दाङ्गदेउखरी, सिसहनियाँ–४ पिपरी स्थायी निवासी शिव प्रसाद चौधरी थारू समुदायबाट निजामति सेवामा प्रशासनिक क्षेत्रको उच्च तहमा पुगेका औंलामा गनिनेमध्ये एक हुनुहुन्छ। उहाँ आफ्नो कार्यक्षेत्रमा दक्ष एवम् कुशल व्यक्तित्वको रुपमा चिनिनुहुन्छ। गत २०६८ चैत्रमा उहाँ लेखा अधिकृतबाट बढुवा भई हाल लेखा उप–सचिव पदमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय, सिंहदरबारमा आर्थिक प्रशासन शाखाका प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ। आ. ब. २०६८/६९ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको उत्कृष्ट कर्मचारीको रुपमा पनि उहाँ पुरस्कृत हुनु भएकोछ। यही सेरोफेरोमा प्रस्तुत छ, शत्रुघन चौधरीबाट जनपहुँचका लागि हालै गरिएको कुराकानीको अंश।
तपाई निजामति सेवामा कसरी छिर्नु भयो? यहाँसम्म हासिल गर्नु भएको सफलताको रहस्य के हो?
जुनसुकै सफलता रातारात हासिल हुदैन। यसको लागि लक्ष्य, सोच, धैर्यता, मिहिनेत, लगनशिलता र परिश्रमको आवश्यकता पर्दछ। म एक दुःखी आमाको कोखबाट जन्मेको छोरा हुँ। ममा जब चेतना आयो, तब म आमाको दुःख, पीर, हेला गरिएको देख्दा मेरो नावालक दिमागमा एउटा भूत सवार भैसकेको थियो। जब–जब म आफ्नो आमाको दुःख देख्थेँ र सम्झने गर्थे, तब–तब सानै उमेरमा प्रण गर्थे, की पछि जवान भएपछि ठूलो मान्छे बन्छु। यस किसिमको सांेंच जब मेरो मनमा आउँथ्यो, तब म आफैंलाई प्रश्न गर्थे कि यसको लागि मैले के गर्नु पर्छ? र, यसको जवाफ पनि आफै दिन्थेँ की मैले कडा मिहिनेतका साथ अध्ययन गर्नैपर्छ। यस्तै ठूलो मान्छे बन्ने लक्ष्य लिएर स्कूलदेखि क्याम्पससम्मको अध्ययन गर्दा अर्जुनदृष्टि लगाइरहेँ। विभिन्न किसिमका पत्रपत्रिका पढ्दा, रेडियोमा समसामयिक घटनाको समाचार सुन्दा म त्यसलाई नोटबुकमा लेखेर जतनसाथ राख्ने गर्थे र फुर्सदमा कहिलेकाँही मनन गर्थे। यस्तै समसामयिक घटना, सामान्य ज्ञान र पाठ्यक्रमका विषयवस्तुको अलावा अन्य विषयवस्तुको बारेमा पनि आफ्नो ज्ञानको भकारी सानैदेखि भर्दै गएँ। लामा लामा विषयवस्तुलाई सम्झनको लागि फर्मुला बनाउथेँ र याद गर्थेँ। मेरो एउटा ध्येय थियो, निजामति सेवाको अधिकृतमा जसरी भएपनि प्रवेश गनर्ेे। त्यही ध्येयलाई मनन गरी पाठ्यक्रमसँग सम्बन्धित विषयवस्तु खोजी खोजी पढथेँ, संकलन गर्थेँ र डायरी बनाई मुख्य मुख्य बुँदा टिपोट गर्थे। यसलाई सुत्र भन्नुस् या विधि प्रयोग गरेर अहिलेसम्म सफलताको सिढी चढ्न सफल भएको हुँ जस्तो लाग्छ।
निजामति सेवामा काम गरेको कति वर्ष भयो र हालसम्म कुन कुन अ•ामा काम गर्नु भयो?
