रेशम चौधरी।
चुनाव फाल्गुन भएर आयो र चैतको उराठलाई निम्तो दिएर जाँदैछ। विहेभोज एउटा उत्सव हो तर केवल केही चोक्टा मासु, केहिछिनको उमंग र केहिदिनको उल्लास पश्चात् साहुहरुको आँगनी निम्तो, सासुको बुहार्तन र बुहारीको आनीबानीले परिवारको पदचापिय अग्रगतिको यात्रालाई तय गर्छ। सञ्जालका साथीहरू हिजो पहिचानको श्रीपेचलाई स्यालुट् गर्थे आज मंगल भोजमा सदनझैँ बिभाजित भए। मुलुकभित्रकै सक्सकाहटमा हामी कमिला बन्नपनी सकेनौं बरु बिरालोझैँ झगडिएर अलगअलग हुनपुग्यौँ। म हुतु र तुत्सिको द्वन्द्व समर्थक होइन तर तारा बजी लै लै मेरो बालखिपनको खेल पनि होइन। चिँ मुसि चिँसग होलो रांगी रि पनि मिसाइदेउ भन्नू नै मेरा भुल भए।
एउटै बस्तीमा बसेर एउटा खेलको स्थापन र अर्को खेलको बिस्थापन हुनुहुँदैन भन्नू पनि अपराध रहेछ। उहिले उहिलेका दन्त्यकथाहरुमा महाराजका पुत्रहरुसँग सुदपुत्रले मुख देखाउनुसमेत अपराध मानिन्थ्यो तर आज हजारौं वर्ष पछाडि हाम्रो पहिचानको परिचय खोज्नु पनि अपराधै रहेछ। ‘किस सुद्के घरमे अच्छा भोजन पका’ भनेर अकबरलाई सुइँको दिनेपनि सुद नै चौकिदार हुन्थे रे, आज भूमिपुत्रहरुको पहिचानलाई पैतलामा कुल्चिनका लागि पहिलो कदम बढाउने तिनै पहिचानवादीका सुदपुत्रहरुको पंक्ति पनि लामै रहेछ। हिजोसम्म खोके, चोक्टा र मधुप्यालाको निम्ति केही दिन झोला बोके। अब लट्ठुन्जेल मदहोसी रहन्छन् र बिउँझेपछि फेरि पहिचानको नारा लगाउन थाल्नेछन्।
मैले त पहिचानवादीको यस्तो अगुवाहरु पनि देखेँ, जो भोजमा सामेल हुन त खोजे तर आफूलाई भेजिटेरिएनको संज्ञा दिनसमेत लज्जिएनन्। पाकेका चौरासी ब्यन्जन तिनको टपरिमा पर्ने त कुरै भएन, डाडु खोस्ने प्रयत्नले समेत चोक्टा हातमा नलागेपछि फेरि भोज बहिस्कारको नाटक कसरी मन्चन हुने हो- दर्शक बनी पर्खिरहेछुँ। तिमी सुद्पुत्र हौं, बाहुनको भोजमा नजाउ, चौरासी ब्यन्जनको भतेर तिम्रो टपरिमा पर्नेछैन है भनेर मैले सजक त गराइदिएकै हुँ।
अहिले भोजबाट अपमानित भएपछि मेरो सामुन्ने शिर निहुराउनुको कुनै तुक छैन। मलाई त लाग्छ अब मेरो सानो बथानमा तिम्रा लागि कुनै स्थान छैन तर म त्यति निर्दयी पनि बन्न सक्दैन किनकि झुक्नेलाई ठोक्ने मेरा पूर्खाको बंशजमासमेत छैन। युद्ध सुनको बाण र सुनको पुष्पकले जितिने भए बाँसको तिरसँग रावण हार्ने थिएनन्। द्रब्य र बथानले समेत नांगा पाण्डवलाई कौरवले कहाँ हराउन सके र? हो हामीले यही र यिनकै दन्त्यकथाको दस्तावेजले सभिय युद्ध जित्नुपर्छ भन्ने मेरो आंकलन हो।
सर्वश्रेष्ठ धनुवर सुदपुत्र एकलब्यले गुरु द्रोणको शिक्षाबाट समेत वञ्चित भएको यिनको इतिहास हाम्रा लागि काफी छैन र? महाभारतको युद्धलाई समेत प्रभावित गर्नसक्ने एकलब्यको गुरु दक्षिणाको निहुमा बुढिऔंला काटियो। हो! हामी पनि पहिचानको विजयी यात्रामा थियौं तर कोही साथीहरू एकलब्य बन्न तयार भए र फेरि बुढिऔंलाविहीन भएका छौं, सायद अब काटिएको औंलाको अपरेसनको विकल्प छैन किनकि पहिचानको युद्ध हाम्रा लागि रामभरोसा भएको छ।
हामी एउटैका स्वार्थका लागि सदाको टेको बन्दैछौं। कहिले नेम्वाङ जनजातिका हुन् भनेर चित्त बुझाउछौं, कहिले गच्छदार थारु मसिंहा भनेर चित्त बुझाउँछौं त कहिले उपेन्द्रलाई मधेसका मुक्तिदाता भनेर चित्त बुझाउछौं। चित्त बुझाउँदा बुझाउँदै हामी हाम्रो कदम परलोकको सिँढीमा चढिसकेको समेत पत्तो पाउदैनौं।
के दुईचार वटा वडा र गाउँपालिका हाम्रो पहिचानको मार्गदर्शक बन्न सक्छन्? हामी बारम्बार किन फेल हुन्छौं? विश्वासमा कतिपटक फेल भएका छौं? अबपनि उत्तर खोज्नेबेला भएन र? अब त उनैको दन्त्यकथा झैँ भिमसेन किच्चक बन्नेबेला पो भएको छ त। चुनावी भोजमा सामेल हुन हामीलाई पनि रहर इच्छा थियो, तर यो पनि थाहा थियो कि त्यो भोजमा हाम्रा लागि जुठोपुरो सिवाय केही थिएन। अरुले खाएका जुठो उठाएर बचेको सितनको स्वाद लिन मनले पटक्कै मानेन।
उत्सवमा गएर तँ तँ म म गर्नुभन्दा नगएकै राम्रो ठानियो। कम्तीमा हाम्रो भोजमा यो किन सामेल भएन भन्ने प्रश्न त उठ्थ्यो? हामी अहिले तिम्रो झिनो लोभमा नराम्ररी फस्यौं। भोजमा सामेल पनि भैइयो, जुठोपुरो मात्रै हात लाग्यो- चोक्टा र चौरासी ब्यन्जन त फेरि उनैका भए।