इतिहासको पानामा गुमनाम परशुनारायण

persu narayanकृष्णराज सर्वहारी- २०६९ मंसिर २१ गते थारू राजनेता परशुनारायण चौधरी यो धर्तीबाट सदाका लागि अस्ताए। उनको नश्वर चोला विदा भएको ठीक एक बर्ष पूरा भयो। हालैको संविधानसभाको चुनावमा थारू समुदायका कति सभासद विजयी भए? समानुपातिकमा थारू समुदायबाट को को सभासदमा पर्लान्? सर्वत्र चर्चा छ, तर राजनीतिमा थारूहरूलाई संरक्षकको रुपमा डोर्‍याउने राजनेता परशुनारायणलाई सम्भि्कने फुर्सद कसैलाई छैन। 

गएको बर्ष उनको ११ औँ पुण्यतिथिको अवसरमा मैले एक लेखमा विचार पोखेको थिएँ कि उनको नाममा कुनै ट्रष्ट, सम्झना कोष या प्रतिष्ठान खडा होस्। प्रत्येक बर्ष मंसिर २१ गते सम्झना दिन स्वरुप मनाउँदै कुनै पुरस्कार स्थापना गर्न सकिए उनीप्रति सच्चा श्रद्धान्जली ठहरिने थियो। तर यो एक बर्षको अवधीमा परशुनारायणलाई सम्भि्कनलायक कुनै काम न त राजधानीबासी, न त उनका गाउँवासी (गोवरडिहा, देउखर) ले गरेको सुन्नमा आयो। अहिले पहिचानको राजनीतिले ठाउँ पाएको छ। विभिन्न गोत्र, बंशहरूको पनि संगठन खुलेका छन्। परशुनारायण सतगौंवा गोत्रका थिए। देउखुरीमा खड्गनारायण चौधरीको अध्यक्षतामा सतगौंवा थारू समाज गठन गरिएको छ। जिउँदो छँदासम्म उनलाई समाजको संरक्षक बनाइएको थियो, तर मृत्युपछि आफ्नो संरक्षकलाई जीवन्त बनाउन उनको नाममा कुनै कार्यक्रम गर्नु त टाढाको कुरा स्मारिकासम्म प्रकाशित गर्न उचित सम्भि्कएन सतगौंवा समाजले। यो भन्दा विडम्वना अरु के हुन सक्ला।
शायद २०६१ सालमा होला, गायक रेशम चौधरीले परशुनारायण चौधरीलाई नेपालभरिको थारू समुदायको …बरघर’ (अगुवा) चुनेको घोषणा गरेका थिए। माघीको अवसरमा भृकुटीमण्डपमा भएको माघी महोत्सवमा उनलाई बरघरको फेटा बाँधेर सम्मान गरिएको थियो। वास्तवमा परशुनारायण थारू समृदायको बरघरको हकदार त छँदै थिए, नेपाली राजनीतिमा उच्च स्थान बनाएका राजनेता थिए। उनको बराबर अव सायदै कुनै थारू राजनीतिम शिखर चुम्न सक्लान्। तर उनको देहान्तको एकै बर्षको अवधीमा उनलाई सम्भि्कने कोही भएन।
कुनै समय नेपाली काँग्रेसका हस्ती परशुनारायणको पञ्चायत प्रवेश र पछिल्लोपटक राजसभा स्थायी समितिको सभापति पदबारेको चर्चालाई ठाँटी राख्ने हो भने पनि उनी उल्लेख गर्न लायक व्यक्तित्वमा अग्रिम पंक्तिमा पर्छन्। काशी विश्वविद्यालयमा पढ्दा–पढ्दै वीपी कोइरालाको संगतमा लागेका उनी आफ्नो गृहजिल्ला दाङदेउखुरीमा काँग्रेसको मलजल गरे, राणाशासन बिरुद्ध लडे। २०१५ सालको आमनिर्वाचनमा दाङबाट निर्वाचित यी व्यक्तित्व वीपीको प्रधानमन्त्रीत्वमा शिक्षा मन्त्री भए। आफ्नो गाउँ गोवरडिहामा विद्यालय स्थापना गरे। देउखुरी उपत्यकाबाट पुराना पुस्ताका जतिले शिक्षा पाए, सोही विद्यालयमा पढे।
२०१७ साल पुस १ गते राजा महेन्द्रले वीपीको प्रजातान्त्रिक सरकारलाई …कू’ गर्दा परशुनारायण एक बैठकको सिलसिलामा विदेशमा थिए, उतैबाट भारत निर्वासित भए। मेलमिलापको नीतिसँगै ९ वर्षको निर्वासनमा पछि उनी वीपीसँगै २०२५ सालमा नेपाल आएका थिए। उनको लगनशीलताले नेपाली काँग्रेसमा उनले वरिष्ठ महामन्त्रीको पद पाएका थिए। वीपीले बारम्बार भन्ने गरेका थिए– …मेरो शेषपछिको उत्तराधिकारी तपाई नै हो। तर उनी २०३८ सालमा एकाएक पञ्चायत प्रवेश गरे। त्यसबेला वीपीको टिप्पणी थियो– चौधरी सुविधाभोगी राजनीतिमा लहसिए।

