थारुहरुले मागे- राज्यको सम्पूर्ण निकायमा समावेशीको माग

rajkumarझापा- शनिबार झापामा आयोजित एक कार्यक्रमका वक्ताहरुले थारुहरुलाई जनसंख्याको आधारमा राज्यको सम्पूर्ण निकायमा समावेशीको माग गरेका छन्। थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको आयोजना तथा झापा जिल्ला समितिको व्यवस्थापनमा शनिबार सम्पन्न एक दिने ‘संघीयता र समावेशीकरण सम्बन्धी चेतनामूलक’ कार्यक्रमका वक्ताहरुले त्यस्तो बताएका हुन्।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सभाका केन्द्रीय सदस्य राजकुमार लेखीले ७ प्रतिशतभन्दा बढी रहेको थारु समुदायलाई जनसंख्याको आधारमा समावेशी हुनुपर्ने माग गरे। नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष समेत रहेका लेखीले तराईलाई एक प्रदेश नबनाएर बहुप्रदेश बनाउनुपर्नेमा जोड दिए।

‘तराईलाई कम्तीमा ४ प्रदेश बनाउनुपर्छ’, उनले भने – ‘एक प्रदेश बनाए जनतालाई फेरि सास्ती हुनेछ।’ स–सानो प्रदेश बनाए कम खर्चिलो र सहज हुने उनले प्रष्ट पारे। सभाका केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष वीरबहादुर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डम्बरप्रसाद चौधरी, खड्गनारायण चौधरी, कनुलाल चौधरी, श्रीप्रसाद चौधरी, इन्दिरा चौधरी, रामकृष्ण चौधरी, सत्यनारायण चौधरी, काशीलाल चौधरी, लेखराज खवासलगायतले बोलेका थिए।

सभाकी केन्द्रीय सदस्य लक्ष्मी चौधरीको स्वागत तथा जिल्ला सचिव इन्द्र चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमकै अवसरमा थारु कल्याणकारिणी सभाको केन्द्रीय महाधिवेशन असोज २९ गते गने भएको जनाइएको छ। महाधिवेशनका लागि विभिन्न उपसमितिहरु निर्माण गरिएको जिल्ला उपाध्यक्ष पशुपति चौधरीले बताए।

सेतोपाटी साभार

Leave a Reply

Your email address will not be published.