संगीता श्रेष्ठ- मोजाभित्र कपडा हालेर बनाइएको भकुन्डो खेल्ने भरत खवास आज नेपाली राष्ट्रिय फुटबल टोलीका उम्दा फरवार्ड र स्ट्राइकर भइसकेका छन्। नेपाली फुटबलपारखीले माया गर्ने खेलाडी हुन् उनी। मोरङ, हरैचा गाविस–७, पचाममा जन्मिएका भरत एन्फा एकेडेमीका उत्पादन हुन्।
बाल्यकालमा उनका दुई सपना थिए। एउटा– फुटबलर बन्ने र अर्को– नेपाली सेनामा भर्ती हुने। उनका दुवै सपना पूरा भएका छन्। उनी राष्ट्रिय टोलीका खेलाडी र नेपाली सेनाका सहायक सेनानी हुन्।
भरत सानैदेखि फुटबल भनेपछि हुरुक्कै हुन्थे। ‘सानोमा हामी मोजाभित्र कागज, कपडा हालेर भकुन्डो बनाएर फुटबल खेल्थ्यौँ,’ उनी सम्झन्छन्, ‘बुवालाई फुटबलको खुब सोख थियो। गाउँभरि छोरालाई खेलाडी बनाउँछु भन्दै हिँड्थे। म पनि बुवाको हात समातेर गेम हेर्न जान्थेँ।’
टिफिन टाइममा अरू विद्यार्थी खाजा खान व्यस्त हुन्थे। उनीभने फुटबलमा मस्त। ‘खेल्दाखेल्दा समय बितेको थाहै हुन्थेन,’ उनी भन्छन्, ‘एकदुई क्लास यसै मिस भइहाल्थे।’ खेलसँगै पढाइमा पनि ध्यान दिनुपर्छ भनेर शिक्षकहरूले उनलाई खुब हप्काउँथे। ‘क्लास मिस हुँदा टिचरबाट झापड पनि खाएँ। तर, खेल्न छोडिनँ,’ उनी स्मरण गर्छन्। उनको खेल्ने उत्साहमा घिउको काम गरे साथीहरूले। ‘साथीहरूले ‘राम्रो खेल्छस्’ भन्दा झन्–झन् खेल्न मन लाग्थ्यो। क्लास छोडीछोडी भए पनि खेल्थेँ,’ उनी अतीतमा डुब्छन्, ‘गाउँमा भाइचिङ भुटिया भनेर सम्बोधन गरेको अहिले पनि मेरा कानमा गुञ्जिन्छ। सबैले ‘तँ भाइचिङ भुटियाजस्तै खेल्छस्’ भन्थे।’
एन्फाको खेलाडी भर्ना खुल्दा जिल्ला–जिल्लामा गएर खेलाडी छनोट गरिन्थ्यो। भरत कक्षा पाँचमा पढ्दा एन्फाले खेलाडी भर्ना खोल्यो। सो खबर उनको बुवाको कानमा पर्यो। छोरालाई फुटबलर बनाउने सपना साँचेका बुवाले यस्तो सुनौलो अवसर गुमाउने कुरै भएन। भरत पनि खेलाडी छनोटमा गए। उनको गाउँबाट उनीसहित ११ जना खेलाडी छानिए। राम्रो खेल्ने खेलाडीलाई विराटनगर लगियो। विराटनगरमा पाँचछ पटकको सिलेक्सन राउन्डपछि उनी काठमाडौँका लागि छनोटमा परे। विराटनगरबाट १५ जना खेलाडी आएका थिए। यतिबेलासम्म राष्ट्रिय खेलाडी बन्ने भुत सवार भइसकेको थियो उनमा। त्यतिबेला उनको उमेर नौ वर्ष थियो। ‘काठमाडौँ पुगेपछि आफ्नै उमेरका लगभग १० हजार खेलाडीलाई फुटबल मैदानमा देखेर मेरो होस उड्यो। एकदमै डर लाग्यो। यतिका भीडमा कहाँ परिएला र भन्ने लाग्यो। तर, खेल्दाखेल्दै परेँ,’ उनले सम्भि्कए। त्यस भीडबाट ६८ जना छानिए। २६ जनाको समूह बनाएर पोखरा, धरान र काठमाडौँका लागि खेलाडी विभाजित भए। भरत पोखराका लागि छानिए।
