रेशम चाैधरी।
विभेदको लडाइँ हरेक देशमा हुन्छ। जुन देशले स्वीकार्छ त्यो देश छिटो प्रगतिपथमा लम्कन्छ। जुन देशमा यसलाई अस्विकार गर्ने प्रयत्न गरिन्छ, त्यो देशमा वर्गीय विभेदको लडाइँ लम्बिन्छ। लम्बिएको विभेदको लडाइँले जब विजय प्राप्त गर्छ, त्यो अत्यन्तै क्रूरताले भरिपूर्ण हुन्छ।
अहिले त बिस्तारै चेतनाको प्रवेश हुँदैछ। ठीक यहीबेला वर्गीय अधिकार दिएर देशलाइ विकासतर्फ उन्मुख गराउनुपर्ने सही समय पनि हो। धेरै पुरातनवादी सोचाइका साथमा समाजलाई डोर्याउन खोज्नु मुर्खता हो। भर्खरै देशमा एउटा विवाद्ले समाजिक सञ्जाल भरिएको छ। विजया दशमीको टीका लगाउने क्रममा एकातिर राजाले टीका लगाइरहेको तस्बिर र अर्कोतिर राष्ट्रपतिले टीका लगाइरहेको तस्बिर भाइरल बन्दैछ।
परिवर्तनको कुरा गरेर नथाक्ने, जनवादी सोचको सधैं ब्याख्या गर्ने एमाले पार्टीबाट राष्ट्रपति छिन- विद्यादेवी भण्डारी। राजा श्रीपेच खोसिएर निर्मल निवासमा चुपचाप छन्। उनलाई सामन्तिको आरोप लगाएर समय खेर फाल्नु बेकार छ किनकि उनी अधिकारविहीन छन्, उनीसँग कुनै शासन सत्ताको बागडोर छैन। तर जनतान्त्रिक, गणतान्त्रिक राष्ट्रपतिले घुँडै टेकाएर टीका लगाइएको पाइयो। घुडा टेकेर टीका लगाउने हिन्दू परम्परा कहाँ छ? राष्ट्रपतिको टीका लगाउने आसन र जनताले टीका थाप्ने आसनले नै भन्छ कि हामी अधिकार सप्पन्न राष्ट्रका जनता होइनौं। जनतालाई अब कस्तो व्यवहार गर्दा उचित हुन्छ? त्यो महामहिमको सल्लाहकारले पनि सुझाव दिनुपर्ने हो।
आन्दोलनमा सँगसँगै जिन्दावाद! मुर्दावाद!! भन्ने सहयात्री साथीले घुँडा टेकेर टीका लगायो भने उ आफूलाइ धिक्कार्छ र परिवर्तनप्रति घृणा गर्छ। हामी सबै इतिहासबाटै शोषित छौं भनेर नै जनयुद्ध र गणतन्त्रको आन्दोलनमा जनताले बलिदानी दिएको कुरा पनि भुल्नु हुँदैन ।
मैले विभेदको प्रसंगबाट शीर्षकको उठान गरेको छु। विभेद के हो? विभेद कहाँ भयो? विभेद शीर्षक भजाएर आजसम्म कुन राजनीतिज्ञले शासन गरेको छैन? अढाई सय वर्षसम्म एउटैको वंश सन्तानले मात्रै शासन गर्नु विभेद होइन? १०४ वर्षसम्म लाटो राणा पनि प्रधानमन्त्री हुनु विभेद होइन? नेपाली शासन सत्ताको बागडोरमा सयौं वर्षदेखि सहयोगीको नाममा प्रशासन चलाउने एउटै वर्ग विभेद होइन? यहीँबाट स्पष्ट हुन्छ कि नेपालमा सयौं वर्षदेखि विभेदको राजनीति संस्कार बसेको छ। प्रसँग आउँदा धेरै मुर्ख विद्वानहरुको फोस्रो लेखहरु पनि पढ्न पाइन्छ। हामीले लगौँटी लगाएर बनारसमा पढ्दा तिमीहरू