दाङमा पाँच बेवारिसे शव भेटिए, ठगिराम चौधरीको शव सनाखत

अबिरल बर्षापछि मंगलवार राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका ५ शव दाङमा भेटिएका छन्। देउखुरीस्थित राप्ती नदीको किनारमा तीन पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ५ मध्य एकजनाको शव भने दाङकै स्थानीयको रहेको र बाँकी ४ शवको भने पहिचान हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाशराज शर्माका अनुसार भेटिएका मध्य एउटा शव दाङ गंगापरस्पुर ९ तकियापुरका ५३ वर्षीय ठगिराम चौधरीको हो। उनी मंगलबार बस्तीमा राप्ती नदी पसेदेखि नै बेपत्ता थिए। प्रहरीले उनको शव बुधबार राप्ती नदीको किनारमा फेला पारेको हो।

यसैगरी सतवरिया गाविसमा दुईजनाको र बेला गाविसस्थित नदी किनारमा दुईजनाको शव भेटिएका छन्। प्रहरीका अनुसार सतवरिया ५ असनियामा नदी किनारमा एउटा पुरुषको शव भेटिएको छ। यस्तै सतवरिया ५ बगरापुरमा महिलाको शव भेटिएको डिएसपी शर्माले जानकारी दिए। यसैगरी बेला ८ मा एक पुरुषको र बेला ६ स्थित राप्ती बगरमा महिलाको शव भेएिको शर्माले जानकारी दिए।

भेटिएका शवहरु प्यूठानतिरबाट नदीले बगाएर ल्याएको हुन सक्ने प्रहरी आँकलन छ। प्रहरीका अनुसार ती शवहरु सबै गलिसकेको अवस्थाका छन्। चार शवको भने पहिचान हुन सकेको छैन। वुधवार विहान स्थानीयले बगरमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए।

यसैबीच राप्ती नदीमा पानीको बहाव घटेसँगै बुधबार देउखुरीको जनजीवन सामान्य बन्दै गएको छ। राप्ती नदीको डुबानमा परेर विस्थापित घर फर्किएका छन्। स्थानीय प्रशासनले नदीमा पानीको बहाव घटेपछि बिस्थापित घर फर्किसकेको जनाएको छ। मंगलबार राप्ती नदीमा आएको बाढीले देउखुरीका दर्जन बढी घर भत्किएका छन् भने सय बढी घर डुबानमा परेका थिए। घरभित्रै बाढी पसेपछि अधिकांशको अन्नपात,लत्ताकपडा भिजेका छन् ।

Leave a Reply

Your email address will not be published.