सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र माओवादीले मधेसी मोर्चासहितको संघीय गठवन्धनसँग तीनबुँदे सहमति गर्ने भएका छन् ।
तीन दलको कार्यदलस्तरमा सहमतिको मस्यौदा तयार भएको छ । अब शीर्ष नेताहरु बसेर अन्तिम रुप दिने र हस्ताक्षर गर्ने वार्तामा सहभागी नेताहरुले बताएका छन् । कार्यदल सदस्य राजेन्द्र श्रेष्ठका अनुसार मस्यौदामा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने समयसीमा तोकिएको छैन । यसबारे निर्णय गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिइएको छ ।
कार्यदलले तयार पारेको सहमतिको मस्यौदाको पहिलो बुँदामा संघीय गठवन्धन/मधेसी मोर्चाले उठाएका मागका सन्दर्भमा तत्काल सम्बोधन गर्न सकिने मागहरु क्याविनेटबाट सम्बोधन गर्ने उल्लेख छ ।
दोस्रोबुँदामा संविधानका सन्दर्भमा गठवन्धनले २६ र मोर्चाको ११ बुँदे मागलाई सन्दर्भ मानेर चाँडो भन्दा चाँडो सीमांकन लगायतका विषयमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने उल्लेख छ । तेस्रो बुँदाका कांग्रेस र माओवादीले प्रस्ताव गरेका प्रधानमन्त्रीका उम्मेदवारलाई मत दिने उल्लेख छ ।