विचरा ! ऊ सोझालाई किन दोष लाउँछौं?

Journo Kamala Chaudharyकमला चौधरी

के खाइदिएको थियो र उसलाई दोष लाउँदै छौं? न तिम्रो घरमा खाना गयो, न तिम्रो घाटा हुने काम गरिदियो, न तिम्रो जमिनमा सुत्न गयो, न तिम्रो जमिनलाई हडप्यो। बस् बस्यो त आफ्नो सानो झुपडीमा। आफ्नो खेतमा, जमिनमा।

तिम्रो घर रेखदेख गर्ने, तिम्रो खेत जोत्ने, तिम्रो जग्गा जमिनको रक्षा गर्ने, तिम्रो हरेक आज्ञाको पालना गर्नेले कसरी मार्ने दुस्प्रयास गर्छ सोच त एक पटक। दिनभर खेतमा पसिना बगायो। खेतमै हरिया बाली उव्जाएर तिमीलाई पाल्ने विचरा ऊ सोझालाई किन दोष लाउँछौं?

त्यत्तिका वर्ष तिमीले दास बनाएर राख्यौ तर पनि ऊ चुपचाप तिम्रो दासी बनेर सह्यो तिम्रो भलो हुने काम गर्‍यो तर उसलाई अहिले चोट लाग्दा सहयोग दिनुका सट्टा उल्टै दोष लाउँछौं?

एउटा हातले ताली बज्दैन भन्ने तिमी हामीलाई पनि थाहा भएकै कुरा हो। तिम्रो दुःखमा जहिलो ऊ हातेमालो गरिरह्यो तर अहिले उसलाई दुःख पर्दा उल्टै दोष लाउँछौं?

बुद्धका सन्तान हुन् थारु। थारुहरुलाई हत्या, हिंसा गर्नु हुँदैन भनेर थाहा राम्रै थाहा छ। कहिले सुनेका थियौँ र थारु समुदायले खोसेर जबरजस्ती अरुको भाग लिएको। देखेछौ भने प्रमाण देखाइदेऊ। त्यसै त्यसै आरोप लगाउन पाउँदैनौं।

सदियौँदेखि तराईका फाँटहरुमा बसोबास गर्दै आएका थारु समुदाय पनि तिमी जत्तिकै स्थान पाउन चाहेको हो। सधैँ तिमीले मात्रै खाएर हुँदैन यो कुरा बुझ्नु जरुरी छ तिमीले। बुद्ध जन्मेको देशमा बसिरहेका छौँ। बुद्ध अहिंसाका पक्षमा थिए भन्ने कुरा नेपाली किताबमा पढेकै हुनुपर्छ। तर पनि निर्दयी रहेछौँ तिमलाई त्यो कुरा पचेन। नेपाली तिमी हौँ विचरा ऊ पनि त नेपाली हो नि होइन र? सायद हिजो त्यो कुरा तिमीले बिर्सियौ। त्यसैले यस्तो दंगा भयो। परिणामस्वरुप तिमीले आफ्नै दाजुभाइलाई धारिलो हतियारले छप्कायौँ। विचरा ऊ सोझालाई के दोष लाउँछौँ?

देशमा संघीयता आओस् देशको विकास भएको जसले पनि चाहन्छ। देश विकास भएपछि न देशका जनताले सुख उपभोग गर्न पाउने हुन्। सरकारले सबैलाइ वर्ग समुदायलाई समेट्ने गरी प्रदेशको नामाकरण गरेको भए सायद यस्तो गति देख्नु पर्दैनथ्यो होला। तराईका भूमिपुत्र मानिने थारु समुदायले के नै ठूलो अमूल्य बस्तु मागेको थियो र? तिमीले दिएनौँ। अन्ततः यस्तो मोड आयो। विचरा ऊ त सोझो किन दोष लाउछौँ?

२०६२/६३ सालको जनआनदोलनमा माओवादीले उसलाई प्रयोग गर्‍यो र आफू सत्तामा पुग्यो। त्यत्ति बेला हजारौ नेपालीको एक चिहान भयो त्यत्ति बेला कसैले आरोप लगाएनन् त। तर अहिले पहिचानको लागि आन्दोलन गर्दा उसलाई किन दोष लाग्दैछौँ?

