नवलपरासीमा दुई वटा जिसस बन्ने, जिल्लाको संख्या ७७ पुग्यो !

निर्वाचन आयोगले रुकुम र नवलपरासी जिल्लामा दुई-दुईवटा जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय गरेको छ । यससँगै नेपालमा स्वतः ७७ जिल्ला कायम भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भूभाग चार नम्बर प्रदेशमा र बर्दघाट पश्चिमको भूभाग पाँच नम्बर प्रदेशमा पर्दछन् । पूर्व र पश्चिममा बिभाजित नवलपरासीमा अब अलग-अलग जिल्ला समन्वय समिति रहनेछन् ।

यसैगरी रुकुम जिल्लाको पूर्वी भाग पाँच नम्बर प्रदेशमा र पश्चिम भाग ६ नम्बर प्रदेशमा पर्दछन् । त्यसैले रुकुममा पनि दुई जिल्ला समन्वय समिति रहने निर्वाचन आयोगले जनाएको छ ।

रुकुम र नवलपरासीमा दुई-दुईवटा गरी जम्मा चार जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय निर्वाचन आयोगले गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । जिल्ला समन्वय समितिको निर्वाचन गर्नका लागि चारजना जिल्ला न्यायाधीशहरूको नामावली उपलब्ध गराउन कानून मन्त्रालयलाई भनिएको उनले बताए ।

नवलपरासी र रुकुम जिल्लाहरूमा जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न पनि स्थानीय विकास मन्त्रालयलाई भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published.