हजार नगद र तिहारमा भैलो खेलेको पैसा कोषमा जम्मा गरेको यज्ञबहादुर केसी बताउँछन्। उनका अनुसार उक्त कोषबाट बाढीपीडितलाई कुनै समस्या आइलागे निर्ब्याजी ऋण दिइन्छ। ‘हामीलाई सरकारले हेरेन,’ केसीले भने, ‘अब सरकारको भर पर्नुभन्दा आफ्नालागि आफैं मिलेर कोष खडा गरेका हौं।’
कोषले पीडितको दैनिकीमा ठूलो राहत दिएको उनीहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *