सांसदको तलब बढ्यो, कम्तिमा मासिक १ लाख २४ हजार पाइने

सांसदले तलब भत्ता मासिक कम्तिमा एकमुष्ट १ लाख २४ हजार पाउने भएका छन्। आइतबार संसदले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेको सो विधेयकलाई बहुमतले स्वीकृत गरेको थियो। विधेयकमा परेका संशोधन प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री नायकले समयानुकूल रुपमा जनप्रतिनिधिलाई पारिश्रमिक तथा सुविधा दिनेसम्बन्धी व्यवस्था गरिएको बताए।

नयाँ व्यवस्थाअनुसार सांसदले ५५ हजार २३० पारिश्रमिक पाउनेछन्। विशेष भत्ता १००, बैठक भत्ता प्रतिदिन ५००, सञ्चार सुविधा ३०००, आवास सुविधा १८,००० तथा फर्निचर खर्च १५ हजार पाउनेछन्।

नयाँ व्यवस्थाअनुसार सांसदले यातायात सुविधा प्रतिदिन १ हजार, दैनिक भत्ता प्रतिदिन २५०० एवं बिजुलीधारा भत्ता २००० पाउनेछन्। सांसदहरुले यो आर्थिक वर्षको पहिलो महिना साउनदेखिकै तलब भत्ता बढेको दरमा पाउने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published.