थाविस अध्यक्षलाई सचिवको कडा प्रश्न- ‘कुन बैठकले लिखित वा मौखिक एजेन्डा उपरोक्त गर्‍यो?

थारु विद्यार्थी समाज (थाविस)का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीले केन्द्रीय सचिव प्रेमा चौधरी र केन्द्रीय सदस्य संजय थारुसँग स्पष्टीकरण सोधेको छ। समाजको नीतिविपरीत कार्य गरेको भन्दै चित्त बुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनीसहित एक हप्ते स्पष्टीकरण सोधिएको हो। दुवै जा थारु कल्याणकारिणी सभाको भातृसंगठन थारु विद्यार्थी सभामा आबद्ध भएपछि स्पष्टीकरण सोधिएको बताइएको छ। विद्यार्थी सभामा संजय थारु तदर्थ समितिका संयोजक र प्रेमा चौधरी उपसंयोजक हुन्।

स्पष्टीकरणको जवाफ सचिव चौधरीले आइतबार दिएकी छन्। उनले अध्यक्षमाथि कडा प्रश्न गर्दै एक पन्ने स्पष्टीकरण दिएकी छन्। ‘उपरोक्त सम्बन्धमा थारु विद्यार्थी समाज केन्द्रीय कार्य समिति काठमाण्डौको लेटर प्याडमा मिति २०७३।१०।१० गते चलानी नं. १५७५ भनिएको पत्र फेसबुकको म्यासेन्जर मार्फत मेरो इनबक्समा माघ ११ गते मैले प्राप्त गरेँँ। म थारु विद्यार्थी समाजको केन्द्रीय पदाधिकारी जस्तो पदमा रहेको व्यक्तिलाई यसरी एकाएक फेसबुकको इनबक्समा प्राप्त गरेको पत्रबाट आशचर्य चकित भएँ र पत्रमा लेखिएको बिषयवस्तु बाट स्तब्ध पनि भएँ,’ उनले लेखेकी छन्।

उनले अध्यक्ष चौधरीलाई यो निर्णय एक्लौटी हो वा कुन निकायको बैठकले गरेको भन्दै प्रश्न गरेकी छन्। ‘पहिला त म केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद चौधरद्धारा हस्ताक्षरित पत्र प्रति नै केहि प्रश्न गर्न चाहन्छु। केन्द्रीय पदाधिकारीजस्तो व्यक्तिलाई कारबाही गर्नुपर्दा थारु विद्यार्थी समाजकोे कुन निकायको बैठक बसि यस्तो गम्भीर निर्णय लिइएको हो पत्रमा स्पस्ट छैन र यसैमा मलाई चित्त बुझेको छैन,’ पत्रमा उल्लेख छ। उनले अध्यक्षमाथि पाँच प्रश्न तेर्स्याएकी छन्। उनले ती प्रश्नहरुकको जवाफ पनि अध्यक्षसँग माग गरेकी छन्।

उनले गरेको प्रश्न यस्ता छन्:

१. मलाई जानकारी भएअनुसार थारु विद्यार्थी समाज बैधानिक रुपमा कुनै राजनीतिक दल तथा कुनै निजि संस्था नभएको र सम्पूर्ण थारुविद्यार्थीहरुको साझा जातीय संस्था भएकोले र थारु विद्यार्थी समाज र थारु कल्याणकारिणी सभा अलग अलग समाजिक संस्था हो र दुवै एक अर्काका सहयोगी संस्था पनि हुन तर समानान्तर संस्था होइनन् । विगतको समयमा पनि थारु विद्यार्थी समाजमा रहेकाहरु थारु कल्याणकारी सभामा पनि आबद्ध हुँदै आएका छन् । सोही कारण म पनि थारु कल्याणकारी सभामा आबद्ध भएको हो र सभाले जिम्मेवारी दिएको कार्यको जिम्मेवारी पनि लिएको हो ।

२. पत्रमा भनिए जस्तो मौखिक सचेत थाविसले मलाई कहिले गराएको छ ? थाविसको कुन बैठकको लिखित वा मौखिक एजेन्डा उपरोक्त विषय भएको छ ? मलाई यस विषयमा पत्र प्राप्तहुनु भन्दा पहिला कुनै प्रकारको पनि जानकारी छैन ।

३. पत्रमा भनिए जस्तो थारु विद्यार्थी समाजको इतिहासलाई लत्याइ नीति विपरीत उछृखंल कार्य कसरी मैले गरेँ ? थारु विद्यार्थी समाजको कहिले यस्तो नीति बन्यो कि थारु विद्यार्थी समाजमा रहिसके पछि थारुसँग सम्बन्धित अन्य कुनै संस्थामा अवद्ध हुुनु उछृखंल कार्य हुनेछ र थारसँग सम्बन्धित अन्य कुनै कार्य मा संलग्न भए त्यस व्यक्तिको इज्जत र सम्मानको हुर्मत लिइनेछ? मलाई कुनै जानकारी बिना के कति नियतले यस्तो कु शब्दहरु प्रयोग गरिएको पत्र पठाइएको हो? स्पष्टहुन चाहन्छु?

४. थारु विद्यार्थी समाजमा आबद्ध भएकाहरु समाजकै नीति र सिद्धान्त विपरीतको अरु विभिन्न राजनीतिक गैर राजनीतिक विद्यार्थी संगठनहरुमा आबद्ध हुन हुने तर म थारु विद्यार्थी समाजको नीति र सिद्धान्त अनुकुल तथा नीति र सिद्धान्त अनुरुपको प्रतिफल प्राप्त हुने संस्थामा आबद्ध हुँदा मेरो प्रतिस्ठाको किन हुर्मत लिइएको हो ?

५. पत्रमा भनिए जस्तो १ हप्ता भित्रै मैले जवाफ पठाएकोछु तर पत्र बाटै मेरो चित्त बुझेको छैन त्यस कारणले थारु विद्यार्थी समाजको अभिलम्ब केन्द्रीय समितिको बैठक बोलाई केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद चौधरीले बैठकमा जवाफ दिनुपर्छ । (पुनश्चःम सधै थारु विद्यार्थी समाजको विधान, नीति, सिद्धान्त अनुकुलनै कार्य गरेको छु र गरिरहनेछु)

त्यस्तै केन्द्रीय सदस्य संजय थारुले पत्र पाएपछि फेसबुकमा प्रतिक्रिया जनाउँदै कडा आपत्ति जनाएका थिए। उनले पार्टीको झोला बोक्नेहरु थारु विद्यार्थी समाजमा बिना साधारण सदस्य एकैचोटि केन्द्रीय समितिमा आउन मिल्ने, थारु विद्यार्थी समाजकै नाममा समानान्तर समिति खोल्दा बढुवा दिने, तर स्वतन्त्र समाजिक स‌ंगठन थारु कल्याणकारणी सभामा आबद्ध हुँदा थारु विद्यार्थी समाजले कारबाही गर्ने?’ भन्दै प्रश्न गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *