मदन चौधरी।
२०७२ भदौ ७ गते घटेको अप्रत्यासित घटनाको ९ महिनापछि त्यहाँ पुग्दा थारुहरु अझै समान्य बनिसकेका थिएनन् । थारुहरुको आवगमन नभएपछि टीकापुर बजार पनि करिब शून्य नै थियो । लम्कीबाट टीकापुर जाने बाटोको ठाउँ ठाउँमा प्रहरी तैनाथ थिए । त्यहाँको सुरक्षा व्यवस्था निकै कडा थियो ।
बालक र एसएसपीसहित प्रहरीहरुको ज्यान लिने उक्त घटना पनि समान्य थिएन । जुन घटनाको आरोप अझैसम्म सिंगो थारु समुदायले झेलिरहेको छ । भाला, तरवार र बुलेटले हत्या गरेको आरोप थारु समुदायमाथि लगाइयो । किनकि त्यो दिन थारुहरुले आमजुलुस निकालेका थिए । थरुहट आन्दोलन उत्कर्षमा पुगेका बेला अखण्ड पक्षधरको अवरोध र प्रहरी प्रशासनको ज्यादतीविरुद्ध थारुहरु सडका ओर्लिएका थिए । त्यहीबेला राष्ट्रसेवक प्रहरीहरुको हत्या हुँदैछ भन्ने सुइँको सम्भवतः कुनै आन्दोलनकारी थारुले पाएका थिएनन् । पाएको भए सोही भीडमा हत्या गरिएका सशस्त्र प्रहरीका हवल्दार बर्दियाका रामबिहारी चौधरीलाई बचाउने प्रयास गरिन्थ्यो होला । त्यही भएर थारुहरु टीकापुर घटनाको निस्पक्ष छानबिनको माग गर्दै आएको छ । दोषीलाई सजाय दिनुपर्छ भन्ने कुरामा थारुहरु किन्चित दुई मत छैनन् । तर घटनामा सहभागी नै नभएकाहरुलाई दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा थारुहरु चिन्तित छन् ।
घटनाले सयौं थारुहरु विस्थापित बनेका छन् । घटनापछि प्रहरी प्रशासनले गरेको दमन, विभेद् टीकापुरका थारुहरुले झलझली सम्झिरहेका छन् । आफ्ना चेलीबेटीलाई जोरजबरस्ती गर्ने सेना प्रहरीको हर्कत सम्भवतः उनीहरुले कहिल्यै भुल्ने छैनन् । आफ्ना निर्दोष छोरा कैद भएका आमाबुबा र श्रमजीवी पति कैद हुँदा पत्नी र बालबच्चाले सहनुपरेको पीडा उनीहरुले सायदै बिर्सेलान्। यही पीडाको जवाफ हो रेशम चौधरीको विजय । वर्षौंदेखि गुम्सिएर राखेको पीडा त्यहाँका थारुहरुले आफ्नो अभिमत दिएर राज्यलाई प्रमाण पेस गरेका हुन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउन रेशम चौधरीलाई त्यहाँका ३४ हजार ३४१ जनाले आफ्नो अभिमत दिएका छन् । टीकापुर घटनामा थारुहरु निर्दोष सावित गर्न उनीहरुले रेशमलाई अत्याधिक बहुमतका साथ विजयी गराएका हुन् । तर राज्यले फेरि बखेडा निकालेर थारुहरुलाई विभेद गर्न खोज्दैछ । रेशम चौधरीले पठाएको वारेसलाई प्रमाण पत्र नदिने तर प्रधानमन्त्रीको वारेसलाई प्रमाणपत्र दिएर पठाउने, कहलिएका डनहरु चुनाव लड्दा, विजय उत्सव मनाउँदा प्रहरीले सुरक्षा दिने तर रेशम चौधरीले जित्यो भनेर त्यस क्षेत्रका थारुहरुलाई उत्सव मनाउनबाट वञ्चित गर्ने राज्यकाे साेँच नश्लीयमात्र छैन, ३४ हजार अभिमतको अपमान पनि हो ।