कहाँ थियो? भनेर उल्टोप्रति प्रश्न गरेको पाइन्छ। पुरातनवादी कुन शासक र सत्ता सहयोगीले हाम्रो वर्गलाइ शैक्षिक चेतनाको लागि अभिप्रेरित गर्यो? दु:ख बिसाउन मन्दिरमा जाँदा मुर्ति छुन नदिने, कुन सामन्ति शासकको पुर्खा हो? नेपाली शासन प्रशासनमा वर्गीय प्रवेशको इतिहास खोइ? अहिलेसम्म विभेदको चरम परकाष्ठा छ। यही दशैंमा कतिपय दलितको सन्तानले टाढाबाट मन्दिरमा नवमीको पूजा गरेको टुलुटुलु हेरेर बसे होलान्, यो एक्काइसौं शताब्दीको कुन सम्मान हो? हो यही विभेदका कारण गरिब, दलितका बस्तीहरु अहिले धर्म परिवर्तनको मुखमा पुगेका छन्। बिरामी परेको बेला गरिब, दलितलाइ कसैले सिटामोल दिन्छ, सम्मान गरेर बोल्छ, अनि गरिब दलितले जहाँ सम्मानित हुने अवसर पाउँछन्, त्यहीँ तिनको स्वर्ग हुन्छ, त्यहीँ तिनको ईश्वर हुन्छ, पक्का परिवर्तन हुन्छ र त्यही स्वीकार पनि हुन!
शासन र सत्ता आफ्नो भएपछि प्रतिरोध गर्नपनि सजिलो हुन्छ। अहिलेका शासकले हामीमाथि गरेको प्रयोग पनि यही हो। हिजो आफन्त, आफन्तकै बीचमा लडाइँ थियो। पहिचानको परिभाषा पनि उनैले सिकाए र अहिले अस्विकार पनि उनैलाई हुँदैछ। थारुवान, थरुहट, मगरात, लिम्बुवान, मधेस, तमुवान, पहिचान हुन्। कसले भन्छ यी पहिचान होइनन्? तर शासक र सत्ता सहयोगीले जबर्जस्ती भन्दै हिँडेका छन् यो जातीय राज्यको माग हो। अरे! महाशय हो? थारू जात हो तर थारुवान पहिचान हो। मगर जात हो तर मगरात पहिचान हो। तमुवान राज्यमा खनाल, नेपाल, ओली जातका मान्छे मुख्यमन्त्री हुनसक्छन् तर तमुवान समग्र राष्ट्रको पहिचान हो। गौतम, ओली प्रदेश हुन सक्दैन यी केवल जाति हुन सक्छन्। राष्ट्रको पहिचान हाम्रो पहिचान हो, भनेर किन स्वीकार हुन सकदैन? किन आज आदिवासीको पहिचानसँग यत्रो घृणा? आदिवासीले स्वीकार र सहमतिको शासन प्रणालीलाइ स्विकार्दै आएको सबैलाई जगजाहेर छ।
हामीले पुरानो हिसाब किताब खोजेको होइनौं, वर्तमानमा हाम्रो सहभागीता खोजेका हौं। प्रतिशतका आधारमा राज्यको शासन प्रणालीमा हाम्रो पनि सहभागिता हुनुपर्छ भन्ने हो। त्यही, अहिलेको शासकले स्विकार्न नसक्नु निरंकुशता हो। अस्विकार गर्न खोज्नु नै विभेद हो। यो विभेदको राजनीतिले देशलाई कहाँ पुर्याउछ? राजनेताले बुझ्नुपर्छ, होइन भने आउने परिणामको जिम्मेवार पनि नेतृत्ववाला नै हुनेछन्। विभेदको समाधानको खोजीमा जनयुद्ध भयो, थुप्रै नेपाली जनताले अनाहकमा ज्यान गुमाए। विभेदकै कारण यत्रा परिवर्तन भएका छन् तैपनि वभेद निरन्तर छ।