शहिद कमल विपिन स्मृति प्रतिष्ठानबाट पत्रकारिता तालिम

कारी महतो/चितवन।

शहिद कमल विपिन स्मृति प्रतिष्ठान र थारु पत्रकार संघ चितवनको संयुक्त आयोजनामा दुई दिने पत्रकारिता तालिमको समुदघाटन चितवन जिल्लाको स्थानीय विकास अधिकारीले गरेका छन्। शहिद कमल विपिन स्मृति प्रतिष्ठानका अध्यक्ष जीतबहादुर महतोको अध्यक्षतामा जिल्ला विकास समिति चितवनको बैठक हलमा सञ्चालन हुने उक्त तालिमका साथै मोटर ड्राइभिङ तालिमको समेत समुदघाटन गरियो।

स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलले पूर्ण प्रेस स्वतन्त्रतालाई समावेशी लोकन्तन्त्रको प्राणवायुको संज्ञा दिए। उनले भने, ‘समावेशी लोकतन्त्रको प्राणवायु भनेको पूर्ण प्रेस स्वतन्त्रता हो,’ उनले सञ्चार माध्यमको महत्वलाई प्रष्ट पार्दै भने, ‘सञ्चार माध्यमले सरकारी निकायलाई जनताप्रति जवाफदेही र जिम्मेवार बनाउने काम गर्दै आएको छ।’ पत्रकारहरुलाई हौसला र प्रोत्साहन दिँदै उनले भने, ‘पत्रकारहरुमा त्यो ताकत छ जसले ठूला ठूला घटना ल्याउन सक्छ।’

थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति विश्राम महतोले राज्यले थारुहरुसँग गरेको बाचा तथा सम्झौताहरु बिर्सेर थारु समुदायलाई ठगेको बताए।

समारोहमा स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेल, थकस चितवनको जिल्ला सभापति विश्राम महतो, नेपाल आदिवासी जनजाति महासंघ चितवनका सदस्य राम बहादुर भुजेल, थाकस चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी, थाकसका पूर्व केन्द्रीय सदस्य चन्द्र कुमारी चौधरी, थारु साँस्कृतिक संग्रहालयका अध्यक्ष वीरेन्द्र महतो, निड्स संस्थाका अध्यक्ष शिवनारायण चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

कार्यक्रम संयोजक तथा शहिद कमल विपिन स्मृति प्रतिष्ठानका उपाध्यक्ष ललित कुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गरे। थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोले कार्यक्रमका औचित्य तथा आयोजक संस्थाहरुको परिचय माथि प्रकाश पारे।

तालिममा २० जना थारु युवाहरुको सहभागी रहेका छन् भने पत्रकार सन्त कुमार चौधरी र राजु चौधरीले सहजीकरण गरे। कार्यक्रमका लागि जिल्ला विकास समिति मार्फत माननीय रुक्मिणी चौधरीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सहयोग प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published.