विमलको ह्‍याट्रिकसँगै नेपाल फाइनल चरणमा प्रवेश

nepal footballकाठमाडौं- नेपाल सात वर्षपछि एएफसी सोह्र वर्षमुनि (यु–१६) फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। दशरथ रङ्शालामा आइतबार साँझ भएको समूह छनोट चरणको अन्तिम खेलमा नेपालले तुर्किमिनिस्तानलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै समूह ‘सी’ को विजेता पनि बनेको छ। यसअघि सन् २००६ मा भएको खेलमा नेपालले छनोट चरण पार गरेको थियो।
यस्तै सो प्रतियोगितामा नेपालको यो तेस्रो सफलता हो। यसअघि सन् २००६ र सन् २००२ मा भएको यु–१६ फुटबल प्रतियोगितामा नेपाल अघिल्लो चरणमा प्रवेश गरेको थियो। नेपालको जितमा विमल घर्तीमगरले ह्याटि्रक पूरा गरे। उनले खेलको पहिलो हाफको अतिरिक्त समय ४७औँ मिनेटमा अमित तामाङको क्रस बललाई डिबक्स एरियाबाट हेड गोल गर्दै पहिलो अग्रता लिए।
यस्तै खेलको दोस्रो हाफ सुरु भएको ६ मिनेट बित्न नपाउँदै उनले अर्को गोल थप्न सफल भए। उनले डिबक्स एरियाबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो। यसैगरी नेपालका अर्का खेलाडी दिनेश राजवंशीले एक गोल थप्दै नेपालको अग्रता तेब्बर बनाए। उनले प्रहार गरेको फ्रिकिक बल तुर्कमेनिस्तानका गोलरक्षकको हातबाट फुत्किएर गोलमा परिणत भएको थियो।
नेपालका लागि अन्तिम गोल कप्तान विमलले नै गरे। उनले खेलको दोस्रो हाफको ७५औँ मिनेटमा डिबक्स एरियाबाट विपक्ष टिमको डिफेन्डरलाई छलेर गोल गरी ह्याटि्रक पूरा गर्न सफल भए। अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा आठ खेल खेलका विमलले ११ औँ गोल गरेका छन्। जारी प्रतियोगितामा भने विमलको चौथो गोल हो।
प्रतियोगितामा तीन खेल खेलको नेपाल दुई जित र एक बराबरी खेली कूल ७ अङ्कका साथ समूह विजेता बनेको छ। समान खेल खेलेको बहराइनले ६ अङ्क जोडेको छ। दुई खेलमा जित र एक खेलमा हार बेहोरेको बहराइन समूह ‘सी’ को उपविजेता बनेको छ। बहराइन अघिल्लो चरणमा प्रवेश गर्ने या नगर्ने भन्ने अन्य समूहमा रहेका उपविजेता टिमको अङ्कको आधारमा हुनेछ। यसैगरी इराक र तुर्कमेनिस्तान समूह छनोट चरणबाट बाहिरिइसकेका छन्।
एसियाका ४३ राष्ट्रले भाग लिएको सो प्रतियोगितामा सहभागी राष्ट्रहरूलाई १० समूहमा विभाजन गरिएको छ। आयोजकसहित प्रत्येक समूहका विजेता टिम र उपविजेतामध्ये उत्कृष्ट घोषित हुने पाँच टिम गरी कुल १६ राष्ट्रले आगामी वर्ष थाइल्याण्डमा हुने विश्वकप छनोटको फाइनल खेलमा सहभागी हुन पाउनेछन्।

Leave a Reply

Your email address will not be published.