उनका जीवनका आठ वर्ष एन्फामा बिते। फुटबल के हो? र कसरी खेलिन्छ? भन्ने कुरा एन्फाले सिकाएको उनी बताउँछन्। त्यसपछि उनी संकटा क्लबमा आबद्ध भए। २०६३ सालको लिगमा संकटाको जर्सीमा उनी पहिलो पटक शहीद स्मारक ए डिभिजन लिगमा उत्रिए। त्यतिबेला पनि उनको प्रदर्शन हेर्न लायक थियो। उनको खेल क्षमताले नै अर्को वर्ष उनलाई फ्रेन्ड्स क्लबमा आबद्ध गरायो। तर, यी दुई क्लबबाट ए डिभिजन लिग खेल्दा उनले धेरै चर्चा कमाउन सकेनन्। त्यसपछि उनी नेपाल पुलिस क्लबसँग जोडिए। पुलिस क्लबमा आबद्ध हुँदा उनी दुई पटक ए डिभिजन लिग र राष्ट्रिय लिग जित्न सफल भए। यहीँबाट उनको चर्चा चुलियो। पुलिसलाई तेस्रो पटक लिग च्याम्पियन बनाउ“दा उनले १४ गोल गरेका थिए। यसपछि उनले घरेलु फुटबलमा एकपछि अर्को सफलता हासिल गर्दै गए। पुलिस क्लबबाट उनी लागे, अर्को विभागीय टोली नेपाली सेनातिर।
हालै एएफसी च्यालेन्ज कपको छनोट चरणको नर्दन मारियाना ल्यान्डविरुद्धको खेलमा उनले ह्याटि्रक गरेका थिए। उनको ह्याटि्रकको खुब चर्चा भयो। यसरी चर्चामा उनी पहिलो पटक आएका होइनन्। यसअघि पनि उनले नेपालका लागि धेरै निर्णायक गोल गरिसकेका छन्। सन् २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट भरतले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका हुन्। त्यसमा उनले बराबरी गोल गरेका थिए। त्यसको तीन वर्षपछि एएफसी च्यालेन्ज कपको छनोटमा उनले अफगानिस्तानविरुद्ध निर्णायक गोल गरे। उनको यसै गोलले नेपाललाई एएफसी च्यालेन्ज कपको अन्तिम चरणमा पुर्यायो। जोर्डनविरुद्ध विश्वकप छनोटको दोस्रो लेगमा पनि उनले बराबरी गोल फर्काएका थिए। साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध बराबरी गोल फर्काई नेपाललाई सेमिफाइनलसम्म पुर्याउने पनि उनै हुन्।
नेपाली यू–२२ को कप्तानी गरेका भरत घरेलु फुटबलमा ढिलै चर्चामा आएका हुन्। तर, आफू उत्कृष्ट भएको कुरा उनले प्रमाणित गरिसकेका छन्। घरेलु मैदानमा उनले ४० गोल गरिसकेका छन् भने अन्तर्राष्ट्रिय खेलमा ७ गोल गरेका छन्। यसबाहेक हरेक डेब्यूमा उनले गोल गरेका छन्।
उनी हरेक समय फुटबल सोचिरहेका हुन्छन्। ‘एकदुई दिन खेलिएनभने खुट्टा चिलाउँछ,’ उनले भने, ‘साथीभाइसँग भेट हुँदा फुटबलकै कुरा हुन्छ भने नेटमा पनि फुटबलबारे नै सर्च गरिन्छ। फुटबल नशाजस्तो भएको छ।’
भरतका धेरै फ्यान छन्। तर, उनी भने हनुमानका फ्यान हुन्। अर्थात्, हनुमानभक्त। ‘खेल्नुअघि हनुमानको नाम लिएर नै मैदानमा उत्रिन्छु,’ उनी भन्छन्।
शुक्रबार साभार