विवादित विषयमा आज साँझसम्म सहमति हुन्छ : सापकोटा

काठमाडौं- एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश नेतृत्वको सरकार गठनबारे रहेका विवाद आज साँझसम्म सुल्झिने बताएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहालले साँझ ५ बजे बोलाएको भन्दै उनले अब मुलुक निर्वाचनको दिशामा अघि बढ्ने बताए। पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा आइतबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘करिब सबै विषयमा सहमति भइसकेको छ, हाम्रो पार्टी अध्यक्षले आज ५ बजे चार दलको बैठक बोलाउनुभएको छ, साँझसम्ममा सहमति भई मुलुक निर्वाचनको दिशामा अघि बढ्छ।’

प्रवक्ता सापकोटाका अनुसार चुनावी सरकार गठनसम्बन्धी सबै सहमतिमा दलहरु सकारात्मक रहे पनि सत्यनिरुपण मेलमिलाप र बेपत्ता आयोग गठन तथा मतदाताको विषयमा मतभेद छ र ती सबै आजै टुङ्गो लाग्नेछ।
‘दवै आयोग तत्कालै गठन गर्नुपर्छ भनेर हामीले भनेका छौं तर कांग्रेस र एमालेले पछि बनाउनुपर्छ भनेका छन्,’ उनले भने, ‘अर्कोतर्फ अदालतमा विचाराधीन मुद्दाको फैसलापछि जानुपर्छ भन्ने अन्य दलको भनाइ छ। तर हामीले तत्कालै जानुपर्छ भनिराखेका छौं, तैपनि विपक्षी दलहरु सकारात्मक रहेकाले निर्वाचनको वातावरण बन्दै गएको छ।’

प्रवक्ता सापकोटाले फागुन २५ सम्म सहमति भए पनि जेठ मसान्तभित्रै निर्वाचन गर्न सकिने निर्वाचन आयोगले जनाउ दिएकाले पनि जेठमा निर्वाचन सम्भव छ भन्ने कुरामा अल्मलिनु हुन्न भन्ने आफ्नो पार्टीको धारणा रहेको स्पष्ट पारे।
अहिले जनता निर्वाचनको खबरले उत्साहित भएको र अन्य विपक्षी दलहरु पनि निर्वाचनप्रति सकारात्मक बन्दै गएकाले विस्तारै वातावरण अनुकूल बन्दै गएको भन्दै उनले निर्वाचनबाटै राष्ट्रलाई निकास दिन सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए। एक फरक प्रसङ्गमा प्रवक्ता सापकोटाले फुटेर गएको नेकपा-माओवादीसँग तत्कालै नभए पनि कार्यगत एकता गर्न सकिने बताए। रासस

Leave a Reply

Your email address will not be published.