‘सुन्दर से सुन्दर, सुन्दर धर्ती हमर देश.. उहिनसे सुन्दर अपन थारु भाषा और भेष’ अर्थात् ‘सुन्दरभन्दा पनि सुन्दर, सुन्दर माटो हाम्रो राष्ट्र..त्योभन्दा पनि सुन्दर आफ्नै थारु भाषा र भेष’, थारू भाषाको यो राष्ट्रिय गीतले तराईका विभिन्न क्षेत्रमाफैलिएर रहेका थारू समुदायलाई एकजुट हुन अनुरोध गरिएको छ।
शब्द चयनको हिसाबमा पूर्व–पश्चिमतराईका थारू भाषामा विविधता भए पनि साहित्यकार घुरून चौधरीले यस गीतको शब्द चयन गरेका छन्।संगीत भने विकास चौधरीले दिएका छन्। यस गीतमा नेपालभरि फैलिएका थारू समुदायका ६ थरि भाषा प्रयोग गरिएको छ। विभिन्न थरिका भाषा भए पनि गीतमा प्रयोग हुने शब्दसहज हुने यस क्षेत्रका कलाकारको भनाई रहेको छ।
विगत २५ वर्षदेखि थारू संगीत र फिल्म निर्माण गर्दै आएका परशुराम चौधरीका अनुसार थारू संगीतमै लाग्ने कलाकारको संख्या बढेको छ। व्यावसायिकरूपमा थारू गीतमात्र गाउने कलाकारहरू ३० जनाको हाराहारीमा छन्। एक गीत गाएबापत उनीहरुले कम्तिमा २५ सय लिन्छन्। पूर्वका कलाकारले पश्चिम र पश्चिमका कलाकारले पूर्वका गीतहरू प्रायः नगाएकाउनको भनाई छ।
सप्तरिया, मोरूङ्या, भोजपुरी, चितवनिया, दगौडा र राना गरी ६ समुदायका थारू छन्। परशुरामकै नेतृत्वमा २०५५ सालमा विभिन्न क्षेत्रमा फैलिएका कलाकारको ६ वटा गीति एल्बम एकै साथ रिलिज गरिएको थियो। ‘त्यसबेला गाउने कलाकारै पाइन्नथ्यो,’ उनले भने, ‘फेरि भाषाका कारण शब्द छनोट गर्न पनि कठिन थियो।’ उनकै सक्रियतामा स्थापित थारू संस्कृति प्रतिष्ठान अहिले तराई आदीवासी कला संस्कृति समाजमा रूपान्तरित भएको छ।
‘शब्द छनोटमा ध्यान दिनसके सबै थारूले गीत राम्ररी बुझ्न सक्छन्,’उनले थपे, ‘ग्रामीण थारूको कथा वस्तु पनिगीतमा समावेश गरिएको छ।’ झण्डै ३ सय थारू कलाकारहरू भए पनि थारू गीत–संगीत मूलधारमा आउन सकेका छैनन्। फिल्मकै कुरा गर्ने हो भने पनि अहिलेसम्म ४५ वटा आधिकारिक फिल्मबनिसकेको छ। सोरठी,झुम्रा, चाचरी र झुमरी लगायतका लोक संगीतसमेत यस क्षेत्रमाप्रख्यात छन्।
थारू गीतमा जमेका श्रीनिवास चौधरीले थारू गीत गाएको १० वर्ष भयो। यसअवधिमा उनले २ सयभन्दा बढी गीत गाइसकेका छन्। ‘हायरें छैं कें’ बोलको पहिलो रेकडिङ गरेका उनले एकल एल्बमसमेत निकालिसकेका छन्। पश्चिम तराईका उनले अहिलेसम्म पूर्वका गीत गाउन पाएका छैन। ‘पूर्वका गीत सुन्दा केही शब्दमात्र फरक पाएँ,’ उनले भने, ‘गाउने अवसर भने पाएको छैन।’आधुनिक गीत गाउने उनले भोजपुरी र थारूको फ्युजन भएका गीत धेरै गाएका छन्। ‘थारू गीतहरू विस्तारै मूलधारमा आएको महसुस मैले गरेको छु,’ उनी भन्छन्, ‘अहिले कन्सर्टमै आउने दर्शकको संख्यासमेत बढेको छ।’ कलाकारको संख्या बढेपनि प्रतिस्पर्धाचाहिँ नहुने उनको अनुभव छ। ‘एकले अर्कालाई सहयोग गरिरहेका हुन्छौं। प्रतिस्पर्धा भए सहयोग गर्ने प्रवृतिको विकास हुन्न थियो।’
अर्का गायक दशरथ चौधरीले १५ वर्ष थारू संगीतमै बिताइसकेका छन्। शब्द चयनमा भने अहिले खुकुलोपन भएको उनको अनुभव छ। ‘शब्द चयनमा अहिले केही खुकुलोपना भेटेको छु,’उनले भने, ‘एउटा भाषा मात्र बुझ्नेमानिस पनि अहिले सबैमा बोल्नेभएका छन्।’ पूर्वका भए पनि पश्चिमका थारू गीत गाउन नपाएको उनको गुनासो छ। ‘मागी’ र ‘जितिया’ पर्वमा थारू कलाकारको माग हुने उनको अनुभव छ। विगत १२ वर्षदेखि थारू गीत नै गाइरहेकी मीना चौधरीले भोजपुरी र थारू गीतको फ्युजनमा मात्र गाउने मौका पाएकी बताइन्। मास्टरस गरिरहेकी उनले नेपाली फिल्ममा पनि गीत गाइसकेकी छिन्। ‘सरल शब्द भए पनि भाषामा कठिनाई छ, मीनाले भनिन्, ‘फेरि केही शब्दको अर्थ विभिन्न प्रकारका हुने हुदाँ गाउँदा होस गर्नुपर्ने हुन्छ।’ उनी केहीसमयमै थारू एल्बम रिलिज गर्ने तयारीमा छिन्। उनले व्यवसायिकरुपले गाउनेहरुको संख्या पनि बढ्दै गएको बताइन्। ‘व्यावसायिकरूपमा थारू गीतमै लाग्ने कलाकारको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘त्यसैले नयाँपन आउनुपर्छ भन्ने मेरो मान्यता हो।’
गायिका ममता चौधरीले पूर्वतिरका गीत गाए पनि पश्चिम गीतहरू गाउन नपाएको गुनासो गर्छन्। ‘कलाकारले सबै प्रकारका गीत गाउन सक्छन्, उनी भन्छिन्, ‘त्यसैले पूर्वकाले पश्चिमेली गीत गाउन हुन्न भन्ने मान्यता गलत हो।’ थारू राष्ट्रिय गीतले सबै क्षेत्रमा फैलिएका थारू समुदायलाई एकतामा गास्ने कार्य गरेकामा भने उनी खुसी छिन्। विविधतामा एकताले भरिएको यस्ता गीतहरू अझ बन्नुपर्ने उनको धारणा छ।
यसबाहेक चन्द्र चौधरी, रेशम चौधरी, रेणु चौधरी र नारायणी चौधरी लगायतले पनि यस क्षेत्रमानिरन्तरता दिइरहेका छन्।