डी. विनोद- गत फेब्रुअरीको पहिलो साता कोठाबाट कामका लागि कम्पनीतर्फ हिँडेका तनहुँका सन्त गुरुङ तामिल मूलको एक समूहबाट लुटिए। उनी मलेसियाको शाहलममा कार्यरत छन्। लुटेराले उनको मोबाइल लुटे। ‘जहिले पनि लुटिइने डर रहन्छ,’ उनले भने। उनलाई त्यो समूहले कुटपिट पनि गरेको थियो।
मलेसियामा नेपालीका लागि रोजगारीका अवसर पर्याप्त छन्। तर, उनीहरूको सुरक्षा अहिले ठूलो प्रश्न बन्न थालेको छ। गुरुङमात्र होइनन्, मलेसियाका विभिन्न ठाउँमा कार्यरत अरू नेपाली पनि असुरक्षाभावले ग्रस्त छन्। कुन बेला लुटिइने या कुटाइ खाने हो, नेपालीहरू मनोवैज्ञानिक त्रासमा छन्।
मोरङका बासु काफ्ले १२ वर्षदेखि मलेसियामा काम गरिरहेका छन्। हालैका वर्षमा नेपाली कामदारको असुरक्षा बढेको उनको अनुभव छ। ‘लुटपाट र कुटपिटका घटना बढिरहेका छन्,’ उनले भने, ‘नेपाली कामदारमाथि दिनहुँ आक्रमण भइरहेका छन्। काम गर्ने कम्पनीमा बाहेक बाहिर सुरक्षामा समस्या हुने गरेको छ। होस्टलबाट बाहिर निस्केपछि फेरि होस्टेल नपुगुञ्जेल त्रासमा हिँड्नुपर्छ।’ मलेसियामा रहेका नेपालीहरू तामिल मूलका व्यक्तिहरूबाट बढी असुरक्षित छन्। हालसम्म समस्यामा परेका र भौतिक आक्रमणको शिकार भएका नेपालीहरूले तामिल समुदायबाट प्रताडित भएको बताएका छन्।
शाहलममा बस्दै आएका स्याङ्जाका जीवन गुरुङका अनुसार सबै तामिल खराब हुँदैनन्। तर, त्यस समुदायका केही व्यक्तिले कमजोर देखिने नेपालीलाई टार्गेट बनाउने र समस्यामा पार्ने गरेका छन्। उनीहरूले मोटरसाइकलदेखि कारसम्म प्रयोग गरेर नेपालीलाई लुट्ने, कुट्ने र दुःख दिने काम गरेका छन्।
नेपाली कामदारलाई मलेसियामा प्रहरीलाई उजुरी गर्ने तरिका, कम्पनीको सहयोग मागी दोषीलाई कारबाही गर्ने प्रक्रिया त्यति गतिलोसँग नआउने भएकाले उनीहरू नै निसानामा पर्ने गरेका छन्। अन्य देशका कामदारका तुलनामा नेपालीहरू सोझा र मलेसियाको कानुनबारे कम जानकार भएकाले पनि लुटपाट मच्चाउने समूहको टार्गेटमा परेको जानकारहरू बताउँछन्।
झापाका विजय मिश्र सात वर्षदेखि मलेसियामा छन्। उनी पनि लुटपाटको समस्यामा परेका थिए। खासगरी मलेसियामा लुटेराहरूले नम्बरप्लेट छोपेका गाडीको अत्यधिक प्रयोग गरिरहेका छन्। मिश्र थप्छन्, ‘सवारीको नम्बर छोप्ने अनि बाटोमा हिँडेका नेपालीलाई दुःख दिने समूह यहाँ अहिले सक्रिय छ। धेरै नेपाली उनीहरूले गराउने दुर्घटनाको पनि शिकार हुने गरेका छन्।’ लुटपाटमा सफल नभए विभिन्न तरिकाबाट आक्रमण गर्न त्यस्ता समूह सक्रिय देखिएका छन्। हतियार नभए आफू सवार सवारीसाधनबाट दुर्घटना गराउनेसम्मको काममा उनीहरू सक्रिय रहेको मिश्र बताउँछन्।
परिचय खुलाउन नै मुस्किल पर्नेगरी सक्रिय त्यस्तो समूहको यातनामा परेका थिए, सुनसरीका पदम अधिकारी पनि। ‘सडकमा राती मसँग रकम नपाएपछि धारिलो हतियारले आक्रमणको प्रयास भएको थियो, म भागेर बाँच्न सफल भएँ,’ उनले भने। उनी अहिले आफू बस्ने होस्टेलबाहिर एक्लै हिँड्दैनन्। ‘बैंक र बजार जान पनि समूह बनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘प्रतिकार गर्न सकिन्न। उनीहरू भागिहाल्छन्। प्रशासनमा पनि समस्या भोग्ने हामी पीडित नै हुन्छौँ।’
मलेसियाको एक प्रान्त या शहरमा मात्र होइन, प्रायः सबै शहरमा लुटेरा समूहहरूको सक्रियता छ। जोहरवारु बस्दै आएका मोरङका नारायण पोखे्रल भन्छन्, ‘धेरै साथी प्रतिकार गर्न खोज्दा घाइते भई अस्पताल बसेका छन्। लुटेराको साथमा हतियार हुन्छ। हामी निहत्था हुन्छौँ। भनेको समयमा प्रतिकार गर्न पनि सकिँदैन।’
मलेसियामा नेपालीहरू छरिएर बसेका छन्। त्यसकारण पनि यस्ता लुटपाटलगायत समस्यामा उनीहरू निसाना बनेका हुन्। मलेसिया पुगेको एक महिनामै लुटिएका थिए, दाङका आशु चौधरी। ‘परिचित समूहजसरी बोलाए र नजिक गएको चक्कु देखाएर मसँग भएको नगद लुटे,’ उनले भने।
यता, ग्यान्टिङ हाइल्यान्डमा बस्दै आएका मोरङका गोविन्द खनाल मलेसियाको राजधानी क्वालालम्पुर नै असुरक्षित रहेको बताउँछन्। ‘प्रहरी र स्थानीयकै अगाडि लुटेराबाट लुटिनुपर्छ,’ खनालले भने, ‘परदेशमा केही गर्न सकिँदैन। प्रहरीसँग सहयोग मागे पनि केही हुँदैन।’ राजधानी क्वालालम्पुरमै उनी पटक–पटक लुटिएका थिए। लुटेरा समूह बैंक तथा बजार क्षेत्रमा सक्रिय हुने गरेका छन्। विदेशी कामदारलाई पहिचान गरेर उनीहरू आफ्नो रणनीतिमा सफल हुने गरेका छन्। दिनदहाडै लुटिँदा पनि प्रहरीबाट खासै सहयोग नपाइने पीडितहरूले बताएका छन्।
कैलाली घर भएका र हाल शाहलममा कार्यरत कृष्ण गिरी राम्रा कम्पनीको तलब कहिले आउने हेक्कासमेत लुटेराले राख्ने गरेको बताउँछन्। आफ्ना देशका नागरिक लुटिने गरेको खबर त्यहाँ स्थित नेपाली राजदूतावासलाई थाहा भए पनि ऊ मौन रहने गरेको पीडितहरूको गुनासो छ। गिरीले भने, ‘बारम्बार दूतावासमा समस्याबारे जानकारी गराउँदा पनि कानमा तेल हालेर बसेका छन्।’
(मलेसियाबाट अर्जुन काफ्लेको सहयोगमा)