म नेपाल सरकारको निजामति सेवामा २०५१ साल फागुन १ गते प्रशासन सेवाको लेखा समूहमा लेखा अधिकृतमा प्रवेश गरेको हुँ। यस हिसाबले मेरो सेवा गरेको कुल १८ वर्ष पुग्दैछ। यो अवधिमा म ६ वटा कार्यालयमा काम गरिसकेँ। मेरो शुरुको जागिर जागिर कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा कार्यालय प्रमुख रोल्पाबाट सुरु भयो। डिभिजन सडक कार्यालय, महेन्द्रनगरमा लेखा प्रमुख, कोलेनिका, दैलेखमा कार्यालय प्रमुख, बाँके जिल्लामा क्षेत्रीय कोष निर्देशनालयमा कोष नियन्त्रक, सिक्टा सिचाई आयोजना नेपालगञ्जमा पनि बसेँ। २०६५ मंसिरदेखि हालसम्म शान्ति तथा पुनर्निर्माण मन्त्रालय, सिंहदरवारमा कार्यरत छु।
यतिका वर्ष काम गर्नुभयो। कामको सिलसिलामा कुनै समस्या भोग्नु पर्यो की?
हालसम्मको नोकरीको दौरानमा धेरै उतार चढाव अवश्य आए। म हरेक चुनौती र समस्यालाई अवसरको रुपमा लिन्थे र समस्यालाई समाधान गरेर सफलताको सिढीको रुपमा पनि प्रमाणित गरेर देखाइदिन्थेँ। जब आफूमा आफ्ना जिम्मेवारीका क्षेत्रहरूको बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान छ भने चाहे हिमाल, पहाड, तराई जहाँ पनि आफूलाई कुनै कारणले पछि परेको महशुस गर्नुपर्दैन। शायद यही कारणले होला, आजसम्म मेरो कामको दौरानमा कुनै बाधा अड्चन आइपरेको अनुभव भएजस्तो लाग्दैन। बरु आ. ब. २०६८/६९ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको उत्कृष्ट कर्मचारीको रुपमो पुरस्कृत भएँ। जसले काम गर्न अझ उत्साह, हौसला बढेको छ।
निजामति प्रशासन सेवामा शाखा अधिकृतदेखि माथि कति थारू कर्मचारी कार्यरत छन्। यहाँलाई केही जानकारी छ की?
सरकारी, गैरसरकारी संस्था र संस्थानतिर त थारू समुदायका ब्यक्तित्व धेरै छन्, प्राविधिक लाइनतिर पनि धेरै अगाडि बहेको संकेत मिल्छ। तर निजामति सेवाको प्रशासन क्षेत्रमा राजपत्रांकित श्रेणीमा थारूहरूको संख्या निकै कम छ। विशेष गरेर पश्चिम तराईका त नगण्य नै छन्। यथार्थ आँकडा त मैले जानकारी लिन सकेको छैन, तैपनि मलाई जानकारी भएको मध्ये मबाहेक उपसचिव स्तरमा कैलालीका हिरालाल चौधरी सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत हुनुहुन्छ। त्यसैगरी पूर्वी तराईका थारूहरूमा लेखा समूहमा देवनारायण चौधरी र लक्ष्मीप्रसाद चौधरी कार्यरत भएको मेरो जानकारीमा छ। नाथुप्रसाद चौधरी सर त प्रशासन सेवाको उच्च तह विशिष्ट श्रेणीको सचिव पदमा हाल लोकसेवा आयोगमा कार्यरत हुनुहुन्छ। यसको अलावा मसंग अन्य विवरणको खडेरी लागेकोछ। यो मेरो व्यक्तिगत कमजोरी हो भन्ने मैले ठानेकोछुँ।
युवा वर्गलाई निजामति सेवामा बढीभन्दा बढी प्रवेश गर्न सक्ने उपाय यहाँको अनुभवमा के देख्नुहुन्छ?
