लोकप्रियता बढाउँदै सामाचकेवा

santosh pic 2

छठदेखि कात्तिक पूर्णिमासम्म चल्ने सामाचकेवा पर्व मिथिलाक्षेत्रमा सुरु भएको छ। अहिले ग्रामीण क्षेत्रमा जताततै सामाचकेवा गीत घन्किरहेको सुन्न सकिन्छ। भाइबहिनीबीचको प्रेम दर्साउने यस पर्वको महत्व पछिल्ला दिन झनै बढ्दै गएको गौरीशंकर गाविसका रामशरण महतो बताउँछन्। ‘अहिले स्थानीय एफएम रेडियोले प्राथमिकतासाथ सामाचाचकेवा गीत बजाउन थालेका छन्,’ उनले भने, ‘त्यसैले लोकप्रियता पनि बढ्दै छ।’
दिनमा माटोबाट तयार पारिएका आकृति घाममा सुकाई राति डाला (ढक्की) मा राखेर बत्ती बाली साथीहरूसँग मिलेर गीत गाउँदै पर्व मनाउने परम्परा छ। मिथिला क्षेत्रका महिला आ–आफ्ना डाला एक ठाउँ राखी वृत्ताकारमा बस्छन् र गीत गाउँदै डालालाई दाहिने हातले बढाउँदै बायाँ हातले आफूतिर तान्छन्।
वास्तविक नाम श्यामाचकेवा रहे पनि लोकभाषामा यसलाई सामाचकेवा भनिन्छ। सामा स्त्रीपात्र र चकेवा पुरुषपात्र हुन्। दुइटैलाई चराका रूपमा माटोको आकृति बनाइएको हुन्छ। सामाचकेवा खेलमा पतिपत्नीबीच चुक्ली लगाउने चुगला पात्रको जुँगाको प्रतीक सनलाई डढाउने गरिन्छ। सबै बहिनी मिलेर आगो लगाउँदै चुगलालाई घृणा गरिएको गीत गाउँछन्।
धान, धान, धान, भइया कोठी धान , चुगला कोठी भुस्सा।
भइया मुख पान, चुगला मुख कोइला,चाउर–चाउर–चाउर,
भैया कोठी चाउर चुगला कोठी छाउर…।
अर्थात्, दाजुको भकारीमा धान छ भने चुगलाको भकारीमा भुस भरिएको छ। दाजुको मुखमा पान छ भने चुगलाको मुखमा कोइला। दाजुको कोठीमा चामल भरेको छ तर चुगलाको कोठीमा खरानी। सामाचकेवा पर्वलाई अर्को वर्षका लागि निमन्त्रणा पनि गरिन्छ।
सामचको, सामचको अविहहे, अविह हे।
कुड खेतमे बैसिह हे बैसिह हे।
अन्त्यतिर वृन्दावनको प्रतीक राडीखरबाट बनाइएको आकृतिमा आगो लगाइन्छ। त्यसलाई महिलाले आफ्नै हातले निभाएर दैनिक खेलिने सामाचकेवा मध्यराति समाप्त हुन्छ। पूर्णिमाका दिन दिदीबहिनी दाजुभाइलाई निमन्त्रणा गर्छन्। दाजुभाइले घुँडामा राखरे सबै मूर्ति तोड्छन्। ती मूर्तिलाई जोतेको खेत र जलाशयमा विसर्जन गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई च्युरा, दही, सख्खरलगायत मिष्टान्न भोजन गराउने चलन छ। पूर्णिमाकै दिन सामाचकेवा सम्पन्न हुन्छ।

सन्तोषकुमार सिंह/नागरिक दैनिक

2 thoughts on “लोकप्रियता बढाउँदै सामाचकेवा

  1. अर्काको रितीरिवाज नक्कल गर्नु राम्रो होइन। नक्कल पनि यस्तो गर्नु पर्छ कि हुबहु मौलिकता जस्तो होस्। समाचखेवा खासमा थारू जाति वा थारु समुदायले मनाउने पर्व हो। थारुहरुले आफ्नै हस्तकला बाट बनाएका ढकी, ढकिया, दौरा, धमनी, सुपा (सुपालाई नेपालीमा नाङलो भनिन्छ) मा समासामिन (माटोबाट बनेका चरित्रहरु जस्तो चरा, जनावर, मान्छे) लाई राख्छन्। राति सामासामिन खेल्न जाने समयमा ढकीया/धमनीको कुनै भागमा एउटा ठूलो दीयो बाल्छन् । तर मिथिला र मधेसी समुदायले मनाउने समाचखेवा चै डुमले बाँसबाट बनाएको ढकियामा राख्छन् र दीयोको साटो मट्टीतेल भएको टुकी (टुकीलाई मधेसीहरुले डिबिया भन्छन्) बाल्छन्। साथै मिथिला र मधेस समुदायले बनाउने समाचखेवामा त्यति आकर्षक साजसजावट गरिएको पाइदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *