सीएन थारु।
टीकापुर विद्रोहको तीन वर्ष वितेको छ । २०७२ सालको भाद्र ७ गतेको यस विद्रोहबारे चर्चा हुने गरेको पनि छ । थारु आन्दोलनको त्यो पाराकम्पन्न मान्छेको मष्तिष्कमा अझै कायम हुनुको अर्थ समाजलाई यसले पूर्व अवस्थाबाट नयाँ अवस्थामा पु¥याएको मान्न सकिन्छ । धेरैले यसलाई विद्रोह मान्न तयार छैनन्, किनकि विद्रोह राजनीतिक शक्तिको अगुवाईमा हुने गरेको इतिहास छ । किसान विद्रोह कुनै बेला जमिनदारी प्रथाविरुद्ध रहेको इतिहास पढ्न सकिन्छ । तर त्यस बखत कम्युनिष्ट शक्तिले सघाएका थिए । टीकपुर विद्रोह अस्वभाविक पनि थिएन, न अनुचित नै । आज दोषी करार गर्दै केही व्यक्तिहरुलाई वारदात बनाएको पाइन्छ । राज्यले यी सब गर्नुपर्ने आफ्नो कर्तव्य ठानेको हुनुपर्छ । तर थारु आन्दोलन त्यही राज्यको गलत नीतिविरुद्ध रहेको बुझाउन कठीन हुँदैछ ।
थारु आन्दोलन संकटको स्थितिबाट गुज्रिए र हालः ती संकट यथावत छ । प्रकृतिको घटनाक्रम सुक्ष्म भएकाले सबै घटनाक्रमलाई अध्ययन गरेर जान आमजनताले सक्दैन । त्यसैले उनीहरुले जान्ने र बुझ्ने भनेको प्रत्यक्ष हेर्न मिल्ने घटनाहरु हुन् । समाजमा पनि सुक्ष्म तवरले घटनाहरु घट्छन् । ती सबै घटनाहरुको सञ्चयबाट क्रमभंग हुने अर्को घटना घटित हुने गर्छ । यसलाई समाज विज्ञानको जानकारले परिभाषित गर्छ । यस आलेखमा टीकापुर विद्रोह राज्यले भन्ने गरेको कुनै काण्ड पनि होइन र आम जनताको बुझाईमा देखिएको अनपेक्षित परीणाम पनि होइन् । यो विशुद्ध राजनीतिक घटनाक्रम हो भन्ने प्रसंग उठाउन खोजिएको छ ।
विषय प्रवेश
थारु आन्दोलनको विसर्जन भएको होइन भन्ने आधार कसैले दिने कि ? यो सबाल पेंचिलो बनेको छ । थारु आन्दोलनको विसर्जन भएको हो भन्नेहरुको मत पक्कै नेतृत्वको गालीगलौजमा टुंगिने गरेको पाइन्छ । यसरी आफ्नोे भूमिकाप्रति भरोसा गर्न नसक्ने नेतृत्वले बाँकीको आलोचना गर्दा थप निरासाको कैदी बन्ने भएका छन् । २०७२ साल भाद्र ७ गतेको विद्रोहपश्चात थारु आन्दोलनको विषयमा विमर्श भएका छन् । त्यसबारे नयाँ धारणा निर्माण भएका छन् । संयुक्त थारु राष्ट्रिय मोर्चाको पुनःगठन गरेको पनि हो । तर राज्यको प्रतिक्रान्ति यति वेगका साथ हुन पुग्यो कि संयुक्त थारु राष्ट्रिय मोर्चाले नेपालको गत सबै निर्वाचन वहिष्कार गरे पनि प्रभावकारी बन्न पुगेन । यसले पनि केही अगुवाहरुलाई निरास बनाएको हुनुपर्छ । त्यसैले, आशा जन्माउने काम अबको कार्यसूची बन्नुपर्छ ।
तीन वर्षको दर्वियानमा थुप्रै आशंका तथा भ्रमहरु सिर्जना हुनपुग्यो । वास्तविकता बुझाउने काम निक्कै कठीन सावित भए किनकि वास्तविकता बोध गराउन नयाँ चेतनाको खोजी हुनु अनिवार्य ठहर भयो । थारु आन्दोलनको वास्तविकता के हो भने यो कन्सेसनको लागि गरिएको आन्दोलन पक्कै थिएन । थारु आयोग आन्दोलनको मागै थिएन तर जे उनीहरुले आन्दोलनमार्फत प्राप्त गर्न चाहे ती अझ विमर्शकै विषय बनेको छ । थारु आयोग आन्दोलनकारीको चासोको विषय हुनु हुँदैन भन्ने मान्यताले मात्र मूल्यप्रतिको ऐक्यबद्धता ठहरिनेछ । दोस्रो, राज्यको दलीय प्रतिस्पर्धात्मक व्यवस्थाप्रति आस्था राख्ने र त्यस व्यवस्थाको विकल्पमा नयाँ व्यवस्थाको खोजी गर्ने पक्षबीच संघर्ष केन्द्रीत गर्ने विषय छ । तसर्थ थारु आन्दोलन विसर्जनको प्रश्न भन्दा पनि विकल्पसहितको विद्रोहसम्बन्धी अवधारणा उपर विमर्श चलाउनु उचित होला ।