त्यत्तिका वर्ष हलिया, कमलरी, कमैया बनाएर राख्यो। दाषी बनेर स्याहारसुसारमा उसले आफ्नो जीवन व्यत्तित गर्‍यो त्यै नि तिमी अघाएनौँ उसलाई नै दोष लगाउँछौँ। तिमीलाई आरोप लगाएको होइन तिमीले गरेको व्याहारलाई नै उतारेको हो।

पहिलो संविधान सफल नभएपछि दोस्रो संविधान सभामा थारुको मुद्दा समेटिनछ कि भन्ने थारु समुदायको ठूलो सपना थियो तर त्यसको ठ्याक्कै उल्टो भयो। थोरै भाग कुरा आएन्। आफ्नो हकका लागि थारुले तिमीसंग भिख मागेको होइन ऊ त सरकारसंग मागेको हो। त्यसमा तिम्रो के आपत्ति त्यसै किन दोष लाउँछौँ?

आज बुद्ध रोइरहेका छन्। सारा नेपाल रोइरहेको छ। नेपाली जनता रोइरहेका छन्। दिउँसै मान्छे काटेर मार्ने गुण्डाले प्रोत्साहन पाइरहेको छ। एउटाले मार्ने दोष जति अरुलाई थुपार्ने प्रवृत्ति बढिरहेको छ। दिनदहाडै अरुको घरमा आगो लगाइँदैछ। यस्तो काम गर्ने अपराधीलाई सरकारले छिटोभन्दा छिटो छानबिन गरी कारबाही गरिनुपर्छ।

कैलाली कञ्चनपुरका थारु समुदायले हक प्राप्तिका लगातार शान्तिपूर्ण आन्दोलन गरेकै हो। पछिल्लो समयमा पनि शान्तिपूर्ण आन्दोलन गरेकै हो। तर त्यसमा प्रहरीको दमनका कारण आन्दोलनले घटनाको रुप लिन आएको भन्ने कुरा मिडियाले खुलाएका छन्। मिडियामै अज्ञात समूहको टोली आएर एकाएक त्यस्तो दंगा उत्पन्न भएको भन्ने पनि खुलासा भएको छ। तर वास्तविकता के हो पत्ता लगाउनैपर्छ। हचुवाको भरमा थारु समुदायले नै एसपी लक्ष्मण न्यौपानेलाई ज्यूँदै जलाएको भन्ने आरोप लगाउन पाइँदैन। अन्य प्रहरी जवान, सेनालाई पनि हतियार प्रहार गरी मारेको भन्ने आरोप छ।

सो दंगा पश्चात त्यो क्षेत्रमा रातभर कर्फ्यू आदेश जारी भयो। प्रहरी प्रशासन कमजोर भयो भनेर त्यहाँका डीएसपीलाई काठमाडौँ र अर्का डीएसपी सैनिकको टोलीसाथ त्यहाँ रिफर गरायो। गृहमन्त्रालयबाट सुरक्षाका लागि सेना परिचालन गर्ने भनेर आदेश जारी भयो। स्थितिले उग्र रुप लिएमा सेनाले गोली हान्न पाउने आदेश आयो। कर्फ्यूका बावजुद त्यस क्षेत्रमा दिनदहाडै थारुका घर, रिसोर्ट, सञ्चारगृह जलाइयो। एउटा थारुको घर जल्दा सबै थारुको मन रोएको छ। हत्याका बद्ला हत्या नै हो त? के त्यहाँ थारुका घरमात्रै थिए? सुरक्षा निकायमा खटेका सेनाले के हेरेर बसेको थियो? यसले गर्दा छर्पष्ट हुन्छ यहाँ दोष कस्को छ। चलखेल कस्को छ भन्ने शंकाको विषय बनेको छ।

लगातार दुई दिनको घटनाले ठूला रुप लिइसकेको छ। सरकारमा बसेका राजनीतिक दलका नेताले चाडोभन्दा चाँडो समस्याको समाधान नगरे नेपालमा नेपाल भित्रैका भाइ भाइ लडेर देश विशाल महाभारतको युद्धमा जान नसकेला भन्न सकिँदैन।

Leave a Reply to Zacharymub Cancel reply

Your email address will not be published.