र, मैले केटा अस्वीकार गरेँ

सिर्जना चौधरी।

छोरी बढ्दाको पीर हरेक आमाबुबालाई हुन्छ । छोरी अन्माउँदाको पीरभन्दा छोरी अन्माउन नपाएको पीरले पीरोल्ने रहेछ। मानौ छोरीलाई अन्माउनकै लागि जन्माइन्छ। त्यसैले छोरीलाई दिनुपर्ने अधिकार भुलेर छोरीले पाउनुपर्ने घर र वरमा प्राथमिकता दिइन्छ।

पाँच वर्ष भइसक्यो मेरो लागि केटा खोज्न थालेको, मेरो आमाबुबा र आफन्तहरु निराश छन्। मेरो आमालाई पीर छ छिमेकीमा छोरीहरु अब कोही अविवाहित रहेनन्। आफ्नी भने जेठी छोरीको अझैसम्म विहे भएको छैन। मेरो बुबालाई पनि कम तनाव नहोला आफ्नी छोरीले हेर्न र माग्न आएका केटाहरुलाई अस्विकार गरेकाले। भाइ बहिनीलाई उति नै नमजा लाग्छ होला टोलमा पल्लो घरमा जन्ती आएको देख्दा। यसपालि त बहिनीले भनि पनि ‘छिट्टो गर्नु के विहे हजुरको साथीहरु सबैको भइसक्यो।’ बहिनीले मात्र होइन सबैले भन्न थालीसके, ‘कहिले विहे गर्ने अब त तिमीमात्रै बाँकी छौं।’ कसैले आफैँ अनुमान गर्छन र भन्छन,  ‘यो वर्ष त विहे गर्ने होला है?’ उनीहरुको आफ्नै धारणा हुन्छ, ‘यो केटी, केटा छान्दाछान्दै बुढी हुने भइ, रोज्दारोज्दै चिप्लिन्छे’ आदि इत्यादि।

पहिलोपटक मेरो विहेको कुरा चल्दा मैले मेरी आमालाई भनेकी थिएँ, ‘आमा अहिल्यै भर्खर त मैले एसएलसी सकाएँ’, आमाको उत्तर थियो, ‘अहिलेबाट नै  खोज्दा ठीक्क हुन्छ, घर मिले वर मिल्दैन, वर मिले घर मिल्दैन, अहिले नभएर कहिले त?’ मलाई सुझाव दिने छरछिमेकी पनि कम कहाँथियो। सबैको उही सुझाव, छोरी मान्छे माइती छाडेर जानैपर्ने जात, जति छिटो विहे उति नै छिटो घर व्यहार सम्हाल्न सक्ने, घर वर त भाग्यमा लेखेको हुन्छ। सबै भाग्यको खेल हो रे, बलिदान र सर्मपण स्वीकार गर्नुपर्ने।

तर भाग्यमा लेखेको केटीको मात्रै हुन्छ, स्वीकार गर्नुपर्ने केटीले मात्रै हो र, विहेको लागि केटीले मापदण्ड पूरा हुनुपर्ने, केटी नै योग्य हुनुपर्ने।

त्यसैले मलाई  पनि योग्य वर चाहिन्छ मेरो मापदण्ड पूरा हुने। मलाई विहे गर्ने केटाको मापदण्ड पूरा हुनुपर्ने मेरो पनि त पूरा हुनुपर्छ। श्रीमती र बुहारी आदर्श हुनुपर्ने श्रीमान र ज्वाइँ पनि त आदर्श पाउनुपर्ने हैन र। सबै केटा योग्य हुन्छ भने पनि त छैनजस्तै सबै केटीहरु हुँदैनन्। सायद मेरो मापदण्ड नमिलेर होला अझैसम्म म अविवाहित छु। जसको चिन्ता मेरो आमा बुबालाई छ, मेरो समाजलाई र मेरो आफन्तजनलाई  पनि उति नै।

पहिलोपटक मेरो लागि प्रस्ताव आयो, मोटरसाइकलको मागसहित। मेरो श्रीमान बनिदिन मोटरसाइकल दिनुपर्ने रे। सायद उसलाई श्रीमती हैन साधन चाहिएको रैछ। उसलाई मोटरसाइकलसँग प्रेम गर्नु रैछ तर मलाई त एउटा जीवनसाथी चाहिएको थियो जोसँग म आफ्नो जिन्दगी काट्न सकुँ, आफ्नो सुखदुःख बाँड्न सकुँ, उसको दुःख बाँड्न सकुँ। मलाई साधन लाई माया गर्ने मान्छे हैन मानवलाई माया गर्ने मान्छे चाहिएको थियो।

