सीताराम चौधरी।
किशोरजी तपाईँसँग मेरो न कुनै ब्यक्तिगत इगो छ, न कुनै इन्ट्रेस्ट नै। तपाईँ दस वर्स पत्रकारिता गर्नुस् वा २० वर्ष त्यो सबाल होइन। सबाल र चासोको विषय यो हो जुन माघीजस्तो पर्वमा किन विवाद भयो र भैराखेको छ? यो जनतालाई जान्ने अधिकार छ। तपाईँले माघीको विषयमा केही भ्रमपूर्ण विचार लेख्नुभाथ्यो, त्यसको यथार्थ कुरा मैले प्रष्ट्याएको मात्र हुँ। किनकि यो साझा विषय भएकाले सबैले थाहा पाउनुपर्छ।
मैले बुझेको, जहाँ अन्याय, विभेद र उत्पीडन हुन्छ त्यहाँ विरोध र विद्रोह हुन्छ। त्यो चाहे घर होस्, संस्था होस् वा देश। आज यही अन्यायविरुद्ध युवाले बडो हिम्मत गरेर विरोध गरे, विद्रोह गरे र रिजल्ट पोहोरको माघीमै दिए। १३ लाख खर्च गरेर गर्ने माघी घटेर ७ लाखमा झारे यो युवाले उठाको आवाजको नतिजा हो। तपाईं पत्रकार हुनुहुन्छ यदि विश्वास् छैन भने अडिट रिपोर्ट माग्नुस् र हेर्नुस सबै कुरा प्रष्ट हुन्छ। यसरी प्रत्येक वर्ष माघीजस्तो साँस्कृतिक पर्वमा लाखौको भ्रस्टाचार हुने गर्छ यो रोक्ने हिम्मत गर्ने कि नगर्ने?
थाकस उपत्यकाको महाधिवेशनमा यही माघीको भ्रस्टाचार विषयमा ठूलो प्रश्न उठेको थियो। जुन अधिवेशन कमिटीले प्रष्ट पार्न सकेन। अहिलेका बुद्धिजीबी सचेत युवाले उठाएको सबाल एकदम जायज छ। यो हिम्मत सबै सचेत नागरिकमा आउनुपर्छ। आज हामीले पनि यही आवाज उठाएका हौं, हामीले चाहेको खोजेको पारदर्शिता हो। जुन हरेक सचेत नागरिकले खोज्नुपर्छ।
यसको लागि हामीले केही आधारलाई टेकेर संयुक्त खाताको कुरा गरेका थियौं। जुन थाकसले मानेन उल्टै युवालाई भ्रम छर्दैछ हामिले दिएको हो मानेन भनेर। उनीहरुले प्रमुख हस्ताक्षरकर्ता हामी थाकस हुन्छौं भन्दैछ। प्रमुख हस्ताक्षरकर्ता भनेको के हो? उल्लु बनाउने काम त होइन? यस विषयमा गहन सोच हामीले राख्नैपर्छ। हामीले चाहेको भ्रष्टाचार निर्मुलरहित माघी महोत्सव हो। जुन सबैले चाहेको हो।
युवाले माघीबारे उठाएको एजेन्डामाथि प्रश्न र असहमति जनाएका हुन्। असहमति जनाउनु स्वाभाविक हो किनकि तपाईं यो विषयलाई जिरो लेभलबाट विश्लेषण गर्नु भएको छैन। आज थाकस कुन धारमा बगिराछ यस्को खोजीनीति गर्नुस्। तपाईँको भनाइ सापटी लिँदा कांग्रेस, एमाले, माओवादीभन्दा जेठो संस्था आज माघीजस्तो राष्ट्रिय पर्वलाई मागी खाने ब्यापारिक भाडो किन बनाउँदैछ? थारुको फुटको कुरा गर्नुभाछ अनि फुटको कारण खोज्ने प्रयास कहिल्यै गर्नुभयो पत्रकारज्यु? थाकस थारुको स्वतन्त्र संस्था हो भने थाकसमा भर्ति हुन के के योग्यता चाहिन्छ? कि कसैको आसेपासे भए पुग्छ? अहिलेको विभागमा भएका सदस्यहरु कतिका सन्तुष्ट छन्? मलाइ लाग्छ तपाईं पनि एउटा विभागको जिम्मेवार सदस्य हुनुहुन्छ। थाकसमा पूर्वपश्चिम सबैलाई साँच्चिकै न्याय गरेको छ? थारुलाई लडाउने भिडाउने काम कसले गरेको छ? कसले गर्दैछ? त्यो तथ्य खोज्नुस्।
थाकसलाई थारु विद्यार्थी सभाको आवस्यकता परेको छ आज। हो थाकसलाई खोल्न पाउने अधिकार छ तर कुन नियतले खोल्दैछ र यसले समाजमा कस्तो असर पर्छ त्यो कुरा सबैले बुझ्नु जरुरी छ। थाकस थारुको जिम्मेवार संस्था हो भने निश्पक्ष भएर सबैलाई आत्मबोध हुनेगरी मिलाएर लाने कि थारु थारुमा द्वन्द्व सिर्जना गर्ने?
