राजधानीमा थारु समुदायले सामाचकेवा पर्वको अन्तिम दिन सोमबार दिउँसो सामाचकेवाको मूर्ति नदीमा विसर्जन गरी सकिएको छ। राजधानीमा बसोबास गर्ने थारु समुदायको थारु महिला सभा, थारु महिला समाजको संयुक्त आयोजनामा सामाचकेवा मनाइएको थियो।
समा खेले गेलियै हो भइया कोनै भइया के रे टोल
समा हेराइए गेल हो भइया चकेवा लाइये गेल चोर
एक मुठी खरही हो भइया करियौ.न इजोत
ओही इजोतवे हो भइया चिनाइये जतै य चोर, समा खेले….
चुंगला लगन विताक अलै ससुराली मे पाकल–पाकल दाह्री मेना
चुकंला गेलौं पोखर डिस, सार ठेलदेल कै न
ओमहर चुंगला दात खिसारले परल छै फूलबारी मे, पाकल पाकल दाह्री मेना
माथिको गीत गाउँदै सामाचकेवाको मूर्ति विसर्जनमा थारु महिलाले गीत गाउँदै माटोबाट बनाइएको सामाचकेवाका मूर्ति विसर्जन गरेका थिए । थारु महिला सभाकी अध्यक्ष तारा चौधरीका अनुसार सामाचकेवा पर्वको सुरुवात छठको एक दिनअघि खरनाका दिन ल्याएको माटोबाट निर्मित कलात्मक मूर्तिमा महिलाको सामुहिक गीत गायनसँगै पूजा गरी हुन्छ ।
यो पर्वले नयाँ पुस्ताका महिलाले माटोबाट मूर्ति बनाउने कलाको ज्ञान पनि पाउँछन् । सामाचकेवा मैथिल र थारु समुदायका महिलाले मनाउने गर्छन् । काँचो माटोबाट बनाइएका मानव, चरा, चुँगला, खरलिस र जनावरलगायत मूर्तिलाई सामा भनिन्छ भने आगोमा पकाएका मूर्तिलाई चकेवा भनिन्छ ।
पूर्णिमाको पूर्वसन्ध्यामा सामाचकेवालाई महिला समुदायले पूजा गरेर गीत गाउँदै दहीचिउरा, खिरलगायत परिकार ख्वाएर भोलिपल्ट तलाउ, नदी वा पोखरीमा विसर्जन गर्ने परम्परा रहेको थारु महिला समाजकी अध्यक्ष सरस्वती चौधरीले बताइन् ।
भाइबहिनी मायाको प्रतीक
यो पर्व परापूर्वदेखि चल्दै आएको धार्मिक विश्वास गरिन्छ । किंवदन्ती अनुसार द्वापर युगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन घुम्न जाँदा ऋषिसँग रमण गर्ने गरेको झुठो कुरा सेविका डिहुलीले कृष्णसँग लगाइन् । कृष्णले आवेशमा आएर सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिए । सामाका भाइ साम्बले श्रापबारे थाहा पाएपछि दिदीलाई श्रापमुक्त गर्न घोर तपस्या गरे । तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापमुक्त गरे । भाइले दिदीलाई श्रापबाट उद्धार गरेकाले जसले माटाको सामा बनाएर गाउँ भ्रमण गरी पर्व मनाउँछन्, उसका दाजुभाइ दीर्घायु हुने वरदान श्रीकृष्णले दिएकाले यो पर्व मनाउन थालिएको जनविश्वास रहेको मैथिल महिला समाजकी अध्यक्ष रुपा झाले बताइन् ।