सबैभन्दा पहिले त आफूले आफैलाई हेर्नुस् र स्वयम्लाई चिन्नुस्। निजामति प्रशासनको विभिन्न सेवामध्ये तपाईको इच्छा, रुचि, पढाईका विषयवस्तु कुन सेवासँग मेल खान्छ। त्यही निजामति सेवाको लोक सेवा आयोगको पाठ्यक्रम कस्तो छ। त्यो पाठ्यक्रम अनुसार के के, कुन कुन ऐन, नियम, कानुन, किताब पढ्नुपर्छ, पहिचान गरी संकलन गर्नुस्। स्वअध्ययन गरेर होस् या सामुहिक अध्ययन, कोचिङ्ग, टयुसन पढेर होस्, ती सबै विषयवस्तुलाई काँचै खाएर पचाउने प्रयास गर्नुस्। सामूहिक अध्ययन र छलफललाई विशेष प्राथमिकता दिनुस्। हरेक बेलुकी सुत्नुभन्दा अघि र विहान उठ्ने वित्तिकै आफ्नो लक्ष्य र ध्येय सम्झनुस्। यसरी निजामति प्रशासनमा प्रवेश गर्ने लक्ष्यलाई तरोताजा राख्नुभयो भने तपाईलाई सदा जोश, जाँगर आइ नै रहनेछ। आफूलाई कोहीभन्दा सानो र कमजोर नठान्नुस्, नदेख्नुस्, घमण्ड भन्ने शब्द आफ्नो शब्दकोषबाट हटाईदिनुस्। धैर्य गर्ने प्रयास गर्नुस्, सधैभरी आफ्नो जाँगरलाई ताजा राख्ने प्रयास गर्नुस्। मेरो विचारमा यसो गर्दा सफलता धेरै टाढा छैन।
तपाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक प्रशासन प्रमुख भएर काम गर्दै हुनुहुन्छ। यसमा राहत तथा पुनर्स्थापना पनि पर्छ। जो वास्तविक द्वन्द्व पीडित हो, उ अझसम्म राहत पाउन सकिरहेको छैन। यसमा खास गरेर सिधासाधा आदिवासी जनजाति धेरै पीडित छन् भन्ने सुनिन्छ नि?
शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा राहत वितरण गर्ने एउटा निकायको अलावा अन्य धेरै निकायहरू पनि छन्। म शुरुबाट नै मन्त्रालय स्तरको लेखा तथा आर्थिक प्रशासनसंग सम्बन्धित छु। यो मन्त्रालयद्वारा वितरण गरिने आर्थिक राहत वास्तविक पीडित र त्यसमा पनि विशेष गरी सिधासाधा द्वन्द्वपीडित आदिवासी जनजातिले राहत पाउन सकेका छैनन्, टाठाबाठा जातिले मात्र फाइदा लिएका छन् भन्ने गुनासो तथा आरोप मैले पनि सुनेको छु। यी गुनासाहरू धेरै हदसम्म सत्यताको नजिक छ। त्यसको खास कारण के हो भने नेपालको प्रशासन परिणाममुखी (च्भकगति यचष्भलतभम) छैन, यो प्रक्रियामुखी (एचयअभकक यचष्भलतभम) छ। हरेक राहत कार्यक्रम संचालन गर्ने एउटा निर्देशिका तयार भएकोछ। त्यो निर्देशिकामा विभिन्न प्रक्रिया, पुर्याउनुपर्ने, कागज एवम् तौरतरिकाको बारेमा खुलाइएकोछ। ती सबै प्रक्रिया पुर्याएर जो आउँछ, उसको काम छिटो हुन्छ। जसको प्रक्रिया तथा कागजात मिलेको हुँदैन, उसको फाइल रोकिन्छ। यही कारणले म वास्तविक तथा सिधासाधा द्वन्द्व पीडितहरूलाई के सल्लाह दिन चाहन्छु भने नेपालको प्रशासनिक प्रवृत्ति अनुरुप निर्देशिकामा उल्लेखित सबै प्रक्रिया पूरा गरीकन आफ्ना कागजात ल्याउनुस्, काम अवश्य हुन्छ।
सरकारी जागिरबाट परिवार पाल्न धौ धौ हुन्छ भनिन्छ। तपाई जागिरे जिन्दगीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
जिम्मेवारी बोध गरेर आफ्नो काम र उत्तरदायित्वप्रति सदा समर्पित रहने मेरो स्वाभाव छ। म कर्मप्रति विश्वास गर्ने र कर्मको फलप्रति अन्धभक्तजस्तो आश गरेर बस्ने स्वाभावको मानिस नभएको कारण जागिरको दौरान जुन चिज पाइएकोछ, त्यसबाट आफ्नो घरायसी तथा पारिवारिक गाडी जसोतसो गुडिराछ। सन्तुष्टी नै परम सुख हो भन्ने भनाईलाई आत्मसात गरेको छुँ।
संसद, मन्त्रीपरिषद त अस्थायी सरकार हो, वास्तवमा स्थायी सरकार त निजामति प्रशासन हो भन्ने जुन कहावत छ। त्यो वास्तवमा सत्य हो जस्तो मलाई १७ वर्षभन्दा बढी सेवा गर्दा अनुभवबाट भएको छ। निजामति प्रशासनको उच्च तहमा रही काम गर्दा देशको नीति निर्माणमा राष्ट्रसेवक कर्मचारीको अहम् भूमिका हुन सक्छ भन्ने मेरो व्यक्तिगत अनुभव छ, यसबाट म सन्तुष्ट छुँ।