हरेक कलाकारको ड्रिम रोल हुन्छजस्तो लाग्छ । मेरो पनि छ । त्यो यतिबेला केही हदसम्म हेनरी इब्सनको नाटक ‘हेड्डा ग्याब्लर’ ले पूरा गर्छ की जस्तो लागेको छ । अहिले रिहर्सल चलिरहेको उक्त नाटकमा म नै हेड्डाको क्यारेक्टरमा छु । जो केटी केटाहरूमाथि प्रभुत्व जमाउन चाहन्छे । समाजमा शक्ति जमाउन चाहन्छे । लेडी ह्याम्लेट जस्तै भन्दा हुन्छ । पेस्तोल चलाउँछे । जे होस्, खुलेर काम गर्न चाहने उक्त चरित्रले धेरै हदसम्म मेरो ड्रिम रोललाई बोकेको छ ।
पहिले ‘एल्ममूनिको तिर्खा’ गर्दा पनि केही हदसम्म ड्रिम रोलको प्यास बुझेको थियो । त्यसमा पनि सम्पत्तिको लागि एक बुढोसँग बिहे गरेर उसको कान्छो छोरासँग सम्बन्ध राख्ने युवतीको भुमिकामा थिएँ । त्यसमा पनि उक्त चरित्र बाबु र छोरामाथि प्रभुत्व जमाउने हुन्छे । अहिलेसम्मको सम्झनालायक रोल पनि मलाई यही हो । तर त्यसमा हेड्डाको जस्तो पेस्तोल बोक्ने खालकी भने होइन । त्यही नै मेरो करिअरको टर्निङ प्वाईन्ट पनि हो ।
पहिलो पटक लिड रोलमा खेल्दा धेरैले गर्न सक्ने रैछे भनेर प्रतिक्रिया दिएका थिए । त्यसले मलाई धेरै चिनायो । बरु अहिले हेड्डाको क्यारेक्टर पो जस्टिफाई गर्न सक्दिनँ की भन्ने डर छ । प्रायः नाटक गर्दा पोजिटिभ कमेन्ट नै धेरै पाइन्छ । नेगेटिभ पनि एकदुई पटक पाएकी छु । ‘बाघभैरव’, ‘मायादेवीका सपना’ गर्न नसक्दा गाली खाएकी छु । काठमाडौं आउने बित्तिकै ‘बाघभैरव’ गरेको थिएँ । त्यसबेला एक्टिङको केही पनि ज्ञान थिएन ।
‘मायादेवीको सपना’ मा म उफ्रिनु पर्ने थियो, सकिनँ । त्यसबेला निशा (पोखरेल) दिदीहरूले खुब गाली गर्नुभयो । तर उहाँहरूलाई मेरो खुट्टा मर्केको थाहा थिएनँ । एकपटक ‘ध्रुब’ नाटक लिएर बेलायत जाँदा पनि निर्देशक प्रवीण खतिवडाको मज्जैले गाली खाएकी थिएँ । त्यसमा मैले छुच्ची कान्छिआमाको भूमिका निर्वाह गर्नुपर्ने थियो । तर म क्यारेक्टरमा पस्नै सकिनँ । मलाई मनपर्ने थिएटर आर्टिस्ट भारतकी सिमा विश्वास हुन् । उनले काठमाडौंमा एक्लैले १०/१२ वटा क्यारेक्टर गरेको देखेपछि त म उनको ५ प्रतिशत पनि रहेनछु भन्ने लाग्यो । उनको वाइल्ड भएर काम गर्ने स्पिरिट हामीकहाँ सायदै कोही होला ।
कान्तिपुर दैनिकबाट