सीएन थारू– नेपाललगायत दक्षिण एशियाका अधिकांश देशहरू तुलनात्मक रुपमा गरीब देखिएको तथ्याङ्कले बताउँछ । विकासको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपाल अल्पविकसित मुलुक हो । यसलाई विकास चाहिएको छ र विकासका लागि अनुदान तथा ऋण सहयोग उपलब्ध गराउन दातृ निकायहरू क्रियाशील भइ आएका छन् । यहाँ सवाल उठ्छ के नेपाल गरीब देश हो ? अथवा नेपालको विकास गर्न अन्तर्राष्ट्रिय लगानी आवश्यक छ ? आंशिक रुपमा यी सवालहरू सान्दर्भिक नै छन् । नेपाल गरीब देश नै हो र नेपालको विकास गर्न अन्तर्राष्ट्रिय लगानी आवश्यक बनेर गएको छ । तर नेपाल गरीब हुनुको कारण भाग्यवाद हो कि होइन ? यसबारे नेपालीहरूको विचमा एकमत छैन । नेपाल गरीब हुनुको प्रमुख कारण भ्रष्टाचार देख्छन् । नेपाल गरीब हुनुको कारण कुरीति, कुसंस्कार, अन्धविश्वास, परम्परागत पेशा र सीप आदि किटान गर्दछन् र त गैरसरकारी संस्थाहरूको उद्देश्यमा उपरोक्त पदावलीहरू साझा बनेको पाइन्छ ।
थारू जाति आदिवासी भएको सबैले स्वीकार गरिसके । थारू जाति कुरीति, कुप्रथा, कुसंस्कार तथा परम्परागत पेशा र सीपले विकासमा पछाडि परेको तथ्य सार्वजनिक गर्दैछन् । समग्रमा थारू जाति पछौटेपनको शिकार भएको निष्कर्ष निकाल्दै यो जातिलाई विकासको मूलधारमा ल्याउनु पर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक गर्ने गरेका छन् । राज्यले थारू जातिबारे विशेष ध्यान दिनुपर्ने तर्क गरेको पाइन्छ तर यी सब तर्क बौद्धिक विलासितामा टुङ्गिएको पाइन्छ । थारू जातिको अध्ययन विभिन्न धारबाट हुने गरे पनि आदिवासीकै धारबाट कम भएको पुष्टि भइसकेको छ । आदिवासीवादको विश्वदृष्टिकोणले मात्र थारू जातिबारे यथेष्ट तथ्य बताउन सक्छ ।
आदिवासीवाद आफैंमा कस्मोभिजनको धार हो । कस्मोभिजनको धारले यस ब्रह्माण्डमा रहेका प्रत्येक अस्तित्ववान जीवहरू आफैंमा सार्वभौम रहेको स्वीकार गर्दछ भने एउटाको मात्र अनुपस्थितिले सिंगो इकोसिष्टमलाई प्रभावित बनाउने काम हुँदा सबैको अस्तित्वलाई स्वीकार गर्न अनिवार्य ठानिन्छ । यदि मान्छे यही रुपमा आफूलाई अनन्तकालसम्म अस्त्विमा राख्न चाहन्छ भने प्रकृतिका एककोषिय तथा वहुकोषिय सबै जीवहरूलाई आफू जतिकै श्रेष्ठ मान्न करै लाग्छ । व्यक्ति व्यक्ति विचको प्रतिस्पर्धा प्राकृतिक श्रोतहरू कब्जा गर्ने र तिनको अनियन्त्रित दोहन गर्ने काममा बढी गतिवान देखिने गरेकोले मानव जीवन यान्त्रिक बन्दै गएको महसुस गरिन थालेको छ । प्रकृतिसँगको निकटतम जीवन पद्धति नै सम्यक जीवन भएकोले आदिवासीवाद आज भाग्यवादको विपक्षमा देखिन्छ । त्यसकारण भाग्यवादले जन्माएका अनगिन्ती समस्याहरूको सहि समाधान प्रकृति मैत्री जीवनले प्रदान गर्न सक्छ । अज्ञानताले दुःख ल्याउँछ भन्ने सिद्धार्थ गौतमको बोधी सत्य भाग्यवादलाई सिधै कटाक्ष गरेको छ, किनकी भाग्यवादले अज्ञानतालाई मलजल प्रदान गर्छ ।
