मंसिर ५ देखि कडा आन्दोलन गर्ने थरुहट प्रादेशिक भेलाको घोषणा

tharu vela

वार्ताका लागि सरकार उदासिन बनेको निष्कर्ष निकाल्दै थरुहट थारुवान संयुक्त संघर्ष समितिले फेरि कडा आन्दोलनको घोषणा गरेको छ। हालसम्म आफूहरुसँग वार्ता गर्न चासो नदेखाइएको भन्दै थरुहटले अबको एकमात्रै बिकल्प ‘कडा आन्दोलन’ रहेको घोषणा गरेको हो।

कडा आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने रणनीतिका साथ अघि बढेको थरुहटले आगामी ५ गतेदेखि पश्चिम तराईमा अनिश्चितकालीन आमहड्तालको घोषणा गरेको छ। बुधबार राति अबेरसम्म दाङको लमहीमा चलेको नवलपरासीदेखि पश्चिम कञ्चनपुरसम्मका थारु नेताहरुको भेलाले अबको बिकल्प कडा संघर्ष मात्रै भएको निष्कर्ष निकालेको हो। ‘हामीहरुसँग वार्ता गर्न सरकारले ध्यान दिएन,’ उक्त भेलाकी सहभागी सांसद रुक्मिणी चौधरीले भनिन्, ‘अबको हाम्रो पहिलो बिकल्प भनेको कडा संघर्ष मात्रै हो।’

यसअघि आन्दोलनलाई रोकेको थरुहटले पुनः आम हड्ताल सहितको कडा आन्दोलनको घोषणा भएपछि स्थानीयमा त्रास छाएको छ। आफूहरु सरकारसँग वार्ता गर्नकै लागि हदै सम्म लचक भएर आन्दोलनबाट पछि हटेको रुक्मिणीले बताइन् । थरुहठले दशैँ तिहारको बिचमा आन्दोलन रोकेको थियो। ‘हामीहरु आन्दोलनलाई पूरै रोकेर सरकारसँगको वार्ताको बाटो हेरेर बस्यौँ,’उनले भनिन् ‘तर सरकारले कुनै चासो नदिएपछि एक मात्रै बिकल्प आन्दोलन रोजेका हौँ।’

थरुहटले वार्ताका लागि नेपाली काँग्रेससहितको राजनीतिक समितिको माग राखेको छ। कांग्रेसबिना वार्तामा नबस्ने अडानमा रहेको थरुहटले सरकारी वार्ता आह्वानलाई अस्वीकार गरिदिइसकेको छ। सरकारले वार्ताको लागि पठाएको पत्रको जवाफमा पनि थरुहठले काँग्रेसलाई सँगै राख्न सुझाव दिएको थियो।

पटक पटक दुई पक्षीय पत्राचार भैसकेको र अब सरकार एक्लैले पत्र लेख्नुको अर्थ नराख्ने थरुहटको निष्कर्ष छ। ‘सरकारले वार्ता चाहेको भए काँग्रेसलाई पनि सँगै राख्न सक्थ्यो,’ उनले भनिन्, ‘अब सरकारले लवलेटर लेखेर फकाउने काम नगरोस्।’ बुधबार मधेसी मोर्चासँग काँग्रेससहितको वार्ता हुने भनिए पनि काँग्रेसको अनुपस्थिति रहनुले पनि थरुहटलाई सरकारसँगको वार्ता प्रति थप शंका उत्पन्न गराएको छ। ‘हामी पटक पटक धोकामा पर्दै आयौँ,’ उनले भनिन्, ‘यस्ता धोका देखि अव सजग छौँ,वार्ताका नाममा हामीहरु रमिते बन्न चाहन्नौ ।’

लमहीमा भेला गरेर आन्दोलन घोषणा गरेको थरुहटले आन्दोलन सफल पार्न थरुहट क्षेत्रलाई दुई कमाण्डमा विभाजन गरेको छ। चितवनदेखि पश्चिम कैलाली सम्म पश्चिम कमाण्ड र चितवनदेखि पूर्वको भूभागलाई पूर्वी कमाण्ड गरी शसक्त आन्दोलनको तयारी थालिएको थरुहटले बताएको छ। ‘आन्दोलनलाई शसक्त पार्नका लागि थरुहट क्षेत्रलाई दुई कमाण्डमा बिभाजन गरेका हौँ,’ लमही भेलाका निर्णय बारे जानकारी दिँदै पश्चिम कमाण्डका होरीलाल चौधरीले भने, ‘यी दुई कमाण्डले आन्दोलनको नेतृत्व गर्ने छन्।’ यसअघि थरुहटभित्र यी कमाण्ड थिएनन्। यसअघि जिल्ला स्तरीय संघर्ष समितिबाटै प्रत्यक जिल्लामा आन्दोलन हुँदै आएको थियो।

चितवनदेखि कन्चनपुरसम्मका थारु अगुवाहरु सम्मिलित पश्चिम कमाण्ड तीस सदस्यीय बनेको छ। मधेशी आन्दोलनकारीहरुसँग कार्यगत एकता गरेर आन्दोलन गर्ने तयारीमा रहेको थरुहटले अबको आन्दोलन कडा हुने दावी समेत गरेको छ। ५ गतेदेखि सडक तथा नाकाकेन्द्रित आन्दोलन गर्ने घोषणा गरेको थरुहटले आमहड्तालका क्रममा बिद्यालयका गाडीहरुलाईसमेत अवरोध पुर्याउने भएको छ। ‘बिद्यालय खुल्न दिन्छौँ,’ होरीलाले भने, ‘तर विद्यालयका गाडी चल्न दिन्नौँ ।’

यस्तै संविधानमा रहेका आफ्ना अहितका मुद्दा समावेश संविधानका धारा जलाउने लगायत पाँच बुदे घोषणा पत्र थरुहटको लमही भेलाले जारी गरेको छ। उक्त भेलाको निर्णइ बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो। चितवन देखि कञ्चनपुर सम्मको भुभागलाई एकै प्रदेशमै राखिनु पर्ने भन्दै थरुहट गत २७ साउनदेखि आन्दोलनमा छ ।

Leave a Reply to CharlieGyday Cancel reply

Your email address will not be published.