थारु अगुवा भन्छन्- ‘धैर्यको बाँध टुटिसकेको छैन, अविलम्ब वार्ता गरिनुपर्छ’

वर्षौंदेखि मिलेर बसेका समाजमा जातीय र सामाजिक सद्‍भाव बिग्रन नदिन संयम र धैर्यधारण हुनुपर्नेमा सबै पक्षले जोड दिएका छन्। सोमबारको घटनापछि स्थिति बिग्रँदै गएर जातीय द्वन्द्व बढ्दै जाने खतरा औंल्याउँदै यस्तो चिन्ता व्यक्त गरिएको हो। जातीय द्वन्द्व बढेकाले नै सम्भावित घटना हुन नदिन सुरक्षा समितिले धनगढीमा पनि कर्फ्यु लगाएको थियो।Tikapur

‘थरुहट र अखण्ड पक्षधरबीच लडाइँ डाइभर्ट भएर जातीयरुपमा परिणत भएकाले स्थिति खतरापूर्ण बनेको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईँले भने, ‘सामाजिक सद्‍भाव कायम गर्न सबै पक्षलाई संयम र धैर्यधारण रहन म आग्रह गर्छौं।’

स्थिति सहज बनाउन राजनीतिक दल, नागरिक समाज र आन्दोलनकारी सबैले संयमतापूर्वक लाग्नुपर्ने उनको भनाइ छ। राजनीतिक समस्या भएकाले सामाजिक सद्‍भाव बिथोल्ने गरी अघि नबढी वार्ताद्वारा समाधान खोज्न उनले आग्रह गरे।

थरुहट आन्दोलनका अगुवाले पनि सोमबार र मंगलबारको घटनाबाट सामाजिक सद्‍भाव र जातीय सद्‍भाव बिग्रन नदिन आफूहरु संयमित भएको बताएका छन्। जातीय सद्‍भाव बिग्रन नदिन राज्यले ध्यान पुर्यावउनुपर्ने उनीहरु बताउँछन्।

‘सोमबारको घटना दुःखद हो, मंगलबार थारु समुदायका घरमा आगजनी गर्ने कामले अवस्था थप बिग्रेको छ,’ थारु कल्याणकारी सभा, कैलालीका अध्यक्ष लाहुराम चौधरीले भने, ‘सामाजिक सद्‍भाव बिथोल्ने काम भइरहेको छ। यसलाई कायम गर्न हामी गम्भीर र संयमित छौं।’

राजनीतिक रुपमा समस्या समाधान गरी समाजिक सद्‍भाव कायम गर्न पहल गर्नुपर्ने उनको भनाइ छ। एकीकृत माओवादी केन्द्रीय सदस्य तथा थरुहट आन्दोलनको नेतृत्व गरिरहेका वीरभान चौधरीले अझै धैर्यको बाँध टुटिनसकेकाले छिटोभन्दा छिटो वार्ता गरेर सामाजिक सद्‍भाव कायम गरिनुपर्ने बताए।

‘अहिलेसम्म धैर्यको बाँध टुटिसकेको छैन। सद्‍भाव कायम गर्न वार्ता गरेर तुरुन्तै पहल गरिनुपर्छ,’ उनले भने, ‘अहिले प्रयास थाले सामाजिक सद्‍भाव कायम राख्न सकिन्छ।’ आन्दोलनकारीलाई सरकारले वार्तामा बोलाउनुपर्ने उनको माग छ।

‘सरकारले वार्तामा बोलाउनुपर्छ। स्थानीय रुपमा पनि राजनीतिक दलसँग सामाजिक सद्‍भाव राख्न छलफल गरिनुपर्छ,’ उनले भने। थारु नागरिक समाजका अध्यक्ष दिलबहादुर चौधरीले जातीय सद्‍भाव बिथोलिनेतर्फ स्थिति अघि बढेकाले सद्‍भाव कायम राख्न पहल गर्नुपर्ने बताए।

‘जातीय सद्‍भाव बिथोलियो भने कैलाली र कञ्चनपुरमा कोही पनि बस्न नसक्ने अवस्था हुन सक्छ,’ उनले भने, ‘यसैले समयमै राजनीतिक दलले सद्‍भाव बिग्रन नदिन संयम हुनुपर्छ र राजनीतिक रुपमा पहल गर्नुपर्छ।’

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महराले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्ने सबैलाई अधिकार भएकाले वर्षौंदेखि मिलेर बसेको समाजमा सद्‍भाव बिग्रन नहुने बताए। ‘सबै पक्ष र राजनीतिक दलले सामाजिक सद्‍भाव कायम राख्न पहल गर्नुपर्छ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी चापागाईँका अनुसार सोमबारदेखि टीकापुर नगरपालिका र पथरैया, दुर्गौली, धनसिंहपुर, नारायणपुर, मनुवा र जोशीपुरलाई दंग्राग्रस्त घोषणा गरिएको छ। मंगलबार भजनी त्रिशक्ति नगरपालिका, बौनिया, थापापुर र खैलाडमा पनि दंग्राग्रस्त क्षेत्र घोषणा गरी सेना खटाइएको छ। ‘दुई नगरपालिका र नौ गाविसमा दंगाग्रस्त घोषणा गरी सेना परिचालन गरिएको छ,’ उनले भने।

थरुहट पक्षधर नेताले सेना परिचालनको विरोध गरेका छन्। ‘प्रहरी र सशस्त्र प्रहरी हुँदाहुँदै अधिकार माग्ने जनतालाई दमन गर्न सेना परिचालन गर्नु गलत हो,’ वीरभान चौधरीले भने, ‘तत्काल सेना फिर्ता गरिनुपर्छ।’

नागरिक दैनिकबाट

Leave a Reply to Zacharymub Cancel reply

Your email address will not be published.