आजको दिन टीकापुरका थारुहरुले जितेको दिन हो । आफ्नो पीडा, आफ्नो दुःख बिसाउने दिन । पटपटकको थरुहट आन्दोलनपश्चात उनीहरुले पहिलोपटक आज विजय अनुभूत गरिरहेका छन् । आफ्नो अभिमतको सम्मानमा उनीहरु निस्फिक्री रमाउन चाहन्छन् । तर विडम्बना राज्यले त्यहाँका थारुहरुलाई उत्सव मनाउन रोक लगाएको छ । निस्फिक्री रमाउन चाहने टीकापुरका थारुहरुको मनमा चोट पुर्याएको छ । प्रहरीफोर्स त्यहाँ परिचालन गरेर राज्यले आफ्नो औकात पुनः प्रदर्शन गर्न खोजेको छ । शान्त र शालीन थारुहरुको मनस्पटलमा राज्यले एकपटक फेरि धावा बोल्न खोजेको छ । तर राज्यको विभेद् र दमन थारुहरु अब सहन तयार छैनन् ।
नयाँ पित्रकाले आफ्नो सम्पादकीयमा भनेजस्तै रेशम चौधरी कुनै गुन्डा, डन या माफियाका मान्छे होइनन् । तर, प्रचार नहुँदा पनि उनले कसरी ल्याए यत्रो मत ? किन टीकापुरका जनताले उनलाई यति धेरै समर्थन दिए ? सो घटनामा उनको संलग्नता र अपराधको स्तरबारे अदालतले नै बोल्नेछ । तर, जनमतको समर्थनका दृष्टिले उनीप्रति जुन सहानुभूति देखियो, त्यसलाई नजरअन्दाज गर्न मिल्दैन । राज्यले अपराधी घोषणा गरे पनि स्थानीय जनताले उनलाई आफ्नो नायक किन माने ? यसका पछिको राजनीति के हो अनि त्यसप्रति राजनीतिक दल र नागरिक समाजले बनाउने दृष्टिकोण कस्तो हुनुपर्ने हो ? यसबारे प्रस्ट हुनुपर्छ ।
टीकापुरमा भएको घटना निन्दनीय थियो र छ । त्यसका पछि थारू र मधेसीलगायत समुदायका जनताले राज्य शक्तिबाट खोजिरहेको हक र राज्यको दमनकारी दृष्टिकोण तथा स्थानीय तहमा रहेको समुदायगत मनोविज्ञानको पनि केही हदसम्म भूमिका थियो । राजनीतिक दलले सो भावनाको दुरुपयोग गर्न प्रयास नगरेका पनि होइनन् । तर, घटनापछिको दमनमा राज्य एकतर्फी रूपमा स्थानीय रैथाने थारू समुदायविरुद्ध लागेको जस्तो सन्देश गएको यो जनमतले प्रस्ट पारेको छ ।
जनमतको यो अभिव्यक्तिको सम्मान हुनु जरुरी छ । यसको अर्थ कुनै अपराधमा कसैले छुट पाउनुपर्छ भन्ने होइन । तर, कुनै खास समुदायले आफूमाथि ज्यादती भएको महसुस गरुन्जेल समाजमा दिगो शान्ति र सहअस्तित्व स्थापित हुँदैन । राज्यको वर्चस्वशाली पक्षले सीमान्तीकरणमा परेको समुदायका सम्बन्धमा दृष्टिकोण बनाउने यस्तो पक्षले न्याय आफ्नो पक्षमा भएको महसुस गर्न पाओस् भन्नेमा ध्यान दिनु आवश्यक छ । सायद रेशम चौधरीको पक्षमा व्यक्त जनमतको अर्थ त्यसैमा निहित छ ।