गच्छदारले तोडे चार दलीय मोर्चा, सडक आन्दोलनमा जाने

Bijay Gachhadar

मधेशी जनाधिकार फोरम लोकतान्त्रिक कांग्रेस, एमाले र एमाओवादीसँगको एकता छाडेर सडक आन्दोलनमा जाने भएको छ।

आज साढे ४ बजे पार्टीको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी अध्यक्ष विजय गच्छदारले तीन दलसँगको एकता भंग भएको र घोषणा गर्ने फोरम लोकतान्त्रिकका संसदीय दलका नेता रामजनम चौधरीले जानकारी दिए।

‘पश्चिममा कैलाली र कञ्चनपुर, पूर्वमा झापा, मोरङ, सुनसरी अनि नवलपरासी जिल्लाको विषयमा उहाँहरुले हाम्रो कुरा नमान्ने भएपछि साक्षी बस्न मात्र किन त्यहाँ जाने भनेर छोड्न लागेका हौं’ उनले भने। चार दलीय मोर्चाबाट अलग हुनेबारे पार्टीको राजनीतिक समितिले निर्णय गरिसकेको भन्दै उनले सभासदहरुसँग पनि छलफल गरेर निर्णय लिइएको जानकारी दिए।

६ प्रदेशको सीमा‌ंकनको निर्णय गर्दा तराईका कैलाली, कञ्चनपुर, नवलपरासी, झापा, मोरङ र सुनसरी जिल्लालाई पहाडमा मिसाएकोमा गच्छदार असन्तुष्ट थिए।  पछि त्यही मुद्दा उठाएर तराईमा सुरु भएको थरुहट आन्दोलन अझै चलिरहेको छ।

प्रमुख तीन दलले थारु, मधेशी, आदिवासी जनजाति समुदायको अधिकारका लागि कुनै पहल नगरेपछि उनीहरुसँग एकता गरिरहनुको अर्थ नभएको चौधरीले बताए।

‘बैठकमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले थारुहरुलाई कैलाली कञ्चनपुरका एक इन्च भूमि पनि दिँदैनौं भन्ने जस्ता कुरा गरेर हामीलाई हेप्ने काम गर्नुहुन्छ, त्यहाँ बसेर के अर्थ?’ चौधरीले भने।

६ प्रदेशको सीमांकन गर्दा पश्चिमका कैलाली कञ्चनपुर, पूर्वका झापा, मोरङ सुनसरी र मध्य क्षेत्रको नवलपरासीलाई पहाडमा जोडेपछि थारु समुदाय आन्दोलनमा उत्रेको छ। त्यस आन्दोलनमा फोरम लोकतान्त्रिकका धेरै सभासदले पनि सहभागीता जनाएपछि गच्छदार समस्यामा पर्दै आएका थिए।

संघीय समाजवादी फोरम, तमलोपा, सद्भावना लगायतका अरु मधेशवादी दलले त्यही मुद्दा उठाएर मधेशमा आन्दोलन गर्न थालेपछि गच्छदार पनि तीन दलसँगको एकता तोडेर आन्दोलनमा गएका हुन्।

 

Leave a Reply to Davidswabs Cancel reply

Your email address will not be published.