थारु कसैका सत्रु होइनन् : शान्ता चौधरी

shanta chaudhari uml

शान्ता चौधरी

टिकापुरमा जे भयो गाउँका अबोध थारुहरुलाई अगाडि सारेर भयो। थारु समुदायलाई दमन गर्न, बदनाम बनाउन, देश जलाउन सुनियोजित रुपमा भयो। थारु समुदायलाई अगाडि सारेर भित्रभित्रै हिँसा गर्ने र प्रतिकार भन्दै थारुको घर जलाउने दुवै काम सभ्य मानिसले गर्न सक्दैन। यो अपराध हो। यो सबैको छानविन होस्।

थारु समुदायले अरुको अधिकार खोस्ने होइन। थारुमा पनि धनी र गरिब छ। धनीको एउटा जात र गरिबको अर्को जात बुझौं। पूरै समुदायलाई दोष नदिउँ। अरुले जस्तै अधिकार माग्न थारु एकजुट हुनुपर्छ, सबै समुदायको साथ लिनुपर्छ। देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छौं।

थारु नेपालको प्राचिन समुदाय हो। बुद्धको सन्तान भनेर हामी गर्व गर्छौं। यो देश सबै समुदायको हो, मिलेर बस्नुपर्छ भन्ने मान्यता थारुमा छ। धेरैवटा जातिको नेपाल भनेर गर्व गरौं। मिलेर बसौं। थारु कसैका सत्रु होइनन्। जातीय आक्षेप कसैले कसैलाई नलगाउँ। देश हाम्रो साझा हो। जातीय राजनीतिले भलो गर्दैन। म थारु समुदायको हुँ र थारुलाई बदनाम गर्न खोजिँदा दुःख लाग्छ।

अपराधी जुन जातमा पनि हुन्छन्। हिँसा हत्या गर्ने मानिसलाई जातीय आँखाले नहेरौं। कुनै विशेष जातको मानिसले हिसा गर्‍यो नभनौं। जातिलाई दोष नदिऔं। अपराधीको जात हुँदैन। अहिले साम्प्रदायिक आगो लगाउन खोजिँदैछ। जनतालाई हिँसामा उतार्न खोजिँदैछ। सबै सचेत हुनुपर्छ र सबै खालका आन्दोलन शान्तिपूर्ण गर्न अपिल छ।

Leave a Reply to AndrewSah Cancel reply

Your email address will not be published.