एपिएफकी नेबिका चौधरी भएन् प्लेयर अफ दी इयर

Nebika Chaudhary

एपिएफ क्लबले ११औं ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि जित्दा नेपाल पुलिसकी कमला पुन सर्वोत्कृष्ट खेलाडी भएकी छन्। कमला राष्ट्रियटोलीकी लिबेरो हुन्। आठ वर्षअघि म्याग्दीबाट भलिबल खेल्न सुरु गरेकी कमलाले पहिलोपल्ट सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाइन्।
चौथो संस्करणबाट एन्जल्स हर्टको जर्सीमा ढोरपाटन कप खेलेकी कमला दुई वर्षअघि नेपाल पुलिसमा आबद्ध भइन्। ‘मेरो सर्वाधिक खुसीको दिन हो आज। ढोरपाटन नेपालको उत्कृष्ट भलिबल स्पर्धा हो।ढोरपाटन उपाधि जित्ने सबैको चाहना हुन्छ। टिमले उपाधि जित्न नसकेपनि सर्वोत्कृष्ट खेलाडी हुँदा खुसी छु। यो सफलताका लागि एन्जर्ल्स हर्ट स्कुल र पुलिस टिमसँग बाँड्न चाहन्छु,’कमलाले भनिन् ‘आयोजकलाई विशेष धन्यवाद। नेपाली खेलाडीले ढोरपाटन भलिबलमा क्षमता देखाउने अवसर पाएको छ। यसले खेलाडीको मनोबल बढाउएको छ।’
सर्वोत्कृष्ट हुँदै कमलाले बुधबार स्कुटर पुरस्कार जितिन्। दुई वर्षअघि माल्दिभ्सँग भएको मैत्रीपूर्ण खेलबाट उनले राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्।

राष्ट्रिय टोलीमा उनले खेल्ने पोजिसन लिबेरो भए पनि कमला टोलीको आवश्यकताअनुसार खेल्छिन्। एन्जल्स हर्टबाट स्पाइकर खेल्ने उनी पुलिसबाट सेटरमा खेलिन्। एक वर्षअघि नेपालले प्रथम दक्षिण एसियाली आमन्त्रित भलिबलमा रजत पदक जित्दा कमला टोलीकी सदस्य थिइन्।

यसैगरी ढोरपाटन कपमा प्लेयर अफ द इयर एपिएफकी नेबिका चौधरी, प्लेयर अफ द सिरिज पश्चिमाञ्चलकी मञ्जु गुरुङ र प्रतिभावान खेलाडीबाट न्यु डायमन्डकी ललिता नाथ पुरस्कृत भए। उत्कृष्ट सबैले टिभिएस स्कुटर प्राप्त गरे।

विधागत रूपमा वेस्ट स्पाइकर डायमन्डकी प्रतिभा माली, ब्लकरमा एपिएफकी सरस्वती चौधरी, सेटरमा डायमन्डकी कृपा अधिकारी, डिफेन्समा पुलिसकी शान्ति लामा, सर्भरमा पुलिसकी कोपिला उप्रेती, क्विक स्पाइकरमा डायमन्डकै ललिता र उत्कृष्ट प्रशिक्षकबाट एपिएफका सुदेशकुमार रिमाल पुरस्कृत भए। सबैले उत्कृष्ट भएकाले जनही ५ हजार पाए।

Leave a Reply

Your email address will not be published.