दोस्रोपटक बुबाले भन्नुभयो, ‘हेर छोरी, केटाहरुले माग्ने चलन हो र हामी केटीहरुले दिनुपर्छ, हामी नदिनसक्ने होइन यसपलि त्यस्तो नहोस्।’ यसपालि त केटाको मात्र माग कहाँ हो र परिवारकै माग थियो। जेठी बुहारीको दाइजो यति उति आएकाले, अबको बुहारीले उति नै सामान ल्याउनुपर्ने। यदि जेठीको तुलनामा कम आयो भने, दाइजो कम ल्याउने माइली हेपिनसक्ने। यी, यस्तै प्रस्तावसँगै आएको प्रस्ताव मैले अस्विकार गरेँ। दाइजो प्रथाको उन्मूलन भएको मेरो देशमा, कानुनी कारबाहीको व्यवस्था छ। तर यही समाजमा दाइजो जस्तो कूप्रथा छोडेको छैन। दाइजो लिनु या दिनु हुँदैन भन्ने समाजले विभिन्न तरिकाले यसमा आबद्व छन्। यसरी कूप्रथालाई निरन्तरता दिने परिवारसँग सम्बन्ध राख्न उचित लागेन। मलाई माया गर्ने परिवार चाहिएको थियो, सम्पत्ति कमाउने दलाल हैन। मलाई मेरो सुरक्षा गर्ने परिवार चाहिएको थियो मेरो सम्पत्तिको सुरक्षा गर्छु भन्ने परिवार हैन।

आमा मदेखि खुसी हुनुहुन्नथ्यो, यसपाली मलाई सम्झाउनुभयो, ‘छोरी अहिले राम्रो घर छ, केटा पनि धेरै राम्रो ठूलै खानदान छ, यस्तो राम्रो प्रस्ताव सबैलाई आउँदैन, तँ यति धेरै पढेकिछस् भनेरमात्र हो।’ आमाको कुरा सुन्दा खुसी भएँ, मलाई राम्रो लाग्यो कुरा सुन्दा तर फेरि पनि सबैले चकित पार्दै त्यो प्रस्ताव पनि अस्विकार गर्न पुगे। मलाई केटा मन नपरेको होइन, मलाई त्यो परिवार पनि मन नपरेको होइन। मलाई मन परेन उनीहरुको शर्तहरु, उनीहरुले बनाएको सीमाहरु। मेरो पढाइको आधारमा रोजेको हो भने मलाई पढ्न मन छ, बाहिर काम गर्न मन छ, म आफ्नो कामलाई सम्मान गर्छु र उनीहरुको शर्तअनुसार पढाइ र मेरो काम छोडी घरमै सिमित भएर धनाढ्य जमिन्दारकी बुहारी बनेर बस्नु छैन। मलाई मेरो अस्तित्वलाई सम्मान गर्ने मेरो कामको कदर गर्ने, मलाई हौसला दिने सहयोग गर्ने सचेत परिवार चहिएको छ।

पटकपटक प्रस्ताव अस्विकार गरी आफ्नो परिवारलाई दुःखी बनाउने मेरो चाहना होइन, न त समाजले मेरै कुरा काटोस् भन्ने रहर। राम्रो श्रीमान पाउने मेरो पनि चाहना छ। म पनि कुनै केटाले योग्य केटी खोजेजस्तै योग्य केटा खोज्दैछु। म पनि अस्विकार गर्न सक्छु आफूलाई योग्य नलागे।

निरास छन् मेरा आफन्तहरु मेरो विहे नभएकाले। फलानाको छोरी अझै विहे नगरी बसेकी छ भनेर गाँउभरि चर्चा हुने गर्छ। चिन्तको विषय हो म,जसको लागि मेरो विहे अब यसपालि हुन्छ भनेर गरेको अनुमान गलत हुन जान्छ। थाक्नुभयो होला मेरो बुबा अब मेरो लागि घर, वर खोज्दाखोज्दै। आमाको सधैंभरिको गुनासो, छोरीको विहे हुन नसक्दाको पिर।

म खुसी छु र सन्तुष्ट पनि।  म रमाइरहेकी छु आफ्नो परिवारसँगै, मलाई समाजले कुरा काट्नुमा केही गुनासो छैन। मेरो आफन्तको निराशामा निराशा लाग्दैन। न  मेरो दौतरीहरुको सन्तुष्ट र असन्तुष्ट जीवनसँग आर्कषित छु। म त केवल एउटा आफ्नो लागि योग्य घर, वर चाहन्छु।

मलाई दुःख लाग्दैन न कुनै पछुतो, मैले क्रमशः माग्न आउने केटाहरुलाई अस्विकार गरेकोमा किनभने मलाई आफ्नो योग्य लागेन। मलाई गर्व छ म यस्तो साँघुरो सोच भएका केटालाई आफ्नो श्रीमान नबनाएकोमा।

सायद मेरो समाजलाई, आमाबुबालाई मैले मेरा लागि अयोग्य भनेर अस्विकार गर्नु जायज नहोला। किनकि अस्विकार गर्नु, कमीकमजोरी निकाल्नु त केटातर्फबाट हुन्छ। ज्ाहिले पनि केटी र केटीतर्फकाले नै केटापट्टिको अगाडि झुक्नुपर्ने। केटाको कमीकमजोरीलाई नजरअन्दाज गर्नुपर्ने मानौ कि केटीलाई नै जरुरी छ, जरुरी त केटालाई पनि पर्छ। केटी जहिलेपनि आफ्नो चाहना, रहर दबाउनुपर्ने। केटाको लागि केटी योग्य र मापदण्ड पूरा गर्नुपर्ने हुन्छ भने केटीको लागि केटा पनि त मापदण्ड पूरा भएको हुनुपर्छ।

लेखक त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी छन्।

Leave a Reply

Your email address will not be published.