थारु पत्रकार संघको कञ्चनपुर शाखा गठन

TJA-Kanchanpur

कञ्चनपुर- थारु अधिकार तथा नेपाली पत्रकारितालाई व्यवसायिक तथा क्षमतावान बनाउन थारु पत्रकार संघ, नेपालको कञ्चनपुर शाखा गठन भएको छ। कञ्चनपुरको भाँसीस्थित रेडियो पहिचान एफएमको कार्यालयमा आयोजित थारु पत्रकारहरुको भेलाले सो शाखा गठन गरेको हो। पत्रकार रामचन्द्र कुश्मीको अध्यक्षतामा सर्वसम्मत गठित संघको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमश समिक्षा दहित, शान्ति चौधरी, सुन्तलि चौधरी र मनोज चौधरी चयन भए।
यसैगरी संघको सदस्यमा माया चौधरी र सन्तोषी चौधरी चयन हुनुभएको छ। संघका केन्द्रीय उपाध्यक्ष लक्की चौधरीको प्रमुख आतिथ्य तथा आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का सु.प. संयोजक मस्वीर कर्या कङ्रवा तथा कञ्चनपुर फोनिजका अध्यक्ष हेमन्ती चौधरीको समेत भेलामा सहभागिता थियो।
कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष लक्की चौधरीले थारु पत्रकारहरुको सही लगत तथा नेपाली पत्रकारिताको व्यवसायिकता एवं बृत्तिविकासका लागि संघले योगदान दिने विश्वास व्यक्त गर्नुभयो। पत्रकारहरुलाई पेशामा टिकाउन र पेशाप्रति जिम्मेवार बनाउन अहिलेको प्रमुख चुनौति रहेको चर्चा गर्दै उपाध्यक्ष चौधरीले पत्रकारहरु सक्षम र सुरक्षित नहुँदासम्म समाज अग्रगतिमा जान नसक्ने धारणा राखे। पत्रकारहरुले न्यूनतम पारिश्रमिकसमेत पाउन नसकेको अहिलेको अवस्थामा देशलाई अग्रगमनमा लग्नु उत्तिकै चुनौति रहेको भन्दै उनले पत्रकारको सुविधाप्रति जिम्मेवार हुन सरकारलाई आग्रह गरे।
बैठकमा फोनिजको सु.प. संयोजक मस्तवीर चौधरी, हेमन्ती चौधरी, नवनिर्वाचित अध्यक्ष रामचन्द्र कुश्मी तथा नेपाल पत्रकार महासंघकी सदस्य समिक्षा दहित लगायतकाले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई उपाध्यक्ष चौधरीले पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

Leave a Reply

Your email address will not be published.