–प्रकृति पूजा
मलाई गर्व छ
म नेपाली भएकोमा
मलाई गर्व छ
म थारु भएकोमा
म खुसी छु
मेरो रगतमा थारु बगेको छ
म खुसी छु
मभित्र थारु हुनुको अपनत्व लुकेको छ
म जन्मिँदा
यही थारु भूमिमा बास पाएँ
म पहिलो शब्द
आमा होइन, डाई भने
बाबा, बुडी र बुडु भन्न जाने
अनि हरेक प्रहरमा
थारुत्वको सासले हुर्किँदै आएँ
पहिलो बस्त्र मैले
रातो लेहेँगा र चोलिया पहिरिएँ
कपालमा सप्तरंगी रिवनसँगै
गठहा झोँटीमा, मँगौरी, मँगिया पहिरिएँ
घाँटीमा टौंक, गटैया, गुरिया सुटिया पहिरिएँ
हातमा बाला, बाजु र खुट्टामा चुरुवा पहिरिएँ
अझै मुन्द्री, बुलाकी, भिक्षु अनि
कानमा वीर झुम्की र टर्की पहिरिएँ
नाकमा सुन्दर नथिया फुलीसँगै सजिएँ
त्यही शरीरमा १५ किलोसम्मको गहना पहिरिएँ
मैले आफूलाई पक्का थारु भेटाएँ
तब मलाई गर्व छ
म थारु भएकोमा
म घोँघी, गँगटा र मुसाको परिकार खाँदै हुर्केँ
मिठो चिचर, पटौला, सिन्की, ढिक्री खाँदै हुर्केँ
हरेक दिन नौलो आयाम थप्दै बढेँ
म थारुहरुको सखिया र झुम्रामा रमाउँछु
हो म छोकरा मघौटा दिननच्वामा
संसारलाई मोहित पार्न सक्छु
आफूलाई सुन्दर ढकिया र डेलुवा, सिरहट्टामा
कलाकारिता पोख्न सक्छु
छतरी गुन्द्री पौवा म बनाउन सक्छु
बाह्रै महिना फरक फरक गीत
मैगर सजना ढमार मैना गाउँदै
म आफैँमा हराउन सक्छु
दशैं माघ अनि होरी मनाउँदै
प्रकृतिको पूजा असाह्री र हरेरी मनाउँदै
अष्टिम्की र अट्वारी मनाउँदै
गुरही सँगै म खेल्न सक्छु
म संसारको जुनसुकै कुनामा भए पनि
थारु हुनुमा म गर्व गर्छु
प्रकृतिसँग सहकार्य गर्दै म रम्न सक्छु
म थारु हुँ मलाई गर्व छ
अर्को जुनीमा फेरि थारु भै जन्मिन पाउँ
म थारु भै मर्न पाउँ…
कञ्चनपुर