पञ्चायत प्रवेशपछि उनी पञ्चायत नढल्दासम्म लगातार मन्त्री बनिरहे। उनको गल्ती छयालीसको आन्दोलन दवाउन प्रतिकार समितिको संयोजक बन्नु रह्यो। तर पञ्चायतमा रजगज गरेका अर्जुननरसिंह केसीहरू काँग्रेसमा प्रवेश गरेर चोखिए। अञ्चलाधीश रहेका सूर्य बहादुर सेन ओलीहरू माओवादीमा छिरेर क्रान्तिकारी भए। छयालिसको आन्दोलनपछि परशुनारायण माउ पार्टी काँग्रेसमा नछिरेका होइनन्। तर २०४८ को चुनावमा उनलाई टिकटबाट वञ्चित गरियो। स्वतन्त्र उमेदवारको पर्चा छापिएर आए पनि बाँडिएन। उनले आफ्नो उमेदवारी फिर्ता लिएको अनौठो समाचार सुन्नमा आयो।

स्वतन्त्र उमेदवारी फिर्तापछि पनि कांग्रेस पार्टीमा उनलाई कुनै स्थान दिइएन। अन्ततः उनी राप्रपामा छिरे, २०५६ मा सोही पार्टीबाट संसदीय चुनाव लडे तर पछारिए। प्रतिद्वन्दीका रुपमा उनकै भतिजा खेमनारायण चौधरी मालेबाट चुनाव लडेका थिए। राजनीतिमा आफू असफल भएको उनलाई लाग्यो। निस्त्रि्कय जीवन बाँचिरहेका उनलाई राजा ज्ञानेन्द्रले राजसभा स्थायी समितिको सभापति बनाएर प्रयोग गरे। उनीमाथि निष्ठाको राजनीति नगरेको आरोप लाग्यो। मण्डलेको आरोपबाट उनी चोखिएनन्। मृत्युवरणपछि उनको माउ पाटीं काँगे्रसले, न त आफूले स्थापना गरेर हुर्काएको नेपालको पहिलो सामाजिक संस्था थारू कल्याणकारिणी सभाले नै शोकको सामान्य विज्ञप्तिसम्म जारी गर्‍यो।
छयालीसको आन्दोलनपछि बनेको दोश्रो लोकतान्त्रिक सरकारको अगुवाइ गिरिजाप्रसाद कोइरालाले गरे। धेरैको भनाइ सुनियो– यदि परशुनारायण पञ्चायत प्रवेश नगरेको भए आज उही एउटा थारूको छोरो प्रधानमन्त्री हुन्थ्यो। तर यो आँकलन हावामा तीर हानेझैँ लाग्छ। निश्चय पनि वरिष्ठ महामन्त्रीको हैसियतले उनी त्यसको हकदार हुन्थे तर राजनीतिमा बाहुनवाद हावी भएको वेला उनको के सुनुवाइ हुन्थ्यो र? काँग्रेसमा पछिल्लोपटक सर्वोच्च नेता गणेशमानसिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईको अवस्था देखिएकै हो, दुवैले पार्टी परित्याग गरे। परशुनारायणले उल्टो दिशाको राजनीति गरे भन्ने कांगे्रसीहरू आज आफै उल्टो दिशामा, यथास्थितिबादको राजनीतिमा कुहिरोको काग भएका छन्, संघीयता उनीहरूलाई पचिरहेेको छैन। अझ भट्टराईले त राजा ज्ञानेन्द्रको कदमको खुलेरै प्रशंसा गरेका थिए, उनको सम्झनामा भक्तपुरको बाँडेगाउँमा आश्रम बन्यो। तर परशुनारायण जीवनको अन्तिम घडीमा पाटन अस्पतालको सामान्य बेडमा मृत्युसँग लडिरहे। सामान्य खोकीको उपचार गराउन बैँकक, अमेरिका धाइरहेका मन्त्री, सरकारको नजर उनको गिर्दो स्वास्थ्यमा पर्दै परेन।
थारू समुदायबाट राजनीति गर्ने जति हस्ती छन्, परशुनारायणको उचाइ लिन शायदै सक्लान्। उनी ७/८ वर्ष मन्त्री भएको, केही समय राजसभा स्थायी समितिको सभापति भएको गणना त सबैले गरे तर उनी दशक बढी निर्वासनमा बिताएको, राणा शासनको खिलाफमा लडेकोमा कसैले दृष्टिगत गरेनन्। पछिल्लो कालमा छोरी, श्रीमती गुमाएका उनी दुवै छोराहरू पनि विदेशिएका कारण नितान्त एक्लो जीवन विताइरहेका थिए।
भलै आर्यघाटको मृत्युशैयामा चीर निन्द्रामा पल्टिएका बेला परशुनारायणको मुहारमा सन्तोषको भाव झल्किन्थ्यो। अन्तिम संस्कारमा उपस्थित नभएका छोराहरूलाई सन्देश पो थियो कि– छोराहरू म आफू बाँचुन्जेल देशकै सेवा गरेर मरें, तिमीहरू पनि स्वदेशमै आउ, म त गुमनाम भएर बितें, तिमीहरूले मेरो नामलाई उचाइमा पुर्‍याउ। तर उनको परिवार, थारू समाज, यो देशले उनको योगदानको उचित मूल्याङ्कन गर्न कञ्जुस्याइ गरिरहेको छ। उनी अव सदाको लागि गुमनाम हुँदै छन्।