आन्दोलन गौरवशाली हुँदैन
संसारभरी चलेका आन्दोलन र संघर्ष गौरवशाली हुँदैनन् । अमेरिकी स्वतन्त्रता संग्राम होस् अथवा फ्रान्सेली राज्य क्रान्ति, ती गौरवशाली कहलिएनन् तर ती राजनीतिक घटनाले स्थापित गरेका मूल्य मान्यताहरु संसारलाई दिशाबोध गराइरहेका छन् । यसको अर्थ स्थापित मूल्य भनेको आन्दोलन र संघर्षको प्राण हुन् । अमेरिकी स्वतन्त्रता संग्राममार्फत स्थापित स्वतन्त्रताको घोषणा र फ्रान्सेली राज्य क्रान्तिमार्फत स्थापित भातृत्व, स्वतन्त्रता र नागरिकताको मूल्यप्रति गौरव गर्ने गरेका छन् । संसारभरि नै यसलाई विश्वव्यापीकरण गर्ने नाममा उनीहरु उपनिवेशको जालो फिंजाउन सकेको तथ्य उत्तरआधुनिक राजनीतिमा पाउन सकिन्छ । तसर्थ अहिलेको नयाँ राजनीतिक पाराडाइमै दीक र काल परिवर्तनले गर्दा बदलिन पुग्यो । इतिहासमा घटेका यस्ता अनेकन आन्दोलन र संघर्षको पुनः समीक्षा हुने गरेकाले नै सभ्यताहरुबीचको संघर्ष विश्वराजनीतिको केन्द्र बनेको पाइन्छ ।
सबै राजनीति स्थानीय हुन गएको उद्घोष अमेरिकी राजनीतिकशास्त्री थमस डेभिड ओ निलले सन १९९० कै दशकमा गरे, जुन राजनीतिले विश्वव्यापीकरणलाई चुनौति दिँदै आएको मान्न सकिन्छ । यसलाई माक्र्सवादीले फरक ढङ्गले बुझाउने गरेको पाइन्छ । तर माक्र्सवादको वैचारिक हतियार विकल्प दिने हैसियत गुमाएको हो भन्न सकिन्छ । तसर्थ आन्दोलनप्रति प्रतिवद्ध बन्दै गर्दा यसले स्थापित गर्ने मूल्यको जग खोजी हुनैपर्छ ।
टीकापुर विद्रोह स्थापित गर्न खोजेको मूल्य
एक वाक्यमा भन्दा टीकापुर विद्रोहले स्थापित गर्न खोजेको मूल्य, ‘सबै राष्ट्रहरु चाहे ती कम संख्याका होउन वा बढी संख्याका सबै स्वतन्त्र हुनुपर्छ ।’ भन्ने हो । नेपाल राज्यको नीतिले यहाँ वर्चश्वशाली पहाडे आर्यबाहुन राष्ट्रको जग बलियो बनाउने काम गर्नपुग्यो भन्नु नाजायज होइन् । राज्यको सबै संयन्त्रहरु त्यसको रक्षा गर्न बनाइए भने अबको दिनमा देखिने संघर्ष स्वभाविकरुपमा नै एकल राष्ट्रियताविरुद्ध बहुलराष्ट्रियतातिर उन्मुख हुने देखिन्छ । अर्थात् एकल राष्ट्र-राज्य नेपाललाई बहुलराष्ट्रिय राज्यमा रुपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढ्ने देखिन्छ । थारु आन्दोलन यस अर्थमा राष्ट्रिय मुक्ति आन्दोलनको विकसित रुप हुन भन्न सकिन्छ ।
अन्त्यमा, टीकापुर विद्रोहको अर्थराजनीति व्यापक छ । थारु राष्ट्रियताको अधिराज्यात्मकतालाई आधुनिक नेपालको अवैध सत्ताले थिचेको भन्न सक्छौं किनकि उनीहरुको सार्वभौम अधिकारको रुपमा रहेको आत्मनिर्णयको मौलिक हक खोसिएको छ । थारुको बडीपोलिटिक र वर्तमान अवैध सत्ताबीच लामो संघर्ष चलेको इतिहास छ । त्यसले एउटा दोषी रेखा निर्माण गरेको कारण वर्तमानको अवैध सत्ता कमजोर हुने वितिक्कै थारु यहाँको राज्य संयन्त्रविरुद्ध जाइलाग्छ । यो अर्थराजनीतिको बुझाई प्रष्ट नभएसम्म थारु आन्दोलनको नयाँ प्राण भर्न मुश्किल छ । टीकापुर काण्ड भनी राज्यले भन्दै गर्नेछ भने आम जनताले अनपेक्षित घटनाको रुपमा तर टीकापुर विद्रोह राष्ट्रिय मुक्ति आन्दोलनको विकसित रुप ठहर हुने हो भने यसले विकल्पसहितको विद्रोह जन्माउन सक्नुपर्छ ।