सबै जना मिलेर काम गरेपछि सबैको हक बन्छ। कसैलाई काखा कसैलाई पाखाले फेरि समस्या जन्माउँछ। माघी कुनै एउटा संस्थाले गर्ने होइन। काठमाडौंमा भएका सबै अधिकारमुखी संस्था मिलेर माघी गर्दै आएका हुन्। यसर्थ सबैलाई जानकारी होस् यहाँ समस्या भनेकै एउटै संस्थाको मोनोपोली र अरु संस्थाको अस्तित्व स्वीकार्न नसकेर माघीमा समस्या आएको हो।
यहाँ थारु विद्यार्थीलगायत दर्जनौं अधिकारमुखी थारुको संघ सस्था छन् र आफूले सक्नेजति समाजमा योगदान गर्दै आएका छन्। थाकस र थाविसलाई मात्र थारुको संघ संस्था देख्नु आफैँमा कमजोरी हो। अरु संस्थालाई कमैया बनाएर आफू किसान बन्ने प्रवृत्तिले गर्दा यस्तो समस्या आको हो।
घरमा छोराछोरीको विवाद हुँदा बुबाआमाले मिलाउनुपर्छ। तर यहाँ के देखियो भने छोराछोरिको झगडा हातमुख बाँधेर टुलुटुलु हेरिरहेका बुबाआमा पनि देखियो। जुन थाकसको केन्द्रले केही जिम्मेवारी लिएर मिलाउनुपर्थ्यो। तर केन्द्रले कुनै गम्भीरता देखाएन। जसका कारण समस्या बाझिँदैगयो। अगामि दिनमा अझै बिकराल होला भन्न सकिन्न।
केन्द्रले चाहेको भए सहज मिल्थ्यो तर ऊ आफैँ लाचार भएर मुकदर्शक भएको छ। यसर्थ गल्ती कहाँ छ, देशको चौथो अंगको दर्जा पाउनुभएका तपाईँहरुले खोज्नुस्। एकैपटक टुप्पोको विश्लेषण गरेर तपाईँ समग्र रुखको बारेमा थाहा पाउनु हुन्न। साँच्चै जराबाट एकपटक अध्ययण गरेर हेर्नुस् वास्तविकता बुझ्नुहुन्छ।
पूर्व-पश्चिमको भ्रमपूर्ण कुरा गरेर थारुलाई फुटाउने काम नगर्नुस्। अहिले दुबै माघीको संयोजक पूर्व सप्तरी जिल्लाबासी नै हुन्। अनि कसरी पूर्व-पश्चिमको माघी भनेर छुट्याउन मिल्छ। हामी पूर्व झापादेखि पश्चिम कञ्चनपुरका २७ वटा थारुको अधिकारमुखी संस्था मिलेर साझा रुपमा माघी गर्दैछौं। तपाईँ जति लामो विश्लेषण गर्नुस् सत्य कुरा छोप्न सक्नु हुन्न।
लेखक बर्दियाली थारु विकास मञ्च काठमाडौंका अध्यक्ष हुन्।