थारुवान थरुहट संयुक्त संघर्ष समिति पुनर्गठनका लागि बैठक बस्दै

Tharu neta 02

थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठक भोलि (बुधबार) बस्ने भएको छ। थारु आन्दोलनका नेतृत्वकर्ताको सर्वत्र विरोध हुन थालेपछि करिब डेढ महिनापछि बैठक बस्न लागेको हो। बैठक बस्न लागेको संयोजक धनिराम चौधरीले पुष्टि गरेका छन्। बैठकको एजेन्डबारे भने उनले केही बताउन चाहेनन्।

बैठकको एजेन्डाबारे प्रवक्ता तथा एमाओवादी सांसद अमनलाल मोदीलाई प्रश्न गर्दा अहिलेसम्म केही तय नभएको बताए। ‘बैठक बस्ने कुरो छ। तर बैठकका एजेन्डाबारे अहिल्यै केही तय भएको छैन,’ उनले थारुवानसँग भने।

स्रोतका अनुसार भोलिको बैठकले संघर्ष समितिको पुनर्गठन गर्नेछ। समितिभित्रका चार संयोजकहरु ‘फेलियर’ सावित भएको बताउँदै स्रोतले भन्यो, ‘समिति पुनर्गठन हुनसक्छ।’

थारु सभासद् समितिका संयोजक रामजनम चौधरी सरकारमा सहभागी भएर मन्त्री भएपछि संयुक्त संघर्षभित्र चर्को विरोध भएको थियो। आन्दोलन पनि गर्ने सरकारमा पनि सहभागी हुने कस्तो नैतिकता भन्दै प्रश्न तेर्सिएपछि उनी पछाडि फर्किने सम्भावना रहेको ती स्रोतले बतायो।

त्यस्तै बैठकले वार्ता टोली पनि पुनर्गठन गर्ने तयारी गरेको बताइएको छ। वार्ता टोलीका सदस्यहरु सरकारमा सहभागी भएको र टोली पनि जम्बो भएको भन्दै वार्ता टोली पुनर्गठन गरिने ती स्रोतले बतायो।

तर बैठकबारे आफूहरुलाई केही थाहा नभएको थरुहट तराई पार्टी नेपालका सांसद गंगा चौधरीले बताइन्। थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरी पनि बैठकबारे केही जानकारी नआएको बताए।

 

Leave a Reply

Your email address will not be published.