थारू जाति हिन्दु धर्मबाट अति प्रभावित हुन पुगे । थारू जातिमा पाइने देवी पूजा, वलिप्रथा, टुना–मुना, मन्त्र, साधना आदिलाई हिन्दु धर्मले समायोजन गरे । हिन्दु धर्मलाई मजबुतिकरण गर्न थारू जातिको योगदान अविष्मरणीय रहेको पाइन्छ । तर यसै कारणले थारू जाति सानो जात बनाइएको पनि सत्य हो । उच्च जातको सेवा गरे मृत्युपश्चात स्वर्ग पुग्ने कथित कर्मकाण्डीले थारू जातिलाई भाग्यवाद सम्म पु¥यायो । यही भाग्यवादलाई नेपालका प्रसिद्ध समाजशास्त्री डोरबहादुर विष्टले ब्राह्मणवाद बताए । यस विषयमा खस क्षेत्री एकता समाज (आ.÷ज.)ले आफ्नो दस्तावेजमा बडो सटिक विश्लेषण गरेको देखिन्छ ।
दस्तावेजमा भनिएको छ–“सामन्तवाद, नोकरशाही, दलाल, पूँजीपतिको सर्वसत्तावादी, वाहुनवाद, साम्राज्यवाद, विस्तारवाद, वैदेशिक एकाधिकार पूँजीवादसँगको जातीय मुक्ति आन्दोलनको अन्तरविरोध देखाउँदै आन्तरिक र वाह्य अन्तरविरोध, त्यस्तै प्रधान र गौण अन्तरविरोध र प्रधान शत्रु किटान गर्नु एक जमानाको कम्युनिष्टले राज्यसत्ता कब्जा गर्ने रणनीतिको नक्कल सिवाय केही हुन्न । यो हाम्रो आफ्नै धरातलीय यथार्थ मूल्याङ्कन पनि होइन ।” अझ थप प्रष्ट पार्दै लेख्छन्–“हाम्रो समाजमा वर्ग विकासको कडी नै वर्ण हो । यसर्थ सामन्तवाद, नोकरशाही, दलाल, पूँजीपति वर्ग भनेकै केही अपवादलाई हटाएर वाहुनवादी एकल जातीय सर्वसत्तावादको प्रतिविम्ब मात्र हो । यसैले प्रमुख अन्तरविरोध भनेकै वाहुनवाद र राष्ट्रिय मुक्ति विचको अन्तरविरोध हो । यसैले प्रहारको केन्द्रविन्दु कुनै बुख्याँचा उभ्याएर हैन, सिधै वाहुनवादी सर्वसत्तावादमा केन्द्रीत हुनुपर्दछ (कार्यनीति र कार्यदिशा, २०६३ पृष्ठ १३) ।”
थारू जातिको विकासलाई मूलधारसँग जोड्नु नै अप्राकृतिक हुन जान्छ । थारू जाति नेपालमा एक सार्वभौम, स्वतन्त्र तथा राष्ट्रियताको दावी गर्दै आएको सर्वविदितै छ । ब्राह्मणवादको काउण्टर मोडेल जरुरी देखिन्छ, जसले थारू जातिलाई भाग्यवादबाट मुक्त गर्न सकोस् । त्यसकारण वहुलराष्ट्रवादको राजनीतिक विचार तथा विज्ञानले लैस भएको वहुलराष्ट्रिय लोकतन्त्र सम्झौताहीन शर्त हुन गएको छ, जसले नेपाललाई वहुलराष्ट्रिय राज्यसम्म ल्याउनेछ । यहीबाट थारू जातिको विकासको ढोका उघार्न सकिन्छ । वहुलराष्ट्रिय राज्यमा थारू जातिको स्वशासन तथा जातीय स्वायत्तता अक्षुण रहने छ भने थारू जातिको विकास यसको संस्कृतिसँग अन्तरसम्बन्धित भएर समृद्ध बन्नेछ । यसैको आधारमा जातिको आत्मनिर्णयको अधिकार सुनिश्चित भइ थारू जातिको राष्ट्रियताको दावीलाई यही अर्थमा बुझ्न जरुरी छ । स्वर्ग पुग्ने कथित कर्मकाण्डी बाटोको विकल्पमा अभियान–संघर्ष–विद्रोहको कार्यदिशामा काउण्टर मोडेल बनाए हाल पछौटेपनको आंशिक सत्य उपर विजयी प्राप्त गर्न सक्छन् । विकासको कडी जोड्न यसले मद्दत गर्छ ।