गएको बर्ष परशुनारायण चौधरीको तेह्रौं पुण्यतिथीमा सहभागिता जनाउन उनको निवास भक्तपुरको लोकन्थली जाँदा मैले देशका ठूला भनाउँदाहरू कोही देखिन। जेठो सपरिवार अमेरीका र कान्छो सपरिवार चेक गणतन्त्रमा बस्ने उनका दुवै छोराहरू तेह्रौं पुण्यतिथीमा आएका त थिए तर निकैबेर बस्दा पनि बाबुको सपना साकार पार्ने कुनै खाका उनीहरूले सुनाएनन्। अझ बर्खीको नाममा सेतो टोपी समेत नलगाएका कान्छा छोराको तस्विर लिन खोज्दा उनले मलाई अनुमति नै दिएनन्।
उनको घर परिवारका सदस्यहरूले भलै नसम्भि्कऊन्, थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभा लगायत उनका शुभचिन्तकहरूको ध्यान परशुनारायण चौधरी स्मृति प्रतिष्ठान स्यापना गर्नेमा हुनुपर्छ। उनको गाउँ देउखुरी गोवरडिहा गाउँको चौराहामा समेत उनको शालिक ठड्याउन नसक्ने थारू समुदायको ठूलो कमजोरी हो।
साभारः २१ मंसिर, नागरिक दैनिक, पश्चिमेली

5 thoughts on “इतिहासको पानामा गुमनाम परशुनारायण

  1. निश्चय पनि वरिष्ठ महामन्त्रीको हैसियतले उनी त्यसको हकदार हुन्थे तर राजनीतिमा बाहुनवाद हावी भएको वेला उनको के सुनुवाइ हुन्थ्यो र ? काँग्रेसमा पछिल्लोपटक सर्वोच्च नेता गणेशमानसिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईको अवस्था देखिएकै हो, दुवैले पार्टी परित्याग गरे। परशुनारायणले उल्टो दिशाको राजनीति गरे भन्ने कांगे्रसीहरू आज आफै उल्टो दिशामा, यथास्थितिबादको राजनीतिमा कुहिरोको काग भएका छन्, संघीयता उनीहरूलाई पचिरहेको छैन । अझ भट्टराईले त राजा ज्ञानेन्द्रको कदमको खुलेरै प्रशंसा गरेका थिए, उनको सम्झनामा भक्तपुरको बाँडेगाउँमा आश्रम बन्यो, तर परशुनारायण जीवनको अन्तिम घडीमा पाटन अस्पतालको सामान्य बेडमा मृत्युसँग लडिरहे” भन्ने कुरा अति मननयोग्य छ ।

  2. great idea! I will be the part of journey. would be good if initiate by anyone most probably by Khadag Chaudhary (Satgaunwa pariwar).

Leave a Reply

Your email address will not be published.