थारू जातिको मुल धर्म प्रकृति पूजा नै हो । यिनीहरु नदी, खोला, जंगल, रुख विरुवा, माटो, सूर्यको पूजा गर्दै शताब्दियौंदेखि अलग सभ्यताको निर्माण गरी बसेका छन् । समाज निर्माणको प्रक्रियामा ग्राम थान, डिहवार थान, भुईयार थान, शीराथान आदिले महत्वपूर्ण योगदान पुर्याएको छ । यहाँ पूजा गर्न राजधामी, गुर्वा आउँछ भने संरक्षकको रुपमा थानपति तथा जेठरैत सहितको संगठन बनाइएको हुन्छ । आज यिनै परम्परागत संस्थाहरूले थारू जातिलाई अरु आगन्तुक जातिभन्दा फरक देखाउँछ । समाजलाई थप सुदृढ गर्न मौजा, प्रगन्ना तथा चौरासी गादीको सामाजिक राजनैतिक संस्था क्रियाशिल भइ आएकोमा आधुनिक राज्यले यस प्रकारका सामाजिक राजनैतिक संस्थाहरूको पहिचान गर्न छोडेपश्चात आधुनिक राज्य संयन्त्र र परम्परागत सामाजिक राजनैतिक संस्थाहरूविच फल्ट लाइन निर्माण भएको पाइन्छ ।
यसबाट फल्ट लाइन युद्ध जन्मिने सम्भावना रहन्छ । यदि नेपालमा फल्ट लाइन युद्ध हुन गए ब्राह्मणवादले अन्ततः हार स्वीकार गर्नु पर्ने हुन्छ । किनकि ब्राह्मणवादको जग नेपालमा अति कमजोर रहेको तर्क नेपाल हेर्ने भारतीय कुटनीतिज्ञहरूको पाइन्छ । उनीहरूको विश्लेषणमा नेपालका शासक उच्च जातीय खस आर्य समुदायको सभ्यता भारतको हिन्दु जतिको सुदृढ यसकारणले छैन कि उनीहरू अनार्यसँग अन्तरसंघर्ष र अन्तरघुलन भई नयाँ समाज बनाउन सफल त भए तर उपरोक्त फल्ट लाइन मेटाउन सकेनन् । फल्ट लाइन नमेटाइ दीगो शान्तिको अपेक्षा गर्न सकिंदैन र फल्ट लाइन मेटाउने एक मात्र उपाय नेपाल राज्यको पुनःसंरचना नै हो ।
राज्यभित्र राज्यको अवधारणामा यसको पुनःसंरचना गर्नु एक उपाय हो, तर नेपाल राज्यको यथार्थ स्थिति देखाउन यसलाई वहुलराष्ट्रिय राज्यको रुपमा रुपान्तरण गर्न सक्नैपर्दछ । आधारभुत तहमा लोकतन्त्रको जग बसाल्न समेत यो कामयावी बन्न जरुरी छ । यसले नयाँ ढङ्गले सामाजिक सम्झौता गर्न बाध्य बनाउँछ । त्यही सामाजिक सम्झौताको जगमा मात्र नेपालमा देखापरेको सभ्यताहरू विचको फल्ट लाइन मेटाउन सकिनेछ । आजको अपरिहार्यता नै सामाजिक सम्झौताको लागि नयाँ संश्लेषण चाहिएको छ । यो चुनौती नेपालले सामना गर्न तयार हुनुपर्दछ । विशेषगरी शासक उच्च जाति खस आर्यको कोर्टमा बल रहेकोले निर्णय ती शासकवर्गले लिनु बुद्धिमानी हुन जान्छ । आदिवासीवाद नयाँ संश्लेषणको लागि अलग वैकल्पिक धार बन्न सक्छ, जसले वहुलराष्ट्रवादी यथार्थलाई पक्रन सक्छ । राष्ट्रिय मुक्ति आन्दोलन र ब्राह्मणवाद विचको अन्तरविरोधलाई हल गर्न कामयावी बन्छ ।